जनैको साँचो ! (लघु कथा )

रुद्रमणिका छिमेकी तल्लाघरे दीर्घसिंह बा नामी नाम चलेका इमानका पक्का थिए । घर खेत सन्तान सम्पतिको ठुलो धाक थियो तिनको । छोराहरू ५ भाइ थिए छोरी ६ ओटी थिए । आमैलेले त्यत्रा सन्तान पाएर कसरी हुर्काइन हिजो आज त त्यो सपना नै हुन्छ । सबैलाई राम्रो खान राम्रो लाउन सफासुग्घर राखेर पनि घरखेत सबै भ्याउथिन आमै कति जाँगरिली थिइन । सबैले तिनको उदाहरण प्रस्तुत गर्थे । त्यत्रो कामपछि छरछिमेक इष्टमित्र सबैलाई खुसी बाँडेर बसेकी थिन आमै । आमैको सामाजिक दायित्व ठुलो थियो छरछिमेकमा गारो सारो औषधी मुलो सबै टारथिन आमै ।

राम्रो मान्छेलाई भगवानले छिट्टै बोलाउछन् भन्थे । आमै एकै दिनको बिमारीले असमयमै परलोक भइन । सारा गाउँ स्तब्ध भयो सबै रोए । त्यो दिन शुन्य बनाएर गईन । दीर्घसिंह बा एक्ला भए । ७० टेक्न लागेका बालाई त्योपछि कतिले बिहे गर्ने सल्लाह दिए । तर बाले त्यो मानेनन् । सन्तानको सुखका लागि म सौतेनी मामला घरमा भित्र्याउदिन भनेर छोराहरूको सुखको लागि एक्लै बसे बा । सुन्य आकाशतिर टोलाउथे कहिले । कहिले ओल्लो घर पल्लो घर गर्दै बिताउथे दीर्घसिंह बा एक्ला भए बा ।

रुद्रमणि ज्यादै व्यस्त थिए पुरेत्याईंले फुर्सद हुन्नथ्यो तिनको । कुनै समय निस्कना साथ उनी दिर्घसिंह बासँग हुन्थे । सानै देखिका विश्वासिला साथी जो परे । दुख-सुखका कुरा आफ्ना सन्तानका कुरा जाय जेथोकाका कुरा अनि आफू मरेपछि सन्तानको कर्म गरी खाने कुराहरूको विश्लेषण गरेर बस्थे । भनौ दीर्घसिंह बाका भित्रिया थिए रुद्रमणि ।

दिर्घसिंह बाका छोराहरूको चाल चलन राम्रो थिएन । ज्यादै खर्चालु अनि तास जुवाको लत लागिसकेको थियो तिनीहरूलाई त्यसैमा ज्यादै चिन्तित हुन्थे बुढा । तर पनि प्रसस्त खेत बारीको अंश बण्डा सबैलाई गरिदिए बाले । आफू जिउदै हुँदा सो कार्य सम्पन्न गरेकोमा ढुक्क थिए । सबैलाई एक एक ओटा घर बराबर खेत बारी बिहे गर्न बाँकी रहेकालाई बिहा दान खर्चको चाँजो पाँजो सबै मिलाई दिए बाले । रुद्रमणि नै सबै कामका हर्ता कर्ता थिए । अर्ति उपदेशका कुरा गर्यो भने तात् तातै खाउँला झैं गर्थे सबै छोराहरू बालाई ।असहैयको पीडाले बा केही बोल्दैन थिए बा । बोल्दा पनि आफ्नै इज्जत जाने डर थियो बालाई । के गर्नु छोरा कपुत भएपछि यस्तै हो रुद्रमणि ! भनेर चित्त खुम्च्याएर बस्थे । बिचरा बालाई केही ढाडस त दिन्थे रुद्रमणिले । तर उनलाई समेत यो बुढालाई हाम्रो के कुरा लगाइस है भनेर झमटिनथे, ज्यादै नै हिंस्रक भैसकेका थिए । पाँचै दाजु भाइ बोलिसक्नु थिएन । बिहानैदेखि मादक पदार्थमा लिन हुन थालेका थिए । ठुलो चिन्तामा थिए बिचरा बा ।

कात्तिकको महिना ठुली एकादशीको दिन थियो पूजा पाठको लागि बिहानै रुद्रमणि दिर्घसिंह बाकोमा गएका थिए पूजा पाठ गरेर तुलसाको मोठ्मा पानि चढाएपछि बालाई अलिक सकस परे जस्तो भयो । बाले रुद्रमणिलाई भने - आज मलाई नछोड्नु है, ल अलिक अप्ठेरो भयो ।

त्योपछि एकै छिनमा बा थला परे ओछ्यानसम्म रुद्रमणिले पुर्याए डाक्टर धामी खोज्न रुद्रमणि आफैं गए खुब सेवा गरे त्यो बखत तिनले । तर दीर्घसिंह बाको स्वास्थ्यमा सुधार भएन पालै पालो गरेर दिउसो राति बालाई गाउलेहरूले रुंग्न थाले । त्यो बेलामा छोराहरू पनि नजिकै बस्न थाले । तर कोही माति राखेका हुन्थे कोही रुंग्न आउने समेतलाई तथानाम भन्दै गरेका हुन्थे यसरि एक हप्ता बित्यो । त्यो दिन बालाई अलिक सन्चो भयो रुद्रमणिले बाको सन्चो भाको खबर सबैलाई सुनाए । एक मुठी यसो अन्न अनि एक गिलास दुध पनि पिए बाले सबै खुसी भए । अलिक पर आँगनमा बाको साहिँलो र कान्छो छोरो कुरा गर्दै थिए रातभरि रुन्ग्यो बुढी जिउदै भन्दै बजारको भट्टीतिर लागे , जेठो र माइलो धान थन्क्याउनु छ भनेर खेततिर लागे त्यो पनि तिनीहरूको निहुँ मात्र थियो ....सबैले मुखा मुख गरे खाने मुखलाई जुंगाले छेक्छ र अनि बहाना जे बनाए पनि बाटो त एकै हो ....काहिलो छोरो २ दिनदेखि आएकै थिएन ।

गाउँलेहरू आ-आफ्नो कामतिर लागे । तर बाले रुद्रमणिलाई चै मलाई नछोड्नु है भनेकाले त्यही बसे । दिनभरि बाले आफ्नु भाग्यको कुराहरू गरे । कहाँ कुन जुनीमा पाप गरेको थिए छोराहरू यस्तो भए भन्दै रोए । तर पनि भविष्यमा गारो सारो पर्यो भने यिनीहरूको न्याय अन्यायमा बोलिदिनु है तिमीले रुद्रमणि भन्दै आफ्नो भएको गुप्त धनको साँचोहरू रुद्रमणिलाई जिम्मा लाए । अनि भन्न थाले - मेरो सम्पतिको बाकसबाट सुन चाँदी झिकेर सबै दान धर्ममा लगाइदिनु । ५ ओटा बाक्सा घरभित्र छन् ।. मेरा छोराहरूलाई पुग्ने सम्पति सबैलाई दिएको छु । छोराहरूले यो काम गर्दैनन् । मेरो जनैको साँचो मात्र पर्खेका हुन् । राम्रो काज क्रिया गरिदिनु है ल भनेर बाले तीन पटक हे राम भने । अनि देह त्याग गरे ।

त्योपछि एक कान दुई कान गर्दै बा खसेको खबर गाउँमा फैलियो । छोराहरूलाई खोजी गर्न लगाइयो । भट्टीबाट छोराहरू आए । खुब रोएको नाटक गरे । छोराहरूले पटक्कै पिच्छे बाको लासलाई छाँद हालेर रुदै बाको जनै छाम्दै थिए । त्यहाँ केही नभेटेपछि उनीहरू छक्क परे अनि छेउमा उभिएर सल्लाह गर्न थाले । बालाई घाट लानुभन्दा पहिले बाकस फोर्ने कुरा गर्न थाले जनैको साँचो नभेटेकोले सबै छोराहरू अलमल्ल थिए । छर छिमेकी हरु त्यो दृश्य देखेर आफैं लाज मानि रहेका थिए /
तर त्यस दिन केहि हद सम्म सामाजिक लोकलाजको कारणले बाकस फुट्न पाएन /

काज क्रिया सकेपछि गाउँलेको रोहोबरमा बाकस खोलेर रुद्रमणिले त्यो सम्पति बाको इच्छा अनुसार दान धर्ममा बाँडी दिए । बिचरा बा अनि तिनको जनैको साँचो !

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates