'नेकपा-माओवादी नहुँदा शान्ति प्रक्रिया अवरुद्ध' - संघीय समाजवादी
संघीय समाजवादी पार्टी नेपालका महासचिव राजेन्द्र श्रेष्ठले दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा-माओवादी सहभागी नगराउँदा शान्ति प्रक्रिया अवरुद्ध हुने बताएका छन् । 'जनयुद्ध लडेको एउटा शक्ति दोस्रो संविधानसभाको निर्वाचनमा सहभागी नहुँदा शान्ति प्रक्रिया अवरुद्ध हुने देखिएको छ,' महासचिव श्रेष्ठले भने, 'यो शक्तिलाई बहिस्कार गरेर संविधान बन्ने/नबन्नेमा आशंका छ । त्यसैले सरकार र प्रमुख दलहरूले यस विषयमा गम्भीर हुन जरुरी छ ।'
उक्त पार्टीले शनिबार राजधानीको बसन्तपुरमा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै महासचिव श्रेष्ठले उक्त विचार व्यक्त गरेका हुन् । प्रमुख चार दलको विश्वासघातका अघिल्लो संविधानसभा विघटन भएको र दोस्रो पटक हुन लागेका संविधानसभाको निर्वाचनमा तिनै दलका कारण नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चा निर्वाचनमा सहभागी हुनबाट बन्चित हुनु परेको उनले बताए ।
घोषित निर्वाचन अन्तिम घडीमा आइसकेको उल्लेख गर्दै संघीय समाजवादी पार्टी जनताको म्यान्डेट पाउन चुनावमा सहभागी भएको महासचिव श्रेष्ठले बताए
। पहिचान सहितको सङघीयता, धर्मनिरपेक्ष, गणतन्त्र संविधानमा सुनिश्चित गर्न आफ्नो पार्टीलाई मतदान गर्नसमेत आह्वान गरे । 'पहिचानसहितको संघीयता, संविधानसभाबाटै संविधान हाम्रो पार्टीको मान्यता हो,' एमाओवादी स्वयंले उठाएको पहिचानसहितको संघीयताको मुद्दा आफैं पन्छिएको उल्लेख गर्दै उनले भने, 'कांग्रेस र एमालेको बहुपहिचानसहितको संघीयता दक्ष प्रजापतिको टाउकोजस्तो विकृत पहिचान हो । त्यसको औचित्य छैन ।'
संघीय समाजवादी पार्टीले देशभरिका ६३ जिल्लाबाट प्रत्यक्ष उम्मेदवारी दिएको छ । राजधानीको अन्तिम चुनावी सभामा काठमाडौंको दसवटै क्षेत्रमा उम्मेदवार र कार्यकर्ताको भेला रहेको थियो ।
त्यस अवसरमा पार्टीका क्षेत्र नं.८ का उम्मेदवार पवित्र वज्राचार्यले साढे दुईसय वर्ष एकलजातीय शासन भएको र अब पहिचानसहितको संघीय राज्य हुनुपर्ने बताए । 'ठूला दलका नेताले संविधान दिन सकेनन्, फेरि माफी माग्दै बहुमतको पुरस्कार माग्दैछन्,' उनले भने, 'यो ऐतिहासिक बदमासीलाई सजाय दिने यही मौका हो । जनता परिवर्तन चाहन्छन् । त्यसैले पुरानो होइन पहिचानसहितको संघीयताका निम्ति हाम्रो पार्टीलाई मतदान आजको आवश्यकता हो ।'
त्यस्तै, नेवाः देय दबूका अध्यक्ष तथा क्षेत्र नं. १ का उम्मेदवार नरेश ताम्राकार, क्षेत्र नं.५ का उम्मेदवार लालबहादुर तामाङ, पार्टी जिल्ला अध्यक्ष सानुराजा शाक्यलगायतले सभालाई सम्बोधन गर्दै 'छाता चिन्ह'मा मतदान दिन आग्रह गरेका थिए ।
संघीय समाजवादी पार्टी, नेपालको काठमाडौंको बसन्तपुरमा शनिबार आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै पार्टीका नेता ।
0 comments