»
हेटौंडामा ख्रुश्चोभी संस्करण - लेखनाथ न्यौपाने
हेटौंडामा ख्रुश्चोभी संस्करण - लेखनाथ न्यौपाने
मोहन
विक्रमले जुन नियतले भने पनि परिणामतः उनको विश्लेषणलाई प्रचण्ड–बाबुरामले हेटौंडा महाधिवेशन
मार्फत सही सावित गरिछाडे । एमविले भनेका थिए, “अहिलेका
माओवादीको भडकाव पूर्व मालेको दुखान्त नाटकको प्रहसन हो । वास्तवमा उनीहरुले
सशस्त्र संघर्षको जुन बाटो समाते त्यो उनीहरुले क्रान्तिप्रतिको सच्चा निष्ठा र
समर्पणको भावनाले होइन, त्यसद्धारा आफ्ना व्यक्तिगत र चुनावपरस्त महत्वकाङ्क्षा, प्रसिद्धिको आकाङ्क्षा र क्यारिरिष्ट
भावनाले ग्रसित भएर नै समातेका थिए ।”
एमाओवादीको सातौं महाधिवेशन भर्खरै
हेटांैडामा सकिएको छ । हेटौंडा जाँदा के के न हुन्छ भनेर धेरै नै उत्साहित देखिने
प्रतिनिधिहरु मध्ये कैयौंले निकै नै अमिलो मन लिएर फर्कन बाध्य भएको देखियो । हद
तहमा स्खलित विचार, असंगतीपूर्ण राजनीति, हावादारी कार्यदिशा र आकाशवाणीबाट बनेको तदर्थवादी संगठन निमार्ण नै
महाधिवेशनको अन्तरवस्तु हो । यही कारणले हो हुप्राचौरमै वामदेव र रामचन्द्रको
स्यावासी पाएको प्रचण्ड महाधिवेशनले र त्यसपछि संसारभरिका मुख्यतः नेपाली जनताका
वैरीहरुले खुशीयालीमा दिपावली गरे र भोज खाए । वुर्जुवाहरुले वधाइ यसकारण पनि
दिइरहेका छन् कि जनयुद्धको अन्त्य, जनमुक्ति सेनाको विघटन
र दलाल पूँजीवादसँग शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोमा हिंड्ने निर्णय
महाधिवेशनले ग¥यो । यत्तिले नपुगेर एमाओवादीले माओवादलाई
विदा नगर्दासम्म पूर्णत विश्वास गर्न सकिंदैन भन्दै सामाजिक पार्टीमा झर्न
निर्देशन दिइरहेको समेत सतहमै देखिएको विषय हो । माओले बारम्वार भनेको र हामी
माओवादीले बुझेको “शत्रुले हाम्रो विरोध गरे भने हामी सही
छौं भन्ने बुझ्नुपर्छ र समर्थन गरे भने हामी विग्रदै छौं भन्ने बुझ्नुपर्छ ।”
यो माओवादी विश्लेषण अनुसार एमाओवादीले जनताका वैरीबाट ताली,
स्यावासी र वधाइ खानु ऊ पुरै विग्रेको घोतक नै हो ।
महाधिवेशन भन्दा अगाडि एमाओवादीका
कार्यकर्ताहरु प्रष्टसँग दुई कित्तामा विभाजित थिए । “अब
क्रान्ति संभव छैन, क्रान्ति नदेख्ने बाटो प्रचण्डपथ हो र
क्रान्ति नगर्ने पार्टी एमाओवादी हो । बाँकी जीवन क्रान्ति नगर्ने बाटोमै रमाउने
निर्णय हाम्रो हो” भन्ने एकाथरी थिए भने अर्काथरी “क्रान्ति हुन्छ, क्रान्ति प्रचण्डकै नेतृत्वमा
हुन्छ । क्रान्ति पुरा गर्ने निर्णय महाधिवेशनले निकाल्छ” भन्ने भ्रममा परेका तर इमान्दार क्रान्तिकारीहरु थिए । महाधिवेशनपछि
पहिलो पंक्तिवाला कार्यकर्ता स्वभाविक रुपमा खुशी देखिन्छन । आफूले सोंचेकै,
भनेकै र रोजेकै विषयलाई महाधिवेशनले औपचारिकता दियो । सायद यही
खुशीयालीमा हेटांैडामा सबैभन्दा बढी मदिरा बिक्री हुने स्थिति बन्यो । दोस्रो
पंक्तिवाला कार्यकर्ता अब के गर्लान भन्ने प्रश्न अर्थपूर्ण छ । निश्चित छ कि
यसभित्र पनि दुई पंक्ति देखापर्ने छ । एकाथरी कार्यकर्ता भ्यागुता उसिन्ने
सिद्धान्तको सिकार हुने छन् भने दोस्रो त्यहाँबाट क्रमशः विद्रोह सहित क्रान्ति
खोज्दै आफूलाई दलालीकरणबाट बचाउने कोशिष गर्नेछन । तर यसका लागि विकल्प भनिएको
पार्टी, नेता र आन्दोलनले सिर्जना गर्ने वातावरण, विश्वास र तरङ्ग कस्तो हुन्छ भन्नेले निर्धारण गर्नेछ ।
महाधिवेशनले कता फर्केर निर्णय
गर्ने र कसलाई खुशी बनाउने भन्ने प्रश्न निकै महत्वको हुनेगर्छ । एमाओवादीको
हेटौंडा महाधिवेशन सर्वाधिक उल्टो उत्तर दिएर समापन भएको छ । वुर्जुवा शिविरबाट
कम्युनिस्टहरुलाई लगाउने एकदलीय, अलोकतान्त्रिक र
अधिनायकवादीको आरोप कुनै नयाँ होइन तर उनीहरुकै इच्छा अनुसार निर्णय हुनु
कम्युनिस्टहरुको त वेइज्यत हुँदै हो साथै जनयुद्ध लडेर आएको माओवादी पार्टी
वुर्जुवा न्यायालयमा उपस्थित भएर “म सत्य बोल्छु, तिमीहरुकै हुकुम प्रमाणित (हुप्रा) अनुसार महाधिवेशन टुङ्याउछु”
भन्नु चाहि नयाँ र लज्जाको विषय हो । यो हदसम्म स्खलन हुनका लागि
कुन रसायनले निर्णायक भूमिका खेलेको छ ? गहिरो
अनुसन्धानको आवश्यकता महसुस भएको छ ।
आपूmलाई
वहुदलवादी, लोकतान्त्रिक र प्रजातान्त्रिक देखाउनको
निम्ति महाधिवेशन मार्फत प्रचण्ड–बाबुराम पुरै नाङ्गेझार
भएर उभिएका छन् । “हामी अब कहिल्यै बन्दुकका कुरा गर्ने
छैनौं । हिजो गल्ती गरियो, अब हामी साँच्चै वुद्ध बन्छौं
। हेगको झमेला नझिकौं” भन्दै एकातिर वचन कवुल गरे भने
अर्कोतिर वुर्जुवाहरु भन्दा पनि दश हात अघि सरेर स्टालिन र माओको विरुद्धमा खुलेरै
लाग्ने घोषणा गरे । यसकारण सन् १९५६ को रुसी कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन
(शान्तिपूर्ण सहअस्तित्व, शान्तिपूर्ण सङ्क्रमण, शान्तिपूर्ण प्रतिस्पर्धा, सम्पूर्ण जनताको
राज्यसत्ता र सम्पूर्ण जनताको पार्टी) लाई आधार मानेर विसं २०४९ मा नेकपा (एमाले)
ले पाँचौ महाधिवेशन गरेको थियो र आफूलाई कम्युनिस्ट पार्टीबाट सामाजिक पार्टीमा
झारेको थियो । ठीक त्यसरी नै एमालेको पाँचौ महाधिवेशनलाई आधार मानेर हेटौंडामा
एमाओवादीले सातौं महाधिवेशन सम्पन्न ग¥यो र आफूलाई
एमालेको माइलो भाइ अथवा अर्को सामाजिक पार्टीमा स्खलित गरेको छ । गजबको जिज्ञासा
जन्मन्छ एउटै विचार, सिद्धान्त, विश्लेषण
र गन्तव्य भएका यि दुई सामाजिक पार्टीको सम्वन्ध, अस्तित्व
र भविष्य अब कस्तो होला ? जति पट्यार लागे पनि तेस्रो
पक्षसँग पर्खेर हेर्नुको विकल्प छैन । तर एउटा सत्य यो छ कि एमाले र एमाओवादी एउटै
समयमा पुरानै आकारमा रहि रहन सक्दैनन् । एमालेको बाटोमा बीस वर्षपछि एमाओवादी
पुच्छर लुकाएर आउँदै गर्दा एमालेले आफूलाई ठूल्दाइ ठान्नु पनि अन्यथा हुने छैन ।
एमाओवादीको हेटौंडा महाधिवेशनले
निर्णय गरेका धेरै उडन्ते विषय मध्ये मुख्य दुई विषय हुन । जसलाई महाधिवेशन भन्दा
अगाडि केन्द्रीय समितिमा प्रचण्डले राखेका थिए र सबै केन्द्रीय सदस्यहरुले आँखा
चिम्लेर ताली हानेका थिए । पहिलो विषय, देश स्वतन्त्र
हुँदै गएको र सिमामा रहेको सीमित समस्या जनमत संग्रहद्धारा हल गर्ने । यो विषयमा
केन्द्रीय समितिले भन्दा भिन्न ढंगबाट प्रतिनिधिहरुले वहस गरे र प्रचण्डलाई घोडा
टेकाए । यही वहसको कारण प्रकाशको राष्ट्रवादको मुकुण्डो पनि नराम्रोसँग च्यातचुत
भयो । दोस्रो विषय, उत्पादन ब्रिगेड बनाउने र समाजवादी
क्रान्ति सम्पन्न गर्ने । यो विषयमा चाहि केन्द्रीय समितिमा जसरी आँखा चिम्लेर
चाकडीको ताली बजाइएको थियो त्यसरी नै ताली हाने प्रतिनिधिहरुले पनि । तर यी सोझा
प्रतिनिधिहरुले प्रचण्डभित्र लुकेको दाउपेच थाहा नै पाउन सकेनन् । आशा गरौं,
आगामी दिनमा अवश्य थाहा पाउने छन् ।
अर्थतन्त्रको चरित्र नफेरिकन अथवा
पुरानो राज्यसत्तामा सहवरण गरेर उत्पादन ब्रिगेड बनाउने र समाजवादको आधार तयार
पार्ने विषय आफैंमा आधारहिन उडन्ते विषय हो । हाम्रो अर्थतन्त्र एकातिर पछौटे
कृषिमा आधारित छ भने अर्कोतिर विदेशी ऋण, अनुदान र
सहयोगमा टिकेको छ । जमीन, कृषि र परनिर्भरताको समस्या हल
नगरिकन एउटा माओवादी कार्यकर्ताले बाख्रा पालेर वा अर्कोले काँक्रा फलाएर
पूँजीवादको विकास हुने कुरो जति केटौले अरु के हुन सक्छ ? त्यसैगरि नेपालमा १० प्रतिशत धनी परिवारले कुल राष्ट्रिय आयको ४०
प्रतिशत हिस्सा उपयोग वा खर्च गर्छन भने १० प्रतिशत गरिब परिवारले कुल राष्ट्रिय
आयको २.१ प्रतिशत मात्र खर्च गर्न पाउने अवस्था एकातिर देखिन्छ भने अर्कोतिर समग्र
नेपाली आर्थिक गतिविधि मध्ये ८० प्रतिशत हिस्सा भारतीय पक्षले ओगटेको छ ।
अर्थतन्त्रको यो चरित्रलाई लुकाएर उत्पादन ब्रिगेडले हेटौंडा कपडा कारखानाबाटै काम
थाल्ने भन्ने निश्कर्ष सुन्दा जो कोहीलाई पनि काउकुति लागेर आउँछ । जमीनको समस्या भूमिसुधार
मार्फत हल नगरि, परम्परागत खेती प्रणालीको समस्या आधुनिक
र सामूहिक खेती प्रणाली मार्फत हल नगरि र दलाल पूँजीलाई विस्थापित गरेर स्वतन्त्र
आत्मनिर्भर अर्थतन्त्रको आधार तयार नगरि बन्ने यस्ता उत्पादन ब्रिगेड हिजो
प्रचण्डले भित्र (अस्थाइ क्यान्टोनमेन्ट) सात डिभिजन र बाहिर (वाइसिएल) एक्काइस
डिभिजन सेना भने जस्तै हावादारी कल्पना मात्र हो ।
जब कम्युनिस्ट पार्टी वुर्जुवा
पार्टीमा विसर्जित हुन्छ तब कम्युनिस्ट पार्टीको संगठनात्मक परिभाषा बदलिन्छ अथवा
क्याडर बेस पार्टी, च्यान अफ कमाण्ड र फलामे अनुसाशनको
मान्यता पनि समाप्त हुन्छ । जब नेतै नेताको अथवा क्याडर बेस पार्टी, एउटा वर्गको मात्र होइन सबै जनताको पार्टी अथवा मास पार्टीमा विसर्जन
हुन्छ तब त्यस्तो पार्टीमा पूर्णकालीन राजनीतिक कार्यकर्ता जरुरी हुँदैनन् र
भएकाहरु पनि निकै घाँडो हुँदै जान्छन् ।
फौजी संरचना र धेरै पूर्णकालीन
राजनीतिक कार्यकर्ता समेत नभएको तत्कालीन मालेले यो विषयलाई कसरी व्यवस्थापन गरेको
थियो त ? उसँग भएका सीमित कार्यकर्तालाई वैठक, जुलुश र मतदानमा आउनेगरी जागिर खान, एनजियो
चलाएर जिविका चलाउन वा पेशा–व्यावसायमा गएर आफ्नो
व्यवस्थापन गर भनेर कार्यकर्ता फर्काएको दृष्टान्त देखिएकै हो । एमालेको भन्दा
कैयौं बढी संगठनतात्मक संरचना र पूर्णकालीन राजनीतिक कार्यकर्ता भएको पार्टी जब
मास पार्टीमा झ¥यो त्यसपछि वैठक, जुलुश र मतदानमा आउनु बाहेक अरु खास काम पार्टीमा हुँदैन र पूर्णकालीन
राजनीतिक कार्यकर्ता पनि जरुरी हुँदैन । यस्तो लाइन लिने पार्टीका लागि त्यस्ता
कार्यकर्ता बोझ हुन्छन । “अब हामीलाई पूर्णकालीन
कार्यकर्ता जरुरी छैन, घर फर्क, पेशा–व्यावसायमा लाग वा आत्मनिर्भर बनेर माथिका तीन काममा सहयोग गर” भन्दा भृकुटीमण्डप दोहोरिने खतराको ठहरसहित कार्यकर्ता छाँट्ने र बोझबाट
पन्छने उद्देश्यले प्रचण्ड–बाबुरामले उत्पादन ब्रिगेड
बनाएको यथार्थता विचरा ती प्रतिनिधिले बुझे कि बुझेनन कुन्नी ? एमाओवादी भित्र यस्तो एउटा झुण्ड छ जसले हिजो युवा स्वरोजगार कोषको
दोहन ग¥यो, लुम्विनीदेखि
सगरमाथासम्म सरकारी कोष डुलायो । यो पनि पक्का हो कि उत्पाद ब्रिगेड मार्फत लुट्ने
पनि यही झुण्ड हुनेछ । सम्पत्ति माथिको निजी स्वामित्वको नयाँ परिभाषा नगरी
सम्पत्ति थुपार्दै र निजी सम्पत्तिलाई संगठित गर्दै आफू नवधनाड्य बन्दै जाने अनि
कार्यकर्तालाई मुर्गा बनाउनका लागि उत्पादन ब्रिगेड र समाजवादी क्रान्ति भन्ने !
यो भन्दा अर्को छलछाम र धोकाघडी अरु के हुन सक्छ ?
चीनमा माओले सन् १९४९ भन्दा अगाडि
(युद्धरत समय) को अवधिलाई ध्वंश र पछाडिको (नयाँ जनवादी क्रान्ति पछि) लाई
निर्माणको चरण भनेर छुट्याउँदै विकास र उत्पादन ब्रिगेडहरु निर्माण गर्नुभएको थियो
। यो सन्दर्भमा सम्पत्ति माथिको निजी स्वामित्वबारे समेत प्रष्ट परिभाषा दिनुभएको
थियो । नयाँ जनवादी क्रान्ति पछि बनेका यस्ता ब्रिगेडहरु जो नयाँ राज्यको योजना र
नेतृत्वमा परिचालित थिए । नक्कल पनि अलिअलि त सुहाउने हुनुपर्छ नि, बाटो ख्रुश्चोभको, योजना माओको । भाङ्राको
धोतीमा गुएलाको फूल भनेको यसैलाई हो ।
Labels:
0 comments