हरेक मिनेट काम खोज्दै एक युवा विदेश


– पुनः श्रमस्वीकृति लिनेसमेत गरी दैनिक २ हजार


काठमाडौं, ११ माघ - पुस महिनामा प्रत्येक मिनट अन्तरमा एक नेपाली काम खोज्दै बिदेसिएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा यो अहिलेसम्मकै उच्च तथ्यांक हो । वैदेशिक रोजगार विभागका अनुसार पुसमा दैनिक १४ सय १० युवा मलेसिया, खाडीलगायत मुलुक पुगेका छन् ।
यो पहिलो पटक विदेश जानेको संख्या हो । एकपटक गएर फेरि फर्कनेको संख्यासमेत जोड्दा दैनिक २ हजार युवा रोजगारीका लागि विदेश उडेका छन् । पुनः श्रमस्वीकृति लिएर पुसमा १७ हजार ८७ युवा बिदेसिएका छन् । असोजमा दैनिक १२ सय ६६ युवा बिदेसिएको तथ्यांक छ ।
राजनीतिक अन्योल र लगानीमैत्री वातावरण अभावले रोजगारी सिर्जना नहुँदा बिदेसिनेको संख्या बढेको विभाग बताउँछ । “पुसमा मात्र ४० हजार ८ सय ६४ युवा विदेश गए,” विभाग महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने, “मलेसियामा धेरै कारणले कामदार माग बढेको छ, त्यसको प्रभाव पनि हो ।”
मलेसियाले जनवरीदेखि कामदारको न्यूनतम पारिश्रमिक ९ सय रिंगेट (२५ हजार २ सय रुपैयाँ) लागू गरेको छ । यसले म्यानपावर एजेन्सी पनि मलेसियातिर केन्द्रित भएका छन् । पुसमा सबैभन्दा बढी युवा गएको मुलुक पनि मलेसिया हो । त्यहाँमात्रै १४ हजार ७ सय ५९ युवा गएका छन् । चालू आवका ६ महिनामा ७७ हजार ९ सय ९२ नेपाली मलेसिया गएका छन् ।
पुसमा ६ हजार ७ सय २४ कतार, ८ हजार ३ सय १४ साउदी अरब, ३ हजार ९ सय ६८ यूएई, १ हजार ७ सय १५ कुवेत, २ सय ८४ बहराइन, २ सय ९५कोरिया र २ सय ३० जना ओमान गएका छन् ।
“राजनितिक अस्थिरता, बजेटको अन्योल, ऊर्जा अभाव, श्रम समस्या, नीतिगत अस्पष्टताका कारण रोजगारी सिर्जना हुने लगानी आउन सकेनन्,” वैदेशिक रोजगार क्षेत्रका जानकार अर्थशास्त्री डा. चिरञ्जीवी नेपाल भन्छन्, “यसले बिदेसिनेको संख्या बढ्यो । त्यसमाथि सञ्चालनमा रहेका उद्योग पनि बन्द भएकाले काम खोज्न बाहिर जाने क्रम उच्च छ ।”
चालू आवमा विकास खर्च १५ प्रतिशतमात्र छ । पूर्ण बजेट आउन नसकेकाले विकास निर्माणका काम पनि ठप्प छन् । नयाँ उद्योग थपिनुको सट्टा बन्द भइरहेका छन् । “यसले गर्दा स्थानीयस्तरमा रोजगारी छैन, रोजगारी नभएपछि जीविकोपार्जनका लागि बिदेसिनु बाध्यता हो,” नेपालले भने ।
यो अवधिमा संस्थागत रूपमा बिदेसिनेको संख्या ह्वात्तै बढेको छ । करिब ६० प्रतिशत युवा म्यानपावर एजेन्सीमार्फत गएका छन् । ६ महिनामै २ लाख २ सय ५ लाई पहिलोपटक र ७७ हजार ८ सय २० लाई पुनः श्रमस्वीकृति दिइसकिएको महानिर्देशक भट्टराईले बताए । “अब गन्तव्य मुलुकमा समस्या नआए पहिलोपटक श्रम स्वीकृतिमा ४ लाख र पुनः स्वीकृतिमा १ लाख ५० हजार युवा बिदेसिनेछन्,” उनले भने, “माग आउने तीब्र भएकाले यो संख्या अझै बढ्नेछ ।”



पहिलोपटक             बिदेसिनेको संख्या
साउन                          ३२६८५
भदौ                        २८०८७
असोज                          ३८००५
कात्तिक                          २५६१७
मंसिर                              ३४९४७
पुस                                ४०८६४

- karobardaily

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates