एमाओवादीको हेटौडा महाधिवेशनको गन्तव्य - क्रान्ति कि प्रतिक्रान्ति

- हुकुमबहादुर सिंह
विश्वप्रसिद्ध दार्शनिक हेगेलले आफ्नो एउटा कृतिमा लेखेका छन् ‘विश्व इतिहासमा ती सबै महत्वपूर्ण घटनाहरू तथा व्यक्तिहरू दुइ पल्ट आविर्भूत हुन्छन् भन्न सकिन्छ । पछि यसैलाई अर्का विश्वप्रसिद्ध दार्शनिक कार्ल माक्र्सले हेगेलले एउटै कुरा थप्न बिर्सिए भन्दै हेगेलको उल्लेखित वाक्यमा निम्न वाक्यांश थपे– पहिलो पल्ट दुखान्त नाटक–को रूपमा र अर्को पल्ट प्रहसनका रूपमा । 

हेगेलले भनेको पहिलो कुरा र माक्र्सले त्यसमा थपेका कुरालाई एमाओवादीको आसन्न सातौ महाधिवेशनसँग तुलना गर्न मिल्छ । २०४८ सालमा भएको छैठौ महाधिवेशनको करीब २२ वर्षपछि हुन लागेको यो महाधिवेशन दशवर्से जनयुद्ध सञ्चालन गरेको नेकपा (माओवादी)भित्रका क्रान्तिकारीका लागि भने एउटा व्यङ्ग्यचित्र मात्रैसिद्ध हुने निश्चित छ । किनभने प्रचण्ड र बाबुराम प्रवृति र चिन्तन जसले दशवर्से जनयुद्धका सबै उपलब्धिहरूलाई निस्तेज पा¥यो, जनताको दिल र दिमागमा स्थापित पार्टीमा विभाजन ल्याउने खालका काम कारबाही गर्दै गयो, परिणाम पार्टीमा विभाजन समेत भयो । उनीहरूका निर्णय र कामकारबाहीका कारण नेपाली कम्युनिस्ट आन्दोलनलाई समेत बदनाम गराउँदै गएको छ, त्यसमा उनीहरूको यो हेटौडा महाधिवेशनले झन् मलजल गर्ने निश्चित छ । 

भारतीय विद्वान एस.डि मुनी र रअर्का भुतपूर्व डाइरेक्टर हर्मिसका शब्दमा ‘दिल्ली दरबारका यी दुइ पहरेदारले कसरी नेपाली राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई नेतृत्व दिन सक्लान र अनि नेपाली राष्ट्रिय स्वाधीनतालाई दिल्लीमा बुझाउन तल्लिन बाबुराम र ‘म नेपाली कांग्रेसको पनि नेतृत्व गर्न सक्छु र वि.पि. मेरा आदर्श पात्र हुन् भन्ने प्रचण्डबाट कसरी नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व गर्ने ? आसन्न महाधिबेशनको राजनीति के हो आफैमा स्पष्ट छ । बाबुरामको दिल्ली भक्तिका पछाडि दशवर्से जनयुद्धका नायक प्रचण्ड यसरी लतारिदै छन् मानांै उनले दश वर्से जनयुद्धको नेतृत्व गरेर महान् गल्ती गरे । हुनत प्रचण्डको अमिवाजस्तो छिनछिनमा बदलिरहँदै आएका अभिब्यक्ति र उनका पुँजीवादी शैलीको गहन विश्लेषण गर्ने हो भने नेपालमा एक दिन यस्तो पनि आउने छैन् भन्न सकिदैन् जुन दिन प्रचण्डले स्वयम भन्ने छन् ‘मैले दशवर्से जनयुद्धको नेतृत्व गरेर गल्ती गरे । 

लुइ बोनापार्टको अठारौं ब्य्रुमेरमा माक्र्सले काकाको स्थानमा भतिजो भनेझै कतै भारतले उनलाई नेपालको भावी राष्ट्रपतिको लागि सुनिश्चित गर्ने हो भने दिल्ली दरबारका लागि बाबुरामको स्थान प्रचण्डले लिने छैनन् भन्न् झन् कठिन बन्दै गएको छ । तर पनि अझै नेपालका नेता तथा पार्टीहरूले यस्ता गलत नेताका प्रवृति, चरित्र र उनका गलत कार्यशैली र अभिव्यक्तिबाट पाठ सिक्न सकेको देखिएको छैन् र अझै पनि आम मानिसहरू नभई स्वयम आफूलाई क्रान्तिकारी भन्नेहरू समेत राजनीति बिहिन झुण्डका पछाडि दौडिरहेका देखिन्छन् पद, पैसा र प्रतिष्ठाआदिका लागि । 
कार्ल माक्र्सले लेखेको लुइ बोनापार्टको अठारौ ब्य्रुमेर पढदै जाँदा यस्तो हुन्छ, साँच्चै उनले नेपालको अहिलेको एमाओवादी नेतृत्वको अवस्थाबारे सटिक टिप्पणी त गरेका थिएन ? त्यसमा उनले लेखेका छन् ‘मानिसहरूले आफ्नो इतिहास स्वयम् निर्माण गर्दछन्, तर आफूले रोजेजस्तो होइन् । उनीहरू त्यस परिस्थितिमा आफ्नो इतिहासको निर्माण गर्दछन्, जुन उनीहरूले अतीतबाट प्राप्त गर्दछन्, जुन अतीतद्वारा सम्प्रेषित हुन्छन् र जसको उनीहरूले प्रत्यक्ष रूपमा सामना गर्नुपर्दछ ।
एमाओवादीले खासगरी प्रचण्ड र बाबुरामले कार्ल माक्र्सले भनेझै आफ्नो इतिहास स्वयम निर्माण त्यसरी नै गर्दैछन्, जुन उनीहरूले दशवर्से जनयुद्धकै दौरानमा तत्कालीन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई ‘आफूहरू भारतको हितका विरूद्ध कहिल्यै नजाने’ प्रतिवद्धता अतितमा गरेका थिए । त्यो अतीत २०५२ सालदेखि चलेको दशवर्से जनयुद्धको थिएन् । भारतीय शासकवर्गको वरिपरि चक्कर लगाउँदै जसरी पनि सत्तामा जानै पर्ने प्रचण्ड र बाबुरामको अतीत बन्दै गएको छ । 
यद्धपि, अहिलेको एमाओवादीको नयाँ सँस्करणमा नेकपा—माओवादीले प्रचण्ड र बाबुरामलाई दशवर्से जनयुद्धको लक्ष्य, उद्वेश्य र नैतिकताको बन्धनमा बाँधेर माक्र्सले उल्लेख गरेझै २०५२ सालको सशस्त्र जनविद्रोहको अतीतद्वारा सम्प्रेषित गराउन भरमग्दुर प्रयास गरेको थियो । तर, एमाओवादीका लागि र खासगरी प्रचण्डका लागि दशवर्से जनयुद्धको लक्ष्य, उद्वेश्य र नैतिकताको बन्धन चिरप्रतिष्ठापित भेष र सापटी लिएको भाषामा सजिएर नेपालमा शान्ति र संविधान निर्माणको इतिहासको नयाँ नाटक खेल्न मरिहत्ते गरेका छन् । प्रचण्डका लागि क्रान्तिकारी कार्यदिशा यो महाधिवेशनमा पेश गर्ने कुरा अहिले त्यस्तै हुन गएको छ, जस्तो भर्खरै कुनै नयाँ भाषा सिक्न थालेको मानिसले मनमनै त्यस भाषालाई आफ्नो मात्री भाषामा उल्था गरिरहेको हुन्छ, नयाँ भाषाको आत्माचाहि (जसलाई मर्म भनिन्छ) उसले त्यसैबेला मात्रै ह्दयंगम गर्न सक्छ, जब उ त्यस भाषामा कति दक्ष हुन्छ भने उसको लागि नयाँ भाषालाई मनमनै पुरानो भाषामा उल्था गरिरहने आवश्यकता पर्दैन्, नयाँ भाषा प्रयोग गर्दा आफ्नो मात्री भाषालाई विर्सन्छ । बाबुरामका लागि त दिल्लीको भाषा उनको चिरपरिचत भाषा थियो तर प्रचण्डका लागि पनि अब जनयुद्ध र सर्वहारा क्रान्तिको भाषा आफ्नो भाषा नभई नयाँ भाषा बनिसकेको प्रतित हुँदैछ । उनी पनि बाबुरामसँगै दिल्लीको भाषा बोल्न सिक्दै छन् । 

अहिले नै भनि हाल्न हतार हुनेछ कि एमाओवादी हेटौडा महाधिवेशन सँस्करणको भविश्य एउटा दुःखान्त नाटकका रूपमा वा एउटा प्रहसनका रूपमा नेपाली कम्युनिस्ट आन्दोलनको राजनीतिक इतिहासमा अन्त हुनेछ । तैपनि कार्ल माक्र्सले माथि लेखेको कुरा साँच्चै नेपालको अहिलेको एमाओवादी नेतृत्वको अवस्थाबारे कतै सटिक टिप्पणि त होइन् ? भन्ने आधार चाहिँ बलियो बन्दै गएको छ । 

जे जस्तो भएता पनि नदीको मझधारमा रमाइरहेका एमाओवादी कार्यकर्ता र त्यसका नेताहरूको भविश्य त्यसवेलासम्म रहने छ, जुन दिन एमाओवादी भित्रको यथास्थितिवादी र पश्चयगमनको पर्खालमाथि स्वयम् एमाओवादीभित्रका क्रान्तिकारीहरूद्वारा नै गल्र्यामगुर्लुम ढालिने छ र देश र जनताको निम्ति लोकतन्त्रलाई पूर्णता दिनकै लागि पनि नेकपा—माओवादीसँग अग्रगमनको अभियानमा हातेमाले गरेर मात्रै जनताको संविधान लेख्न सकिन्छ र नेपालको राष्ट्रिय स्वाभिमानलाई उचा राख्न सकिन्छ भन्ने उनीहरूमा आत्मविश्वासको विकास हुनेछ । एमाओवादीभित्रका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूले एमाओवादी र माओवादीको मझधार बनेर एमाओवादीको वर्तमान सत्ताको स्वाद लिनकै लागि हेटौडा महाधिवेशनमा सहभागिता जनाउन चाहेको हो भने माक्र्सले भनेझै प्रहसनको रूपमा आविर्भूत हुनबाट आफू र आफ्नो क्रान्तिकारी स्प्रीरिटलाई बचाउनपर्छ भन्ने कटु सत्यलाई आत्मसात गर्न ढिलाई गर्नु नेपाली जनवादी क्रान्तिका लागि फाइदा भन्दा नोक्सानी नै बढी हुने छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates