यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने वैद्यको अडान

भक्तपुर, चैत १८- नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले यथास्थितिमा सरकार र चार दलले बोलाएको वार्तामा नजाने बताएका छन्। भक्तपुरको मनोहरा सुकुम्बासी बस्तीमा आज आयोजना गरिएको अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनको उद्‍घाटन गर्दै उनले यथास्थितिमा कुनै पनि वार्तामा नजाने बताए।

अध्यक्ष वैद्यले खिलराज रेग्मीको नेतृत्वको वर्तमान सरकार खारेजी र चार दलले गरेको ११ बुँदे सहमति खारेज गरिए मात्र वार्तामा बस्ने जिकिर गरे। अहिले चुनावको नौटङ्की रचिएको छ, चार दलको सिन्डिकेटले १० वर्ष क्रान्ति गरेर आएको माओवादी पार्टीसहित
२३ वटा पार्टीलाई निषेध गरेको छ भन्दै अन्तरिम संविधानको गलत ढङ्गले संशोधन गरेर चैत १ गते चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को 'कू' गरिएको छ भने।
चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरेमात्र आफूहरु वार्तामा बस्ने अडान दोहोर्‍याए।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates