कास्कीमा २५५७औं बुद्ध जयन्ती मनाईयो

२५५७औं सिद्धार्थ गौतम बुद्ध जयन्ति पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरियो।

२५५७औं बुद्ध जयन्ति मूल समारोह समिति, कास्कीको आयोजनामा महामानव गौतम बुद्ध जयन्तिमा विभिन्न कार्यक्रमको आयोजना गरिएको हो ।

बुद्ध जयन्तीको अवसरमा धर्मशिला बुद्ध विहार नदिपूरबाट महेन्द्रपूल, चिप्लेढुंगा, न्यूरोड हुँदै पोखरा सभागृहसम्म शान्ति पदयात्रा निकालिएको थियो। पदयात्रामा बुद्ध धर्मसँग सम्बन्धित विभिन्न संघ, संस्था र गुम्बाहरुको प्रतिनिधित्व रहेको थियो। शान्ति पदयात्रा पोखरा सभागृहमा पुगेर धर्मसभामा परिणत भएको थियो।

धर्मसभाका प्रमुख अतिथि अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौण्डन्यले बुद्धको दर्शन र यसको महत्वको विषयमा प्रकाश पारेका थिए। कार्यक्रममा नेपाल लामा संघका सचिव मीन गुरुङ, शाक्य मोनाष्ट्रीका पुज्यपाथ आवषाले पनि बोलेका थिए। कार्यक्रममा बुद्ध धर्मको प्रचार प्रसारमा लामो समयसम्म योगदान गरेकोमा दायक सभाका अध्यक्ष कृष्णमान गुभाजुलाई सम्मान गरिएको छ।

पोखरा–१, मोहरिया टोलका स्थायी बासिन्दा गुभाजु धर्मशिला बुद्ध विहार, ज्ञानमाला संघ, दायक सभा, युवा बौद्ध संघ, विश्व शान्ति स्पूत समितिजस्ता विभिन्न संघ संस्थाहरुमा आबद्ध छन्। धर्मशीला बुद्ध विहारका भिक्षु श्रद्धानन्दको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बुद्ध जयन्ति समारोह समितिका पूर्व सचिव विश्व शाक्य र धन्यवाद ज्ञापन समितिका सह–सचिव कृष्ण तामाङले गरेका थिए।

बुद्ध जयन्ती मूल समारोह समिति कास्कीको आयोजनामा भएको उक्त कार्यक्रममा धर्मशिला बुद्ध विहार ज्ञानमाला संघले बुद्ध भजन प्रस्तुत गरेको थियो। सो कार्यक्रम समितिका सचिव गोविन्द ताम्राकारको सञ्चालनमा सम्पन्न भएको थियो। बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिले हप्ताभरी नै विभिन्न कार्यक्रमको आयोजना गरेको थियो। गौतम बुद्धको जन्म, महापरिनिर्वाण र ज्ञान प्राप्ति तीन बटै महान घटना बैसाख शुक्ल पूर्णिमाकै दिन परेका थिए।

एसियाका ज्योतिको रुपमा प्रख्यात गौतम बुद्धले ८० वर्षको उमेरमा भारतको कुशी नगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए। तीन वटै महान घटनाक्रम एकै दिन परेको बैसाख पूर्णिमालाई बुद्धमार्गीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी विश्वभर मनाउने गर्दछन्।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates