बीसौं जनयुद्ध दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा, युएईको शुभकामना


बीसौं महान् जनयुद्ध दिवसको ऐतिहासिक अवसरमा
क्रान्तिकारी अभिवादन तथा शुभकामना !
आज हामी फागन १ गते बीसौं जनयुद्ध दिवस मनाउँदै छौं । वि.सं. २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा सुरु भएको महान जनयुद्धले देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि महान् जनयुद्धको पहल गरिएको थियो । दश बर्षसम्म भीषण रुपमा चलेको बर्गसंघर्षले सिङ्गो देशलाई नै तरङ्गित तुल्यायो । महान् जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमणको चरण हुँदै विकसित हुदै पार्टी, जनसेना र संयुक्त मोर्चाका क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गरियो । देशव्यापी रुपमा ग्रामीण क्षेत्रमा आधारइलाका स्थापित भए । नेपाली जनयुद्ध विश्वसर्वहारावर्गका लागि पनि आकर्षण र गौरवको विषय बन्यो । परन्तु, पार्टीमा दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा हुनुको कारण महान् जनयुद्धले गम्भीर धक्का खायो । अहिले आएर सिंगो माओवादी आन्दोलन टुटफुटको श्रृखलाहरु पार गर्दै गम्भीर मोडमा खडा भएको छ । 
महान् जनयुद्धको दौरानमा झण्डै चौध हजारभन्दा बढी वीरवीराङ्गानाहरुले सहादत प्राप्त गरे । कैयौं योद्धाहरु राज्यद्वारा बेपत्ता पारिए र कैयौं योद्धाहरु घाइते अपाङ्ग भएका छन् । बीसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं, बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान जाहेर गर्दछौं र घाइते–अपाङ्ग योद्धाहरुप्रति विशेष सम्मान प्रकट गर्दछौं । साथै, महान् जनयुद्धको प्रक्रियामा सहभागी हुने तथा सहयोग गर्ने जनसमुदाय, शुभचिन्तक, परिवर्तनका हितैषी सबैप्रति नेपाली जनप्रगतिशील मोर्चा, युएई हार्दिक अभिवादन तथा शुभकमना व्यक्त गर्दछौं । 
महान् जनयुद्धले लक्षित गरेको देश तथा जनतालाई उत्पीडनबाट मुक्त गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्ने हाम्रो उद्देश्य यतिवेला संकटमा छ । महान् सहिद, बेपत्ता योद्धा, घाइते–अपाङ्गसहित सम्पूर्ण जनताले त्याग, वीरता, बलिदानलाई आत्मसातथ गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक अभियानमा विश्रृखलित माओवादी आन्दोलन एकताबद्ध भएर दृढसङ्कल्पका साथ अघि बढोस् भन्ने कामना गर्न चाहन्छौ । बीसौं महान् जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा सम्बन्धित सबैप्रति क्रान्तिकारी अभिवादन र शुभकामना व्यक्त गर्दै माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रशर्दनमा निरन्तर क्रान्तिको यात्रामा अविचलित भई दृढतापूर्वक अगाडि बढ्ने प्रण गर्न सम्पुर्णमा नेपाली जनप्रगतिशील मोर्चा युएई हार्दिक आव्हान गर्दछ ! 
क्रान्तिकारी अभिवादन सहित !
मितिः २०७१ फागुन १ गते 

           उत्तम वि.क.                                                        काशी काफ्ले
           (महासचिव)                                                           (अध्यक्ष)
नेपाली जनप्रगतिशील मोर्चा, युएई                   नेपाली जनप्रगतिशील मोर्चा, युएई
          केन्द्रिय समिति                                                   केन्द्रिय समिति

, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates