३३ दलले घेरे राष्ट्रपति कार्यालय

काठमाडौ, २६ वैसाख । जनआन्दोलन विरोधी शाहीकालिन मुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइएको विरोधमा नेकपा–माओवादी सहितका ३३ दलले विहिवार राष्ट्रपति कार्यालय घेराउ गरेका छन् ।

नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेललको नेतृत्वमा लैनचौरबाट निस्किएको ¥याली राष्ट्रपति कार्यालय शितलनिवास पुगेर घेराउ गरेको थियो ।

एक घण्टे राष्ट्रपति कार्यालय घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले अख्तियारले दोषी ठहर गरेका व्यक्ति नै अख्तियार प्रमुख हुनु हाँस्यास्पद भएको भन्दै अब भ्रष्टाचारीहरुले उन्मुक्ति पाउने दावी गर्नुभयो ।

उपाध्यक्ष गजुरेलले देशभक्त शक्तिहरुसंग सहकार्य गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई निरन्तर जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

अहिलेको अवस्थामा सर्वोच्च अदालतका कामकारबाहीमा समेत राजनीतिक गन्ध देखिन थालेको भन्दै उपाध्यक्ष गजुरेलले अदालतबाट अब जनताले न्याय पाउने दिनको अन्त्य भएको दावी गर्नुभयो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत शुक्रवार राष्ट्रपतिको पुत्लादहन गर्ने, वैशाख २८ गते मसाल जुलुश निकाल्ने तथा वैशाख ३० गते नेपाल बन्द गर्ने रहेका ३३ दलिय मोर्चाले जनाएको छ ।

यस्तै, नेकपा–माओवादी निकट अखिल (क्रान्तिकारी) सहित १३ विद्यार्थी संगठनहरुले विहिवार पनि कार्की प्रकरणविरुद्ध प्रदर्शन गरे । विद्यार्थी संगठनहरुले विहान ८ बजेदेखि एकघण्टा राजधानीका विभिन्न क्याम्पस अघि प्रदर्शन सहित चक्काजाम गरेका थिए ।

उनीहरुले शुक्रवार देशभरका क्याम्पस अगाडि सिठ्ठी जुलुस निकाल्ने, २८ गते मसाल जुलुस प्रदर्शन गर्ने र २९ गतेका लागि नेपाल बन्दको आह्वान गरेका छन् ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates