नेकपा–माओवादी प्रतिरोध अभियानमा एकलाख युवा उतार्ने दाबी

इटहरी, चैत १७- नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले नेपाली जनतालाई मूर्ख बनाउने र २०३६ सालमा पञ्चायत लादेजस्तै अहिले संसदीय व्यवस्था लाद्ने प्रयास भएकाले त्यसलाई पूर्णरुपमा विफल बनाउनका लागि प्रतिरोध अभियान थालेको बताएका छन् ।

नेकपा–माओवादीले पहिलोपटक पूर्वी नेपालबाट यस प्रकारको अभियानका थालनी गरेको उल्लेख गर्दै  सचिव चन्दले जनयुद्धपछि तत्कालीन सातदल र माओवादीबीच भएको सम्झौता अनुसार पुनः माओवादीसँग त्योभन्दा उच्च खालको सम्झौता हुनु पर्ने कुरामा जोड दिएका थिए ।

नेपालको अस्तित्वमाथि खेलबाड गर्ने चार दलीय सिण्डीकेटलाई भत्काउन र नेपाली जनताले प्राप्त गरेको उपलब्धिको रक्षाका लागि हामी एकलाख
युवालाई स्वयमसेवक दलमा आवद्ध गराएर देशभर नेपालीका अस्तित्व रक्षाका लागि परिचालन गर्ने तयारीमा छौ भन्दै सचिव चन्दले त्यो पाँचलाख पनि पुग्न सक्ने बताए ।

त्यसअघि इटहरीस्थित पार्टी कार्यालयबाट हातमा डण्डा र भाटा बोकेका युवा जनस्वयमसेवक युवाहरुले विभिन्न नारा लगाउँदै इटहरी नगरको मुख्य–मुख्य क्षेत्रमा परिक्रमा गरेका थिए। उनीहरुले चारदलीय निर्णय मान्दैनौ, बर्तमान सरकार विघटन गर, चुनावी नौटङ्की तोडछौ जस्ता नाराहरु लगाएका थिए।

राष्ट्रिय युवा स्वयमसेवक पूर्वी कमाण्डले आयोजना गरेको राष्ट्रिय जनजागरण तथा प्रतिरोध अभियान तथा नेकपा–माओवादी कोचिला राज्य समितिले आयोजना गरेको राष्ट्रिय स्वाधिनताका लागि जनसम्वन्ध सुदृढ अभियान भनेर दुई छुट्टाछुट्टै कार्यक्रमलाई एक ठाउँमा आयोजना गरेर नेकपा–माओवादीले भण्डाफोर अभियानको उद्घोष समेत गरेको हो।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates