चाभेज हुनुको अर्थ

तर, चाभेजले छरेको विचारको राप, ताप र प्रकाश भने उनको देहान्तपछि पनि कम हुने देखिएको छैन किनभने उनको विचार र व्यवहारको ज्योति त्यति कमजोर छैन। वास्तवमा उनले २१ औँ शताब्दीलाई विश्वको दक्षिणी गोलार्द्धमा रहेका जनताको समाजवादी शताब्दीमा फेर्ने सपना देखेका थिए। मार्च २००५ मा कोलकाताका हजारौँ जनतालाई सम्बोधन गर्दै उनले घोषणा गरेका थिए, 'उन्नाइसौँ र बीसौँ शताब्दी युरोप र अमेरिकाका शताब्दी थिए। तर, यो शताब्दी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाको हुनेछ। एकताबद्ध भयौँ भने हामी संसारकै शक्तिशाली जनता हुनेछौँ, आर्थिकरूपमा पनि, अन्यरूपमा पनि।'
ल्याटिन अमेरिकास्थित भेनेजुयलाका वामपन्थी राष्ट्रपति ह्युगो चाभेज
त्यस्ता व्यक्ति थिए, जसले नव-उदारवादी पुँजीवादको विकल्प देखाए, जसले २१
औँ शताब्दीमा पनि समाजवादको भविष्य रहेको आभास दिलाए। यसरी आशाको दियो
बालेका चाभेजले वामपन्थीबीच सुधार र क्रान्तिबारे नयाँ सिराबाट सोच्न बाध्य
पार्नेगरी बोलिभारियन क्रान्तिको अगुवाइ गरेका थिए। सन् १९९८ मा भएको
राष्ट्रपतीय निर्वाचनमा लोकप्रिय मतबाट जितेका चाभेजले आफूलाई सत्ताच्युत
गर्न सन् २००२ मा अमेरिकाबाट प्रायोजित सैनिक विद्रोह र तेल कम्पनीहरूको
हडताललाई आमजनताको सक्रिय परिचालनबाट परास्त गरेका थिए। र, संसारभरका
वामपन्थीलाई, आमजनतालाई साँच्चै नै सत्तासीन, शक्तिशाली र निर्णायक कसरी
बनाउने भन्ने पाठ पढाएका थिए।
नव-उदारवादी पुँजीवादविरुद्ध:
अमेरिकी प्रोफेसर गेरार्डाे रेनिक्वेका अनुसार आमजनताको सक्रिय सहभागितामा
थालिएको बोलिभारियन क्रान्तिका अन्य आधारमध्ये मिश्रित अर्थतन्त्र,
कल्याणकारी नीति र कार्यक्रम, तटस्थ विदेशनीति, लोकप्रिय राष्ट्रवाद थिए।
व्यापक जनसहभागिताको बलमा लागु गरिएका यिनै नीति र कार्यक्रमले
अमेरिकाद्वारा लादिएको 'वासिङ्टन सहमति' अनुसारको नव-उदारवादी ब्लुप्रिन्ट
च्यातेका थिए। उनले कामबाटै प्रस्ट्याए, नवउदारवादी पुँजीवादको बाढीबीच
सबैजसो राजनीतिक विचार डगमगाएको बेला पनि वैकल्पिक विचार स्थापित गर्न
सकिन्छ। त्यसका लागि आफ्नो देशको विशिष्ट क्षमता पहिचान गर्ने र आमजनताको
अजङ शक्ति खोज्ने दृष्टिकोण जरुरी छ, न्याय र सत्यका लागि एक्लै भए पनि
उभिने साहस आवश्यक छ। आफ्नो देशको विशिष्ट स्थितिमा रूपान्तरणकारी
दृष्टिकोणको सिर्जनात्मक प्रयोग गरेका चाभेजको क्रान्तिकारी साहस
प्रेरणादायी छ। एक्काइसौं शताब्दीको संघारमा ल्याटिन अमेरिकामा नवउदारवादी
पुँजीवादको विपक्षमा कोही नउभिएको र वामपन्थी सरकारको अस्तित्वसमेत नभएको
बेला पनि उनले वैकल्पिक खाकासहित उभिने आँट गरेका थिए। त्यसै क्रममा आज
ब्राजिलदेखि अर्जेन्टिनासम्मका अधिकांश मुलुकमा वामपन्थी सरकारको निर्माण र
जनताको प्रतिरोध संघर्ष तीव्र र व्यापक भएको छ।
भेनेजुयलाका गरिखाने जनता र अर्काे पेट्रोलियम पदार्थको विशाल भण्डारलाई
सडक र सरकारबाट नवउदारवादी पुँजीवादको प्रतिरोधका लागि अत्यावश्यक मुख्य
भौतिक आधारका रूपमा उनले ठम्याएका थिए। विश्वको कुल पेट्रोलियम पदार्थको
पाँच भाग आफ्नो सीमामा रहेको भेनेजुयलाको त्यही प्राकृतिक शक्तिको महŒव
उनले राम्ररी बुझेका थिए। सन् १९९७ सम्म त्यही स्रोतमाथि जारी रहेको
पुँजीवादी लुटलाई उनले राष्ट्रियकरणको हतियारले समाप्त पार्ने, पश्चिमी
देशका बहुराष्ट्रिय कम्पनीबाट पहिलेभन्दा बेसी मात्रामा रोयल्टी दिन बाध्य
पार्ने तथा त्यसको आम्दानी देश र जनताका समृद्धिका लागि खर्चने काम गर्दै
आर्थिक सुधारलाई क्रान्तिकारी दिशा प्रदान गरेका थिए। भ्रष्टाचार र
गरिबीविरुद्ध जेहाद छेड्ने नाराका साथ निर्वाचनबाट सत्तासीन भएपछि उनले
गरेको सबैभन्दा ठूलो काम हो, पेट्रोलियम पदार्थसँग सम्बन्धित खानी र
कम्पनीहरूको राष्ट्रियकरण तथा त्यसबाट प्राप्त विशाल रकम देशमा गरिबी
उन्मूलनसँगै सबैजसो गरिबका लागि स्वास्थ, शिक्षा, रोजगार र पेन्सनजस्ता
सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गर्ने काम। सामाजिक कल्याणका यिनै
क्षेत्रमा गरिएको राष्ट्रिय लगानीले उनको सरकारलाई साँच्चै जनपक्षीय
ठहर्या्एको थियो भने उनी लोकप्रियतावादी कार्यक्रमको घोडामा सवार पपुलिस्ट
लिडरमात्रै होइन भन्ने पनि पुष्टि गरेको थियो।
चाभेजका हरेक सामाजिक कल्याणका कार्यक्रमको केन्द्रमा गरिखाने गरिब जनता
थिए भने त्यस्ता नीतिको नेपथ्यमा थिए सामाजिक न्यायको भावना। उनले
पेट्रोलियम पदार्थको भण्डारलाई अमेरिकी र युरोपेली राष्ट्र एवं कम्पनीको
एकाधिकारलाई ठाडै चुनौती दिनमा मात्रै होइन, अन्य गरिब उत्पीडित देशको
सार्वभौमिकतालाई बचाउन र आफ्नो देशका जनताको स्वास्थ स्थितिमा सुधार गर्न
पनि प्रयोग गरेका थिए। उदाहरणका लागि, अमेरिकी कोपभाजनको शिकार भएको
क्युबालाई अमेरिकी-युरोपेली पेट्रोलियम पदार्थप्रतिको निर्भरता घटाई उनले
स्वास्थ्य क्षेत्रमा रहेको क्युबाली विशेषज्ञतालाई गरिब भेनेजुयलाबासीको
स्वास्थ्य सुधारका लागि उपयोग गरेका थिए। कसरी हुन्छ, गरिब जनताको जीवन
स्थितिमा सुधार र परिवर्तन ल्याउनेखालका जनपक्षीय नीति र कार्यक्रम लागु
गर्ने मामिलामा चाभेजले कुनै सम्झौता गरेका थिएनन्, न त संघर्ष गर्न नै
छाडेका थिए।
बोलिभारियन मुभमेन्टको नौलो प्रयोग:
जनपक्षीय नीति लागु गर्ने मामिलामा चाभेजको प्रतिबद्धता र इमानदारिताको
जगमा भेनेजुयलाका गरिखाने जनता थिए। निम्नमध्यम वर्गीय शिक्षक आमा-बुबाका
सन्तान चाभेजले राष्ट्रिय सैनिक एकेडेमीबाट प्रशिक्षित भई त्यही प्रशिक्षक
हुँदा सन् १९८० को दशकमै भेनेजुयलाका गरिखाने जनताको पक्षमा क्रान्ति गर्ने
उद्देश्यले 'रिभोल्युसनरी बोलिभारियन मुभमेन्ट' नामक गोप्य संगठन
सेनाभित्रै निर्माण गरेका थिए। पाँच सय वर्षसम्म औपनिवेशिक शासन गर्ने
स्पेनिस साम्राज्यविरुद्ध राष्ट्रिय मुक्ति संग्राम लडेका सिमोन बोलिभार,
उनका गुरू सिमोन रोड्रिग्वेज तथा इजाक्वेल जमोरालाई आफ्नो आदर्श नायक
ठान्ने सैनिक प्रशिक्षक चाभेजले सिमोन बोलिभारकै नाममा संगठन सिर्जना गरेका
थिए। गरिखाने वर्गको मुक्तिको सिद्धान्तलाई ल्याटिन अमेरिकामा विशिष्ट
स्थितिमा क्रान्तिकारी परिवर्तनको सूत्रका रूपमा लागु गर्ने क्रममा उनले
बोलिभारलाई गुरू थाप्नु र उनकै नाममा संगठन गर्नुमा सिद्धान्तको
सिर्जनात्मक प्रयोग निहीत रहेको तथ्यतिर मार्क्सवादी अध्येता मार्ता
हार्नेकरले संकेत गरेकी छिन्। पार्टीको नामलाई मार्क्सवादी शब्द-जालले
ढाक्ने, श्रमको क्षेत्रमा हँसिया-हथौडा प्रयोगै नभएका देशमा पनि पार्टीको
झन्डामा तिनै प्रतीक टाँस्ने अनि युरोपमा बनेका शब्द र सूत्र घोक्ने
परम्परा रहेको बेला उनको प्रयोग सिर्जनात्मकमात्रै होइन, वस्तुनिष्ठ पनि
साबित भयो।
हुन त सार्वजनिक सेवा र त्यसमा सरकारी लगानी कटौती गर्ने राष्ट्रपति
कार्लाेस एन्द्रेस पेरेजको प्रयासविरुद्ध फुटेको जनआक्रोशलाई भजाउने नियतले
सन् १९९२ मा उनको नेतृत्वमा भएको सैनिक विद्रोह असफल भएको इतिहास पनि
नभएको होइन। तर त्यही असफल सैनिक विद्रोह र दुई वर्षको जेल-बसाइलाई पनि
जनाधार विस्तारका लागि उपयोग गर्न सफल चाभेजले सन् १९९८ मा भएको
राष्ट्रपतीय निर्वाचनअघि-पछि फुकी-फुकी पाइला चालेको तथ्य स्मरणीय छ। उनले
सुरुमा भ्रष्टाचार र गरिबीविरुद्ध जेहाद छेड्ने चुनावी प्रतिबद्धता जाहेर
गरेका थिए भने सरकार र जनतामा आफ्नो पकड बलियो भएपछि नव-उदारवादी
पुँजीवादको विरोध र समाजवादी नीतिको पक्षमा वकालत गर्न थालेका थिए। र,
विदेश नीतिमा पनि अमेरिकी हस्तक्षेपविरुद्ध विस्तारै कडा अडान लिने क्रममा
उनले सन् २००१ पछि अमेरिकी आदेश नमान्ने देशका शासकलाई शैतान भन्ने
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुसलाई समेत 'शैतानहरूका बादशाह' भन्दै
हरेक हिसाबले टक्कर लिने आँट गरेका थिए।
किंवदन्तीका नायकको मतलव:
अमेरिकाको आँगनमै बसेर उससँग टक्कर लिने चाभेज ल्याटिन अमेरिकाका मात्रै
होइन, सिंगो विश्वका न्यायप्रेमीहरूका आशाको एउटा जिउँदोजाग्दो दियो बन्न
सक्नुका केही उल्लेखनीय कारण छन्। अध्येता स्टिभ इलेनरका अनुसार पहिलो कारण
हो, शान्तिपूर्ण र चुनावी मार्गमा पनि वर्चस्व कायम गर्न सक्नु। चे
ग्वेभारादेखि अबिमायल गुज्मानसम्मको छापामार युद्धको लामो इतिहास भएको
ल्याटिन अमेरिकामा चाभेजले सशस्त्र संघर्ष नराम्ररी विघटन भएको तथ्य देखेका
थिए। उनले शान्तिपूर्ण र चुनावी बाटोबाट वामपन्थी सरकार चलाएका समाजवादी
नेता डा. साल्भाडोर अलेन्देलाई सैनिक, मिडिया र पुँजीको बलमा सत्ताच्युत
गरिएको दृश्य पनि देखेकै थिए। यस्तो अवस्थामा सन् १९७० को दशकदेखि भुइँ
तहबाट उठेका विभिन्नखाले सामाजिक आन्दोलनको जगमा राजनीतिक दाबेदारी गर्ने
अभ्यासबाट बेसी पाठ सिकेरै उनी आफ्नो असफल विद्रोहपछि छापामार युद्धका लागि
जंगलतिर लागेनन्, बरु जनतालाई संगठित गरी चुनावबाटै केन्द्रीय सरकारमाथि
अधिकार जमाउने उद्योगमा लागिपरेका थिए। अतः उनले चुनावी मार्गबाट गएर
लोकतान्त्रिक विधिबाट सामाजिक रूपान्तरण गर्न पनि स्पष्ट चुनावी बहुमत
आवश्यक हुने तथ्यबोध राम्ररी नै गरेको देखिन्छ। त्यसकै छायाँ देखिन्छ, सन्
१९९८ देखि भएका लगभग दश पटकभन्दा बेसी निर्वाचनमा उनले ६० प्रतिशतभन्दा
बेसी मत प्राप्त गरेको तथ्यमा। सन् १९७० मा डा. अलेन्देले ३६ प्रतिशतमात्रै
मत प्राप्त गरी चिलीको राष्ट्रपतित्व सम्हाल्दा सामाजिक रूपान्तरणको काम
गर्न गाह्रो भएको र अन्ततः सैनिक विद्रोहपछि मारिनुपरेको तीतो सत्यलाई
भेनेजुयलामा नदोहोर्या उने उनको प्रयास उल्लेखनीय छ।
दोस्रो कारण हो, सामाजिक रूपान्तरणका लागि आमजनताको सक्रिय सहभागिता कायम
गर्नु। उनले चुनावमा आफ्नो पक्षमा मतदानका लागि वा अन्य काममा निष्त्रि्कय
समर्थनका जनपरिचालन गरेनन्, बरु सरकारले माथिबाट नीति-निर्णय गर्ने, तलबाट
सक्रिय जनपरिचालन गर्ने नीति अख्तियार गरे। उनले स्वार्थसिद्धिका लागि
जनतालाई उपयोग गर्ने पद्धति नअँगाली प्रत्येकजसो महŒवपूर्ण नीति-निर्णयमा
जतनाको सक्रिय सहभागिताको प्रणाली अँगाले। त्यस प्रणालीलाई संस्थागत गर्न
जनसहभागिता र सामाजिक विकास मन्त्रालय नै बनाए।
संविधान सभामार्फत् नयाँ लोकतान्त्रिक र रूपान्तरणमुखी संविधान लेखनदेखि
अन्य सामाजिक रूपान्तरणका काममा जनमत र उनीहरूको भोटको उपयोग उनले थालेको
सहभागितामूलक लोकतन्त्रले जति कमै तन्त्रले मात्रै गरे होला। त्यसमा पनि
जनतासँग सरोकार राख्ने कुनै पनि राजनीतिक, आर्थिक र सांस्कतिक मुद्दासँग
जोडिएका हजारौँ सामुदायिक संगठनको निर्माण गर्ने उनको खुबी उदाहरणीय छ। ती
मुद्दामा आमजनतासँग उनले गर्ने गहन र प्रेमपूर्ण संवादले पनि उनलाई
चामत्कारिक नेताका रूपमा स्थापित गरेको थियो।
तेस्रो कारण हो, ८० प्रतिशतभन्दा बेसी गरिखाने जनतालाई केन्द्रमा राखेर
सहभागितामूलक ढंगले बजेट निर्माण गर्ने र त्यस्तो बजेट लागु गर्दा पनि तिनै
जनताको नेतृत्व र सहभागिता हुने पद्धति र संस्कृति अँगाल्नु। यसरी
जनसहभागिताका आधारमा सरकार सञ्चालन र सरकारदेखि जनतासम्मले सामाजिक
रूपान्तरणको अगुवाइ गर्ने काम कममात्रै भएको हुनुपर्छ ।
'द भेनेजुयलन रिभोल्युसन' का लेखक रहेका ब्रिटिस मार्क्सवादी अलान वुड्सका
अनुसार जनतालाई हरेक हिसावले सत्तासीन गर्ने कामबाट उनी जनताको नायक भएको
देखिन्छ। यिनै काम, काम गर्ने आँट र भिन्न कार्यशैलीले उनलाई छोटो समयमा
जिउँदै किंवदन्तीका नायक बनाएको हुनसक्छ। जनताको जीवनमा फेरबदल गर्ने
तौरतरिका र तिनलाई लागु गरिछाड्ने दृढ इच्छाशक्तिले उनलाई दन्त्यकथाका नायक
बनाएको हुनसक्छ। शान्तिपूर्ण मार्गबाट भेनेजुयलाबासीको जीवन र जगत्मा
ल्याइएको रूपान्तरणको सूत्रधारका रूपमा उनको महŒव मृत्युपछि पनि कायम
रहनेछ।
नेपाल लगायत् दक्षिणी गोलार्द्धका मुलुकका लागि पनि नवउदारवादी
पुँजीवादविरुद्ध उभिने, २१औँ शताब्दीमा समाजवादको सपना देख्ने र आफू
बाँचिरहेसम्म देशभित्र सामाजिक रूपान्तरणको कुशल र साहसिक नेतृत्व गर्ने
नायकका रूपमा स्थापित भएका चाभेज र उनले थालेको रिभोल्युसनरी बोलिभारियन
मुभमेन्टको महŒवबोध गरिखाने जनतामा बढ्दो छ। चाभेजको देहान्तपछि उनले
थालेको क्रान्ति र उनीसँगै भेनेजुयलाका जनताले देखेको सपनाले निरन्तरता
पाएनन् भने तिनको संस्थागत रूप पाइनसकेको तथ्य बुझ्नुपर्ने हुन्छ। उनको
शवलाई पनि लेनिन र माओको शरीरलाई जस्तै स्मारक बनाएर सार्वजनिक प्रदर्शनमा
राखिछाड्ने वा अन्य कुनै पनि नाममा उनलाई देवत्वकरण गरियो भने
सांस्कृतिकरूपमा जनताको सशक्तीकरणको अभियान पनि बलवान भएको रहेनछ भन्ने
सत्य थाहा पाउनुपर्ने हुन्छ।
राजेन्द्र महर्जन
0 comments