सुटुक्क आए, आदेश फर्माए, बाझे, बाटो लागे

इलाम । देशको सीमा मिचिँदा कुन नागरिकको छाती पोल्दैन ? भारतीय पक्षले बेला-बेला पूर्वी नेपालको पशुपतिनगर, अन्तु, छब्बिसे, मानेभञ्ज्याङ, सन्दकपुर क्षेत्रमा अतिक्रमण गर्दा स्थानीयको चर्को विरोध हुने गरेको छ । तर, नागरिकको विरोधले मात्र के गर्नु ? सरकारले नै आफ्नो सीमा कतासम्म पर्छ भन्ने कुराको हेक्कासम्म नराखेपछि । मानेभञ्ज्याङदेखि जिर्मलेसम्मको सीमा क्षेत्रमा मात्र ४५ सीमास्तम्भ वर्षौंदेखि गायव भएका छन् ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियम दशगजामा दुवै देशले कुनै पनि भौतिक संरचना निर्माण गर्नुहुन्न भन्ने छ । तर, जिर्मलेदेखि सन्दकपुरसम्मको इलाम जिल्लामा पर्ने सीमा क्षेत्रलाई नियाल्ने हो भने पनि यो नियम कहीँ-कतै लागू भएको पाइँदैन । भारतीय पक्षले आफ्नो सरकारी कार्यालयदेखि सडक र सीमा सुरक्षा बल -एसएसबी)को क्याम्पसमेत दशगजा क्षेत्रमा बनाएर बसेको छ । स्थानीयस्तरमा यसको चर्को विरोध हुने गरे पनि सरकार भने बेखबर छ । ०५९ सालमा पशुपतिनगरको हिलेमा रातारात त्यहाँको छ घरलाई भारततर्फ पर्नेगरी सीमास्तम्भ गाडिएपछि स्थानीयले उखालेर फ्याँकेका थिए । स्तम्भ उखालेको भन्दै एसएसबीले स्थानीयलाई कुटपिट गर्दा ठूलो तनाव भएको थियो । त्यसपछि सीमा क्षेत्रमा नयाँ स्तम्भ अद्यावधिक गर्ने काम अहिलेसम्म हुन सकेको छैन । यो वर्ष सीमास्तम्भ अद्यावधिक गर्ने भनेर मन्त्रालयको टोली सुटुक्क आए पनि वषर्ातका कारण सबै क्षेत्रमा जान नसकिएको भन्दै फर्किएको छ । जेठ १७ गतेदेखि सीमा अनुगमन विभागका अधिकृतद्वय पुण्यप्रसाद पौडेल र मनोजप्रसाद सिंह, सहरी विकास तथा भवन निर्माण डिभिजनका इन्जिनियर पारस अधिकारी सहभागी नेपाली टोली र भारततर्फबाट सुकियास्थित भूमिसुधार कार्यालयका अधिकृत स्जाट्लर लटेला र रुद्र क्षत्री सम्मिलित टोलीले अनुगमन गरेको थियो । टोलीमा सशस्त्र प्रहरी र एसएसबी पनि सहभागी थिए । तर, यसपटकको टोली पनि वषर्तका कारण सवारी चल्न नसक्ने भन्दै सन्दकपुर र मानेभञ्ज्याङमा अनुगमन नै नगरी फर्केको छ ।

जिर्मलेका ८०, ८१ र ८२ नम्बरका ३ ठूला सीमास्तम्भ (जंगेपिलर), १० सब्सी डायरी पिलर -एसपी) र २९ माइनर पिलर (एमपी) गायव भएको पाइएको छ । हराएका सीमास्तम्भको संकेतका लागि राखिएका ३ रिफ्लेक्ट पिलर (आरपी) पनि गायव छन् ।
विभागको तथ्यांकमा यो क्षेत्रमा तीनै प्रकारका जम्मा १ सय ७ सीमास्तम्भ हुनुपर्ने हो । तथ्यांकमा पाँच ठूला सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्नेमा अहिले भएका सीमास्तम्भ पनि मर्मत गर्नुपर्ने अवस्थाका छन् ।
यसअघि पनि सीमाको अनुगमन हुने तर स्तम्भ अद्यावधिक गर्ने काम नहुने गरेकाले यो अनुगमन टोलीलाई पनि स्थानीयले असारे बजेट सिध्याउन आएको भनेर रोष प्रकट गरेका छन् । सीमा बजार पशुपतिनगरमा स्थापना गरिएको सीमा प्रशासन र स्थानीयलाई समेत जानकारी नदिई सुटुक्क आएको टोलीले कामभन्दा पनि घुमघाम बढी गरेको स्थानीयको आरोप छ । विभागबाट आएको टोलीले सीमा प्रशासनका प्रमुख तेजेन्द्र गौतमलाई अनुगमनको जानकारीसमेत दिएन । आफ्नै कार्यालयमा अनुगमन थाल्नुभन्दा अघिल्लो दिन जेठ १६ गते भारतीय अधिकारीसहित अनुगमन टोलीमा आएका विभागका उपमहानिर्देशक मधुसूदन अधिकारी, प्रमुख नापी अधिकृत तथा सीमा व्यवस्थापन प्रमुख दीपक दाहाल र इलामका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाको बैंठक बसे पनि आफूलाई जानकारी नदिएको तेजेन्द्र गौतमले बताए । 'सीमा प्रशासनलाई जानकारीसमेत नगरेपछि सामान्य भनाभन भयो, क्वार्टर माग्दै थिए, मैले दिइनँ, होटलमा एक रात बसेर गए,' गौतमले भने । अनुगमनभरि पनि उनीहरू सीमा प्रशासनको सम्पर्कमा आएनन् र र्फकने बेला सम्पर्क नगरी फर्केका थिए ।
भारतीय सीमा सुरक्षा बल एसएसबीले रातारात यता आएर कुटपिट गर्ने र धम्क्याउने गरेको स्थानीयको भनाइ छ । भारतीय पक्षले भने केही समयअघि नै नेपालसँग समन्वय नगरी सीमा अनुगमन गरेर लागत अनुमानसमेत निकालिसकेको पाएको विभागले जनाएको छ । दुवै देशबीच सीमास्तम्भमध्ये जोडी नम्बर रहेका स्तम्भ भारतले र बिजोडी नम्बर नेपाल पक्षले निर्माण गर्ने प्रावधान छ । विभागले सन् २००७ मा पनि यो क्षेत्रका सीमास्तम्भ अनुगमन गरी नक्सा तयार पारेको थियो । तर, हालसम्म अद्यावधिक गर्ने काम भने हुन सकेको छैन ।
- सटेन्द्र जबेगू

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates