३३ दल र १३ विद्यार्थी संगठन मशाल जुलुसको तयारीमा

काठमाडौ, २८ वैशाख । चारदलिय सिण्डिकेट र वर्तमान सरकारको विरुद्ध आन्दोलन गर्दै आएको नेकपा–माओवादी सहितका ३३ दलले शनिवार मशाल जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् । उनीहरुले साँझ ६ बजे काठमाडौको सुनधाराबाट मशाल जुलुस निकाल्ने तयारी गरेका छन् ।

राष्ट्रपति रामवरण यादवले एकपछि अर्को असंवैधानिक काम गर्दै आएको भन्दै उनीहरुले शुक्रवार राष्टपतिको पुत्ला जलाएका थिए ।

यता, लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाइएको विरोधमा नेकपा–माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) सहित १३ विद्यार्थी संगठनहरुले पनि शनिवार देशब्यापी मशाल जुलुस प्रदर्शन गर्ने तयारी गरेका छन् ।

उनीहरुले काठमाडौ उपत्यकाको चार ठाउँबाट मशाल जुलुस निकाल्ने तयारी गरेका छन् । सानोठिमी भक्तपुरबाट अखिल क्रान्तिकारीको नेतृत्वमा, त्रिचन्द्रबाट एमाले अखिलको नेतृत्वमा, पशुपति क्याम्पसबाट नेवि संघको नेतृत्वमा र पाटन क्याम्पसबाट अन्य विद्यार्थी संगठनको नेतृत्वमा मशाल जुुलुस निकाल्ने विद्यार्र्थीहरुको तयारी छ ।

विद्यार्थी संगठनहरुले आइतवार नेपाल बन्दको आह्वान गरेका छन् । विद्यार्थी संगठनहरुले गरेको बन्दप्रति नेकपा–माओवादी लगायतका ३३ दलले ऐक्यवद्धता जनाइसकेका छन् ।

कार्की नियुक्ती प्रकरण विरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएका विद्यार्थी संगठनहरुले शुक्रवार राजधानीमा सिठी जुलुस प्रदर्शन गरेका थिए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates