चैत १ गतेदेखि आजसम्म जारी प्रयासबाट कथित चार दलका स्वघोषित शीर्ष नेताहरू दूध दिने गाई नभएर लात्ती हान्ने साँढे मात्र हुन् भन्ने कुरा स्पष्टै भइसकेको छ । विदेशीको इशाराविना उनीहरू न त एक पाइला दायाँबायाँ सर्छन्, न त एक पाइला अघिपछि । जे-जस्तो 'रेडियो वेभ' प्राप्त हुन्छ उनीहरूको 'सेन्सर
डिभाइस' मा दिल्लीको रिमोट कन्ट्रोलरबाट- त्यसैत्यसै गर्छन् तिनीहरू
। कुकुरको पुच्छर झैं वर्षौंवर्षसम्म ढुङ्ग्रोमा
राखेर फुत्त झिकिदियो-
फनक्क घुमिहाल्छन् यिनीहरू
। यिनीहरू गाई त होइनन् नै गोरु समेत पनि होइनरहेछन् । गोरु त बरु गुणैगुणले युक्त, मानवसेवी अथवा जनसेवी हुन्छन्, परिश्रम
गर्छन्, आफू पनि खान्छन् र आफूभन्दा बढ्ता जनतालाई नै पाल्छन् । हामीकहाँका कथित शीर्षहरूलाई त असनको साँढेसँग मात्रै
तुलना गर्न सकिन्छ ।
हो, असनका साँढेहरूले दूध त दिँदैनन्, दिँदैनन्- मरिसकेपछि
पनि सीनो बनेर गन्हाउँछन्; दुनियाँलाई सताउँछन्,
सडाउँछन्, बिरामी पार्छन्
र ज्यानै लिन समेत बेर लगाउँदैनन् । न तिनको मासु काम लाग्छ, न त आँशु; न त गहुँत काम लाग्छ, न त हाडछाला नै । बाँचुन्जेल त धेरैलाई नै सताए-सताए, मरेपछि समेत सुख नदिने साँढेहरूबाट 'झर्ला र खाउँला' को आशा धेरै दिन साँचिरहनु एकातिर बुद्धिमत्तापूर्ण काम पनि होइन भने अर्कातिर स्वास्थ्यका लागि समेत हानिकारक विषय हो । यो कुरा कसैले भनिरहनुपर्ने र नाराजुलुस गरिरहनुपर्ने विषय होइन । त्यसैले, सबै मिलेर भनौं- अब त छाडिदेऊ साँढे दुहुने
निरर्थक प्रयास !
(जनजिब्रो साप्ताहिक, ४ असोज, २०७० बाट)
दसवर्षे जनयुद्धलाई क्रमशः निस्तेज तुल्याउँदै
अन्ततः समाप्त पार्ने घटना शृङ्खला– बाह्रबुँदेदेखि जनसेनाको बिलयसम्मका सम्पूर्ण
घटनाक्रम भारतीय गुरुयोजनाअनुसार अघि बढिरहेको कुरा आज सर्वसाधारण जनतासम्मले
छर्लङ्गै बुझिसकेका छन् । नेपाललाई सधैंभरि निकास विहीनतामा फसाएर कमजोर आन्तरिक
परिस्थितिको नाजायज फाइदा उठाउन तल्लिन भारतीय विस्तारवाद नेपालका सानाभन्दा
सानादेखि सबैभन्दा ठूला घटनाक्रम र निर्णय प्रक्रियामा हावी हुँदै गइरहेको छ ।
उसको यो स्थिति बुझ्दाबुझ्दै पनि नेपाली जनता र नेपाल राष्ट्रलाई भड्खालोमा हाल्दै
सधैं उसैका निर्देशन शिरोपर गरिरहेका एमाओवादी, काङ्ग्रेस, एमाले र मधेशी मोर्चाका
नेताहरूलाई अब त लाज पनि लाग्नुपर्ने हो नि ! छिः अझै पनि लाज लाग्दैन ?
संसदीय व्यवस्थालाई यथावत कायम राख्ने उद्देश्यले
नेपाली जनताले २०५२ सालदेखि १० वर्षसम्म हतियार उठाएका होइनन् । जनयुद्ध थालनी
गर्दाको प्रमुख नारा थियो– “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त पार्दै नयाँ जनवादी
गणतन्त्रको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं !” वर्तमान सम्झौताको चरणमा सोझै
जनवादी गणतन्त्र सम्भव नभए तापनि नयाँ जनवादभन्दा एक स्टेप तलको र ०४७ साले
संसद्वादभन्दा एक स्टेप प्रगतिशील व्यवस्थाबारे दलहरूबीच हुदै आएको सहमति तोडिनु
नै वर्तमान अन्योलता, अराजकता र सम्भावित भीषण टकरावपूर्ण द्वन्द्वको मूल कारण हो भन्ने कुरा दिनको
घाम झैं छर्लङ्ग छ । के प्रचण्ड–बाबुराम, सुशील–शेरबहादुर, झलनाथ–माकुने र गच्छदार–महन्थहरूले यो यथार्थतालाई नबुझेका हुन् ? त्यसो त कदापि हुन
सक्दैन । यस मानेमा उनीहरू जानीबुझीकनै मुलुकलाई फेरि रक्तपातपूर्ण टकरावमा
फर्काउन चाहन्छन् र देशलाई झन् बढ्ता विदेशी प्रतिक्रियावादीहरूको क्रीडास्थल
बनाउन चाहन्छन् भन्ने कुरा स्पष्ट छ ।
संविधानसभाको दोस्रो निर्वाचन गराउने नाममा मुलुकमा
सिर्जना गरिएको टकरावपूर्ण स्थितिको सहज समाधानका लागि नेकपा– माओवादी र ऊसम्बद्ध ३३
दलीय मोर्चाले आफ्ना माग र एजेन्डामा हदैसम्मको लचकता अपनाएर बनाउँदै लगेको सहमतीय
वातावरण पनि विदेशीकै योजना र निर्देशनमा भाँडिन पुग्नु दुःखद् विडम्बना भएको छ ।
जनताका एजेन्डा पूराका पूरै छाडेर अनि मुलुकलाई संसदीय फाँसीवादभन्दा
पनि तलको निर्दलीयतामा फर्काउने कुरालाई स्विकारेर त माओवादीले कदापि सम्झौता गर्न
सक्दैन र गर्नु पनि हुँदैन । यसो भएपछि गोलमेचसभा भाँडिनुको सोझो अर्थ के हुन्छ ?
स्पष्टै छ–जनताको प्रतिरोध ।
त्यसलैे ढिलै भए पनि यथास्थितिवादीहरूको बुद्धि फिर्नु जनताका निम्ति पनि सहज
विकल्प हुन सक्छ अनि स्वयं उनीहरूकै लागि समेत लाभदायक । नत्र, भीरमा जाने गोरुलाई त
कसैले पनि काँध थाप्न सक्दैन क्यारे ! नजितुन्जेल प्रतिरोध गरिरहनु जनताको आधारभूत
चरित्र हो भन्ने कुरा कम से कम प्रचण्ड–बाबुरामहरूलाई त थाहै होला ।Source : Janajibro Rastriya Saptahik





