सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिन्छ : किरण

नुवाकोट , ८ साउन — नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यले राष्ट्रियता,राष्ट्रिय स्वाधिनता र स्वाभिमानका लागि सहकार्य गर्न संसदवादी दलहरुभन्दा सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने बताएका छन्। पार्टी प्रशिक्षणका लागि नुवाकोट आएका उनले हिजोको पञ्चहरुदेखि राजावादी र विभिन्न पार्टीभित्र रहेका सच्चा देशभक्तसँग संयुक्त मोर्चा बनाएर जान सकिने उल्लेख गरे। नेकपा माओवादी नुवाकोटले आज बिदुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष किरणले राजाबादी भन्ने बित्तिकै अपवित्र र संसदबादी बेठिक भन्ने मनिस्थिति ठिक नभएको बताए। उनले राजाबादी भन्दा बढी संसदबादी दलहरु देशको राष्ट्रिय स्वाधिनता बेच्न अगाडि रहेको र भ्रष्ट रहेको आरोप लगाए। अध्यक्ष किरणले राष्ट्रिय स्वाधिनता र देशको सार्वभौमिकता जोगाउनका लागि आफ्नो पार्टीले राजासँग मात्र नभइ सबै देशभक्त र राष्ट्रियता पक्षधर सँग सहकार्य गरेर जानुको बिकल्प नभएको बताए। उनले भने- ‘दरबारियाभन्दा संसदबादी दल बिदेशीका कठपुतली भएका छन्।’
सरकारपक्ष र चार दलको तर्फबाट पत्र आए पनि आफ्नो दल त्यस्तो वार्तामा नबस्ने स्पष्ट पारे । ‘निर्वाचनमा आउनका लागि भन्दै वार्तामा बोलाउनु आफूहरुले ससर्त ठानेकाले त्यस्तो वार्तामा हामी जादैनौ,’ उनले भने, ‘निर्वाचनलाई आधार बनाएर गरिने बार्ता त्यागेर, निसर्त हामी वार्तामा बस्न तयार छौं।’ उनले आसन्न संबिधानसभा निर्वाचन पेलेर गर्ने खोजे आफ्नो पार्टी पनि त्यसलाई पेलेर जाने बताए। ‘चारदलिय सिन्डिकेटका कारणलाई देशलाई बन्धक बनाएर बिदेशीको ईशारामा निर्वाचन गराउन खोजिएको छ,’ अध्यक्ष किरणले भने, ‘त्यस्तो निर्वाचन हामीलाई मान्य हुँदैन।’ एक अर्को प्रसंगमा उनले एमाओवादीसँग भन्दा क्रान्तिकारी शक्तिसँग अबको पार्टी एकता हुने बताए। अध्यक्ष किरणले आफ्नो पार्टी मणि दाहाल, मात्रिका यादव लगायतको दलसँग पार्टी एकता गर्ने बिषयमा छलफल भइरहेको जानकारी दिए।
नेकपा माओवादी नुवाकोट र रसुवाको संयुक्त प्रशिक्षण कार्यक्रममा अध्यक्ष किरण, महासचिव रामबहादुर थापा लगायतका केन्द्रिय सदस्य पार्टी प्रशिक्षणका लागि नुवाकोट आएका थिए। यस अघि दुई नेता बादल र अध्यक्ष किरण मकवानपुर, धादिङ हुदै नुवाकोटमा प्रशिक्षण दिन आएका हुन् । आसन्न संबिधानसभाको निर्वाचनलाई असफल बनाउनका लागि माओवादीले देशभरि प्रशिक्षण दिइरहेको छ।

, , ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates