नाटकीय संबिधानसभालाई बिघटन गरी गोल्मेच सम्मेलन गरिनु पर्छ - देव गुरुङ
नेकपा-माओवादीले सडक खाली रहेको निश्कर्ष निकाल्दै अब सडक आन्दोलनको नेतृत्व आफ्नो दलले गर्नुपर्ने निश्कर्ष निकालेको छ । ललितपुरको कुपण्डोलमा आइतबार सुरु भएको ५ दिने केन्द्रीय समिति बैठकमा राज्य समिति इञ्चार्जहरुले रिपोर्टिङ गर्ने क्रममा अब सडक आन्दोलनको नेतृत्व आफ्नो दलले गर्नुपर्ने बताएका हुन् । बैठकमा औपचारिकरुपमा प्रस्तुत गर्न बाँकी रहेको अध्यक्षको ६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा संविधानसभा विघटन गरी सर्वपक्षीय गोलमेच सभा र त्यसमार्फत् राष्ट्रिय संयुक्त सरकार गठन गरिनुपर्ने कार्यनीतिक नारा अघि सारिएको छ । बैठकको पहिलो दिन राज्य समितिका इञ्चार्जहरुले रिपोर्टिङ गर्नुभयो, बहिस्कार आन्दोलन सफल भएको र मंसिर ४ को निर्वाचन हामीले भनेजस्तै नौटंगीमात्रै थियो भन्ने पुष्टि भएको साथीहरुको निश्कर्ष छ। सचिव देव गुरुङले भन्नुभयो, अब सडक आन्दोलनको एकमात्र वैकल्पिक तथा सामानान्तर अगुवा शक्ति भनेको नेकपा-माओवादी नै हो र हामीले नै जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका उपलब्धीहरुको रक्षा गर्नुपर्छ भन्ने भावमा साथीहरुबाट रिपोटिङ आएको छ ।
लोकतन्त्रको हिसाबले मुलुक ०४८ सालतिरको अवस्थामा फर्किएको भए पनि राष्ट्रियताको हिसाबले अर्ध औपनिवेशिकबाट नवऔपनिवेशिक अवस्थामा फर्किएको भन्दै गुरुङले भन्नुभयो- ‘अब सडक खाली भएको छ, लोकतन्त्र र अग्रगमनको मुद्दामा सबै देशभक्त, लोकतन्त्रवादी र राष्ट्रवादीलाई मिलाएर अघि बढ्ने शक्ति नेकपा- माओवादी नै हो भन्ने पुष्टि भएको छ । मंसिर ४ को चुनावले साम्राज्यवादका दलालहरुलाई निरपेक्ष अधिकार प्रदान गरेकाले जनयुद्ध, जनआन्दालने, मधेस आन्दोलन र जनजातिहरुले उठाएका मुद्दाहरु गुम्ने खतरा बढेको बैठकमा रिपोर्टिङ भएको उहाँले बताउनुभयो । एकीकृत नेकपा माओवादीको हेटौडा महाधिवेशनको कार्यदिशाले आत्मसमर्पणवादमा पुर्याउने वैठकमा चर्चा भएको थियो ।
अध्यक्ष द्वारा संविधानसभा विघटनको माग!
माओवादी स्रोतका अनुसार बैठकको पहिलो दिन देशभरिको चुनाव बहिस्कार सम्बन्धी समीक्षा र रिपोर्टिङ मै समय खर्च भएकाले अध्यक्षच किरणले आफ्नो राजनीतिक प्रतिवेदन पढ्न भ्याउनुभएन । सचिव गुरुङका अनुसार अध्यक्षले सोमबार विहान प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।
अर्का एक केन्द्रीय नेताले दिएको जानकारी अनुसार अध्यक्षको प्रतिवेदन ६ पृष्ठ लामो रहेको छ । प्रतिवेदनमा संविधानसभाको विघटन गर्न माग गरिएको छ । संविधानसभाको औचित्य नभएकाले यसलाई विघटन गरेर उच्चस्तरीय राजनीतिक सभाको आयोजना गरी राष्ट्रिय संयुक्त सरकार गठन गर्न माग गरिएको छ । संविधानसभाको चुनाप आफूहरुले भने जस्तै नौटंकीपूर्ण भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ । बहिस्कार आन्दोलन राजनीतिकरुपमा सफल भएको तर प्राविधिक हिसाबले प्रभावकारी हुन नसकेको प्रतिवेदनमा विश्लेषण गरिएको छ । आइतबारदेखि कुपन्डोल स्थित जनवर्गीय संगठनको कार्यलयमा जारी बैठक २७ गतेसम्म चल्ने बताइएको छ । सोमबारको बैठकमा अध्यक्षले प्रतिवेदन पेश गरेपछि सो प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
0 comments