सरकारको गति र नियति
नेपालीहरू अभागी छन् र त्यसैले २००७, ०१५, ०४६ र ०६३ मा पलाएको उनीहरूको
आशा निराशामा परिणत भयो । राजनीतिक अस्थिरताको वैतरणी पार लगाउन बनेको
अहिलेको प्रशासनिक सरकारबाट पनि चाँडै जनता निराश हुँदैछन् । जुन असामान्य
परिस्थितिमा सरकार बन्यो, उसको कार्यशैली पनि असाधारण देखिनुपथ्र्याे । तर
सरकारले चाँडो निर्वाचन गराउने काममा नानीदेखि लागेको बानी छाड्न सकेन नै,
सरकार स्वतन्त्र र निष्पक्ष छ भन्ने सन्देश दिन पनि सकेन । सरकार चार दलको
'सिन्डिकेट'बाट बनेको हो र उनीहरूकै 'रिमोट कन्ट्रोल'मा सञ्चालित छ भन्ने
आरोप लागिरहेको छ । विधाता जो भए पनि सरकार बनिसकेपछि यसको स्वतन्त्र
अस्तित्व देखिनुपथ्र्याे । प्रसिद्ध चिनियाँ सन्त तथा दार्शनिक लाओत्सेले
भनेका छन्, 'सिकर्मीको कम्पासले वृत्त बनाउँदैन, किनकि त्यो बनिसकेपछि
स्वतन्त्र वृत्त हुन्छ ।' सरकार निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउने
आफूले पाएको म्यान्डेट पूरा गर्न उदासीनता देखाउँदैछ । असारमा निर्वाचन
गराउन गठन भएको सरकारका लागि एक महिना लामो अवधि हो । यस अवधिमा निर्वाचन
आयोगमा पदाधिकारी नियुक्ति गर्ने बाहेक अन्य काममा सिन्को भाँचिएको छैन ।
अग्निनियन्त्रकको जस्तो शैलीमा काम गर्नुपर्ने सरकार चाचापापा -गुडिज)
बाँड्ने र भविष्यको सपना बेच्ने काममा रुचि राख्दै गएको देखिन्छ । यसबाट
सरकार आलोचित हुँदै जाने निश्चित छ । 'राम्रो सुरुआत हुनु आधा सफलता
प्राप्त गर्नु हो' भन्ने लोकोक्ति छ । चुनाव गराउने एकल उद्देश्यले गठन
भएको सरकारको सुरुआत नै उत्साहप्रद देखिएन । निर्वाचन आयोगमा पदाधिकारी
नियुक्ति गर्नमा नै एघार दिन व्यतित भयो । निर्वाचनको मिति घोषणा गर्ने काम
सरकारको हो । निर्वाचन आयोगमा पदाधिकारीहरू नियुक्ति भएकै दिन निर्वाचनको
मिति घोषणा भएको भए अहिले स्थिति अर्कै भइसक्ने थियो । आफ्ना केही
सैद्धान्तिक असहमति राख्दै आएका दलहरू सहमतिमा आउन बाध्य हुनसक्थे । किनकि
जनतामा जाने सुवर्ण अवसर गुमाउने जोखिम राजनीति गर्नेहरूले सामान्यतया
उठाउने गर्दैनन् । निर्वाचन आयोग आफ्नो चुनाव गराउने दायित्व निर्वाह गर्न
युद्धस्तरमा लागिसक्ने थियो ।
राजनीतिक अस्थिरता र अराजकता व्याप्त भएको देश पाकिस्तानको उदाहरण लिउँ ।
नेपालको चुनावी मन्त्रिपरिषद गठन हुनुभन्दा पछि गठन गरिएको त्यहाँको पूर्व
प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकारले सपथ गरेकै दिन निर्वाचनको तिथि
घोषणा गरिदियो र अहिले उम्मेदवारी दर्ताको काम भइसकेको छ । पाकिस्तान
आतंकवादबाट बढी नै ग्रसित छ र शान्ति सुरक्षाको अवस्था अत्यन्त कमजोर छ ।
यस्तो स्थितिमा पनि त्यहाँ मे ११ मा निर्वाचन गराउन अन्तरिम सरकार
युद्धस्तरमा लागेको छ । यहाँ भने असार ७ भित्र निर्वाचन गराउने ११ बुँदे
राजनीतिक सहमतिबाट गठन भएको सरकार धूर्त राजनीतिज्ञको जस्तो आलटाल र रकमी
कुरा गर्दैछ । नियुक्ति हुनुअघि जेठमै निर्वाचन गराउन सकिन्छ भन्नेहरू
अहिले तयारी नपुगेको भन्दैछन् । सरकार आयोगसँग परामर्श गरेर निर्वाचनको
मिति घोषणा गर्ने भन्दैछ भने आयोगकै एक पदाधिकारी यो काम सरकारको हो
भन्दैछन् । जिम्मेवारी एकअर्कामा पन्छाएर जनताप्रति यी दुवै अंग उत्तरदायी
नहुने खेलमा लागेका छन् । असारमा निर्वाचनका लागि समय घर्किसकेको छ । तर
सरकारको कार्यशैली हेर्दा कात्तिक वा मंसिरमा पनि निर्वाचन हुन्छ भन्ने आशा
मर्दै गएको छ । सरकारमा पूर्वप्रशासकहरू पुगेका छन् र यिनीहरूको अवगुण
भन्नु नै बढी प्रक्रियामुखी हुनु हो ।
कपालका एक-एक रौं कोरेर कपाल मिलाउने र चामलका एक-एक गेडा पकाएर भात बनाउने
कर्मचारीतन्त्रको बानी हुन्छ भन्ने गरिन्छ । अहिले सरकारमा रहनेहरूको यो
पुरानो आदत गएको देखिएन । निर्वाचन सम्बन्धी कानुन अझ जारी हुनसकेको छैन ।
नागरिकता सम्बन्धी कानुनमा सामान्य संशोधन गरे पुग्ने काम झन्डै एक
महिनासम्म हुनसकेको छैन । सरकार गठन हुनासाथ नागरिकता वितरण टोली खटाएर
मतदाता नामावली संकलन गराउनुपथ्र्याे । यसकै कारणले सुरु भइसकेको मतदाता
नामावली संकलनकार्य रोकिएको छ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न
चाल्नुपर्ने अन्य प्रक्रिया तथा प्राविधिक कार्यहरू अघि बढाएको छैन । आयोग र
सरकारले आन्तरिक तयारी गरिरहेको हुनसक्छ, तर जनताले बुझ्न पाएका छैनन् ।
निर्वाचन आम नागरिकको चासो भएकाले यसका लागि भएको प्रगति थाहा पाउनु
उनीहरूको अधिकार हो । यी र यस्तै क्रियाकलापहरूले गर्दा नै सरकारप्रति
विश्वास घट्दैछ । निर्वाचन जति पर सर्दै जान्छ, त्यति नै नयाँ जटिलताहरू
थपिँदै जान्छन् ।
असारमै निर्वाचन हुन्छ भनेर थाती राखिएका मुद्दाहरू फेरि बढाउन थालिएको छ ।
मधेसी दलहरू नयाँ जनगणनाको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्छ
भन्दैछन् । यो मागलाई संशोधन गर्ने हो भने आयोग गठन गरिनुपर्ने हुन्छ र
यसले काम सम्पन्न गर्न अर्को तीन महिना लाग्न सक्छ । अरुण पूर्वका केही
सशस्त्र समूहहरू 'ग्रेटर लिम्बुवान'को आन्दोलन छेड्ने धम्की दिंदैछन् ।
तराईका सशस्त्र समूहहरू अर्को आतंक सिर्जना गर्न हतियारमा साँध लगाउँदैछन् ।
चार शक्तिको 'सिन्डिकेट'को विरोध गर्दै आएका दलहरू चरणबद्ध आन्दोलनका
कार्यक्रमहरू सार्वजनिक गरिरहेछन् । देशमा लोकतन्त्रको अभ्यास हुन नदिएर
अस्थिरतामा आफ्नो स्वार्थ पूरा गर्न खोज्ने तत्त्वहरू पर्दाभित्र 'रिहर्सल'
गरिरहेको आशंका छ । यस्तो स्थितिमा सरकार जति अल्छी र सुस्त हुँदै जान्छ,
उति निर्वाचनका लागि बन्दै गएको वातावरण धमिलिँंदै जाने खतरा हुन्छ ।
कठिनलाई सजिलो हुँदै समाधान गर्न सक्नुपर्छ, अन्यथा सरकारले थाम्नै नसक्ने
चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । चुनावप्रति बढ्दो आशंका सिर्जना
हुनुमा सरकारमात्र होइन, यसको विधाता मानिएका चार शक्ति पनि उत्तिकै
जिम्मेवार देखिएका छन् । यो सरकारको आफ्नो कुनै बल छैन, यिनै चार शक्तिको
राजनीतिक पुठ नपाएको अवस्थामा सरकार कुनै पनि बेला ढल्न सक्छ । असामान्य
अवस्थामा देशलाई निकास दिन गठन भएको यो सरकारलाई निष्पक्ष भएर आफ्नो
कार्यभार पूरा गर्न दिनुपर्नेमा विभिन्न दबाब र धम्की दिइनु आफ्नै
वरदपुत्रको हत्या गर्नुसरह हुन्छ । अहिले कुनै दलका नेता मन्त्रिपरिषद
अध्यक्षलाई यो-यो काममा हात नहाल्नुहोला भन्दैछन्, कुनै दलका नेता एकै
धक्कामा ढालिदिने धम्की दिंदैछन् । निर्वाचन सम्बन्धी अध्यादेशका
प्रावधानहरूमा चार शक्तिभित्रै सहमति हुनसकेको छैन । यस्तो स्थितिमा सरकार
हलचल नै गर्न नसक्ने अवस्थामा पुगेको देखिन्छ ।
सरकार नै अवैध हो र यसले गराएको निर्वाचनमा भाग लिंदैनौं भन्ने दलहरूका
आफ्ना गुनासा होलान्, तर आफैले बनाएको सरकारलाई अप्ठेरो पार्ने काम चार
शक्तिबाट भएको स्वाभाविक मान्न सकिंदैन । यो सरकारले निर्वाचन गराउन नसक्ने
हो भने देशमा अकल्पनीय संकट आउन सक्छ । सरकार त दलहरूले नै ढाल्नेछन्, तर
त्यसपछिको सरकारको नेतृत्व झन् विवादास्पद हुने सम्भावना छ । त्यसैले
सरकारले साहसिक निर्णय लिन सक्नुपर्छ । दृढ इच्छाशक्ति सरकारको छ भने अझ
पनि असारको दोस्रो हप्तासम्म निर्वाचन हुनसक्छ । निर्वाचनका अन्य प्रक्रिया
छोट्याइएमा झन्डै ८० दिनमा सम्पन्न गराउन सकिन्छ । निर्वाचनसँग असहमत हुने
दलहरूसँग अहोरात्र वार्ता गरेर चुनावका लागि सहमत गराउन सक्नुपर्छ र यसका
लागि सरकारले केही त्याग गर्न तयार हुनुपर्छ । निर्वाचनको मिति तत्काल
घोषणा गरिएमा लोकतन्त्रमा विश्वास गर्ने दलहरू चुनावी अभियानमा होमिनेछन् ।
यसो भएमा अहिलेका ठूला भनिने दलहरू असारको चुनावका लागि मानसिक रूपमा तयार
छन्/छैनन्, सबैले बुझ्नेछन् र सरकार भने आलोचनाबाट बच्न सक्छ । अहिले
विरोधका कार्यक्रमहरू सञ्चालन गरिएका दलहरू साँच्चै लोकतन्त्रप्रति विश्वास
गर्छन् वा उनीहरूको राजनीतिक अभीष्ट अर्कै छ भन्ने जनताले स्पष्ट बुझ्न
सक्नेछन् । 'बिहानीले दिनको संकेत गर्छ' भनेझैं सरकारका कामकारबाहीले
उज्यालोको आभास दिइरहेको छैन । सरकारमा रहनेहरू चुनाव सम्पन्न गर्न देखिएका
समस्याहरूलाई भुरा माछा एक-एक गरेर 'प|mाइ' गरेजस्तै समाधान गर्दै जानुमा
भन्दा भाग्य बलेकोमा रमाइलो गर्नमा व्यस्त छन् । मादल ठोक्ने र नाच्ने बेला
होइन, अहिलेको नेपालको असामान्य अवस्था । इतिहासले दिएको यो ऐतिहासिक
जिम्मेवारीमा चुके भने नेपालीले कदापि माफ दिने छैनन् । आफ्नो कार्यभार सफल
पारेर निकास दिएमा उनीहरूको नाम त रहन्छ नै, उनीहरूकै मातृसंस्था
कर्मचारीतन्त्रले पनि गर्व गर्नेछ । तर विडम्बना नै भन्नुपर्छ, केही
मन्त्रीहरू आफै हुर्किएको कर्मचारीतन्त्ररूपी 'गुँड' चोर्न लागिसकेको
कर्मचारीवृत्तमा गाइँगुइँ छ । यस्ता गलत कामहरूबाट पृथक रहेर उनीहरूको
एकमात्र मन्त्र हुनुपर्छ- 'निर्वाचन ।' ताओवादी दर्शन भन्छ, 'कुखुरा तीन
खुट्टाले हिँड्छ, दुइटा खुट्टा र अर्को हिँड्ने इच्छा ।' सरकारको तेस्रो
खुट्टा अर्थात् 'इच्छाशक्ति' देखिएको छैन । यस्तै गतिले चलेमा सरकारको
दुःखद अवसान चाँडै हुने निश्चित छ ।
उमेशप्रसाद मैनाली
0 comments