प्रेस वक्तव्य


1. मुलुकको विद्यमान राष्ट्रिय राजनीतिक सङ्कटको निकासको लागि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । त्यसको लागि हाम्रो पार्टीसहितको ३३ दलीय मोर्चाद्वारा पटकपटक संवादको पहल गरियो । सडक आन्दोलनका कार्यक्रमहरु पनि निरन्तर रुपमा सञ्चालन गरियो । परन्तु, सरकार र चार दलका शीर्ष नेताहरु हाम्रो आग्रहलाई निषेध गर्दै जबर्जस्त रुपमा राष्ट्रघाती र जनघाती निर्वाचनलाई थोपरिरहेका छन् । त्यसैले, उक्त निर्वाचनलाई हामीले सक्रिय रुपले बहिष्कार गर्ने निश्चित गरेका छौं । अतः राष्ट्रिय सहमतिको लागि यस निर्वाचनलाई सक्रिय रुपले बहिष्कार गर्न सम्पूर्ण आदरणीय जनसमुदायमा हाम्रो पार्टी पुनः हार्दिक अनुरोध गर्दछ । 


2. राष्ट्रिय सहमतिको लागि सडक आन्दोलनको क्रममा हाम्रो पार्टीसहित ३३ दलीय मोर्चाको तर्फबाट आम हड्ताल र अत्यावश्यक वस्तु र सेवाका वाहनहरु बाहेकको चक्काजामका कार्यक्रमहरु आयोजना गर्दै आउने काम भएको छ । त्यसप्रकारको शान्तिपूर्ण आन्दोलनका विरुद्धमा राज्यले असहिष्णुतापूर्वक राज्यको सम्पूर्ण शक्ति प्रयोग गरेर दमन-धरपकड गर्दै एकप्रकारको राज्य आतङ्क खडा गरिरहेको छ । राज्य शक्तिको दुरुपयोग गर्दै चक्काजामको अवज्ञा गरिएको छ । त्यस क्रममा राज्यशक्तिको दुरुपयोगका कारणले कतिपय दुःखद घटना पनि घटेका देखिन्छन् । त्यसप्रकारको घटनाप्रति हामी दुःखित छौं । कतिपय देशी विदेशी प्रतिगामी शक्तिहरुले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतङ्ककारीको रुपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन् । त्यसैगरी, राष्ट्रघाती तथा जनविरोधी शक्तिहरुले पनि हाम्रो आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटनाहरु घटाइरहेका छन् । अतः सम्पूर्ण आन्दोलनकारी जनसमुदायहरुलाई ती सबै प्रकारका षड्यन्त्रहरुबाट सजग र सर्तक रहन हामी आग्रह गर्दछौं । साथै, हामी मंसिर ४ गते बेलुका ५ बजेसम्मको चक्काजामसहितको बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रुपमा सम्पन्न गर्न पुनः प्रतिबद्धता जाहेर गर्दछौं । 

3. आन्दोलनको क्रममा मुगुस्थित हाम्रो पार्टीका केन्द्रीय सदस्य मंगल शाहीलगायत ३३ दलसम्बद्ध सयौं नेता-कार्यकर्ता र सर्वसाधारण जनतालाई गिरफ्तार गरी झुठा मुद्दाहरु लगाइएको छ । अतः गिरफ्तार गरिएका सम्पूर्ण बन्दीहरुलाई विनाशर्त रिहा गर्न पनि पार्टी जोडदार माग गर्दछ । 

4. अन्तमा, जुनसुकै परिस्थितिमा पनि फेरि पनि राजनीतिक शक्तिहरुको बीचमा संवाद र सहमतिको विकल्प छैन । अतः संवाद र नयाा राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरु र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि हाम्रो पार्टी पुनः हार्दिक आग्रह गर्दछ ।

मिति : २०७०/८/२ गते
.......................
मोहन वैद्य 'किरण'
अध्यक्ष, नेकपा-माओवादी

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates