विदेशीको दबाबमा प्रन्यालाई उम्मेदवार बनाइयो:सचिव गुरुङ
फागुन १४ – नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशीको दबाबमा प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सचिव देव गुरुङले दलहरूलाई अलमलाउन र आफ्नो सरकार लम्ब्याउनका लागि एकीकृत नेकपा (माओवादी)ले प्रधान न्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको बताए ।
उनले भने — ‘एमाओवादीले विगतमा सुशील कोइरालालाई सर्वसम्मत भए मान्छौँ भनेर अल्मलाएजस्तै अहिले प्रधान न्यायाधीशको कुरा उठाएर आफ्नो सत्ता लम्बाउन खोजेको हो ।’
प्रधान न्यायाधीशको नेतृत्वमा बन्ने सरकारमा आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उनले भने – ‘कानुनको कुनै पनि धाराले बहालवाला तथा पूर्व न्यायाधीशलाई देशको प्रधानमन्त्री बनाउन मिल्दैन, एकीकृत (माओवादी)का अध्यक्ष प्रचण्डसँग आफूहरूले लामो समयसँगै काम गरेको अनुभवका आधारम म भन्दैछु यो प्रधान न्यायाधीशको चाल पनि सुशील कोइरालाको चालजस्तै नै हो ।’
एमाओवादीले जसरी पनि आफ्नो सत्ता लम्बाउन खोजेको आरोप लगाउँदै उनले जबसम्म वर्तमान सरकारले राजीनामा दिएर सरकारको नेतृत्वको लागि आह्वान गर्दैन तबसम्म वर्तमान सरकारको कुनै कुराको विश्वास गर्न नहुने जिकिर गरे ।
0 comments