प्रचण्ड एक्कासि किन जंगल पसे ?

काठमाडौं । एमाले छाडेका रामचन्द्र झालाई जनकपुरस्थित घरमै पुगी धाप मारेर विश्वासपात्र हरिबोल गजुरेलका साथ सिन्धुली पसेका प्रचण्ड आफ्नै पार्टीका नेता-कार्यकर्ताको बहिष्कारमा परेका छन् । बाबुराम भट्टराईपक्षीय नेता-कार्यकर्ताको बाहुल्य रहेको सिन्धुलीमा उनी शनिबार बिहानै पुगे । ऋषिराज देवकोटा आजाद मारिएका स्थान भीमानमा बिहान ७ बजे नै सहिदहरू देवकोटा, दुर्गा सुवेदी र रजन मगरको सालिकमा माल्यार्पण गरेका प्रचण्ड सिन्धुली सदरमुकाममा भने ओर्लिएनन् । काठमाडांैबाट हेलिकोप्टरमा अजबलाल यादवको स्मृति कार्यक्रमका निम्ति जनकपुर गएका प्रचण्ड त्यहाँबाट हरिबोलकै गाडीमा सिन्धुली हान्निएका हुन् । सदरमुकाममा नअडिईकन सोझै रतनचुराको खनियाखर्क पुगेका उनी गि्रन भिलेज होटल एन्ड लजमा बसे । त्यहीँ दिउँसोको खाना खाएपछि हरिबोल र केही कार्यकर्तालाई पछि लगाएर दिनभर जंगलको बाटो ओराली झरिरहे । मोटरबाटो नबन्दा जिल्लाको उत्तरी भेगबाट सदरमुकाम आउने जंगल भएर झर्दै प्रचण्डको टोली खुर्कोटनजिकै रहेको माथिल्लो बारासम्म पुग्यो ।
दुई घन्टासम्म सल्लाघारीको बाटो हिँडेर वरपीपलको छहारीमा रहेको चौतारीमा टोली सुस्ताइरहेको समयमै प्रचण्डपत्नी सीता पुगिन् । हरिबोलको समूहले उनलाई अभिवादन गरेपछि उनीहरू सीताका साथमा गएका दुईवटा गाडीमा खनियाँखर्क फर्किएका थिए । रतनचुराकै मगर दम्पतीले चलाएको गि्रन भिलेज होटल एन्ड लजमा प्रचण्ड बसुन्जेल सर्वसाधारण बटुवाले वास पाएनन् । पूरै होटल प्रचण्डको टोलीका लागि लिइएकाले सर्वसाधारणका निम्ति निषेधित गरिएको हो । यता, प्रचण्ड होटलमा बस्नेगरी आउँदै छन् भन्ने थाहा पाउनासाथ केही कार्यकर्ता शनिबार बिहानै आई तकिया र सिरकको खोलका साथै तन्ना पनि नयाँ हाल्न लगाइएको थियो ।

शनिबार यसै पनि बिदाको र रमाइलो गर्ने दिन । त्यसमा पनि काठमाडांैदेखि गएको प्रचण्डको सुरक्षा र निजी सचिवालयको टोलीले थकाइ मेट्न हल्का मादक पेय पदार्थ लिने नै भयो । समूहले खुकुरी रम र बियर चलायो । यता, प्रचण्ड स्वयंलाई भने स्थानीय स्वाद र विशेषताले भरिएको जुनारको रसबाट बनाइएको पेयको व्यवस्था गरिएको सिन्धुली माओवादी स्रोतले जनाएको छ । बाबुरामपक्षको राम्रो प्रभाव भएको सिन्धुलीमा गएर कुनै पनि सार्वजनिक तथा पार्टी कार्यक्रममा सहभागी नभएका प्रचण्डले आइतबार बिहान भने राज्यसमिति सदस्यलाई छलफल र निर्देशनका लागि बोलाए । शनिबार साँझ नै पार्टी पंक्तिमा यसबारे सूचना गरियो । तर, भोलिपल्ट बिहान उनको निर्देशन सुन्न जम्मा ५ जना राज्यसमिति सदस्य देखा परे । स्मरण रहोस्, सिन्धुलीबाट ताम्सालिङ राज्यसमितिमा ५ दर्जन बढीको प्रतिनिधित्व छ । यीमध्ये अधिकांश बाबुराम पक्षका छन् । बाबुराम पक्षका १८ जना राज्य समिति सदस्य सदरमुकाममै भएर पनि आफ्नै आँगनमा आएका अध्यक्षलाई भेट्न गएनन् । प्रचण्डको इज्जत जोगाउन उनलाई भेट्न जाने पाँच राससमा एमाले, माले हुँदै माओवादीमा गएकी सविता कोइराला, वसन्त माझी, राजन दाहाल, हिमाल फँुयाल र हिमानी तिमिल्सिना हुन् । बाबुराम पक्षको छेउमै रहेका नेताहरूले प्रचण्डलाई बहिष्कार गरेका भए पनि झाँगाझोली निवासी र मोरङबाट संविधानसभा सदस्य बनेका गोपी अछामे भने काठमाडांैबाट प्रचण्डलाई भेट्न गाउँ पुगेका थिए ।

विना पूर्वसूचना आएकाले प्रचण्डलाई स्वागत गर्न र भेट गर्न पनि नगएको बाबुराम समूहका एक राज्य समिति सदस्यले जनआस्थालाई बताए । भट्टराई विचार समूहलाई कमजोर पार्न प्रचण्ड आएको बुझाइका कारण पनि नेता मात्र नभएर भट्टराईलाई समर्थन गर्ने कार्यकर्ता पनि गएनन् । एक राससका अनुसार प्रचण्ड सिन्धुली आएको थाहा पाउनासाथै भट्टराई पक्षले आफ्ना समूहका कार्यकर्तालाई नजान निर्देशन गरेको थियो । यसरी प्रचण्डसामु देखा नपर्न निर्देशन दिने काम सिन्धुलीमा बसी प्रशान्त मगरले गरेका हुन् । प्रशान्त पूर्वजिल्ला इन्चार्ज र हाल ३ नम्बर क्षेत्रका संयोजक हुन् । उनले कार्यकर्तालाई प्रचण्ड पूर्वजानकारी र योजनाविना आएकाले भट्टराईपक्षीय कुनै पनि कार्यकर्ता सहभागी नहुने हृविप जारी गरेका थिए ।

एक औँलामा गन्न सकिने रासससँग केहीबेर कुरा राखेपछि प्रचण्ड ८ बजे खनियाखर्कबाट झाँगाझोली आए । झाँगाझोलीको ६ नम्बर वडाबाट एकै परिवारका तीन दाजुभाइ मीनकुमार, पवन र देवी दाहालले जनयुद्धमा सहादत प्राप्त गरेका छन् । उनीहरूकी एक्ली आमालाई जनयुद्धकालमा पार्टीकी आमा भनी सम्बोधन गरिन्थ्यो । तर, हाल उनी कहाँ र कुन अवस्थामा छिन् ? जिल्ला र केन्द्र पार्टी बेखबर छ । प्रचण्ड तीन सहिद जन्मिएका तर अहिले ताल्चा लागेको सोही घरमा पुगी नतमस्तक बनेर हेरिरहँदा आफूले भने झलझली तीनै छोरालाई मार्न निर्देशन दिने लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख बनाउन प्रचण्डले प्रस्ताव गरेको घटना सम्भिmएको एक शिक्षकले बताए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates