निर्णायक वार्ता राष्ट्रपतिसंग: नेकपा माओवादी

दलहरुसंगको छलफलपछि निर्णायक वार्ता राष्ट्रपतिसंगै हुनुपर्ने सो दलको भनाइ छ।
उच्चस्तरीय
राजनीतिक संयन्त्रले चुनावको वातावरण निर्माण गर्न असन्तुष्ट दलहरुसंग
वार्ता गर्ने निर्णय गरे लगत्तै असन्तुष्ट मध्येको प्रमुख उक्त दलको सो
भनाइ आएको हो।
आह्वान
गत साता दलहरु तथा सरकारसंग वार्ता नगर्ने बरु
सोझै राष्ट्रपतिसंग कुराकानी गर्ने निर्णय गरेको वैद्य नेतृत्वको माओवादी
दलले चार प्रमुख राजनीतिक शक्ति संलग्न उच्चस्तरीय संयन्त्रको बैठकको
आव्हानलाई भने सोझै अस्वीकार गरेन।
माओवादी पार्टीकी प्रवक्ता पम्फा भुषालले भनिन्
“हाम्रा माग पूरा गर्ने गरेरपनि वार्ता त हुनसक्छ। खारेज गर्नका निम्तिपनि
वार्तामा बस्न सकिन्छ। होइन त्यो गर्न सकिन्न भन्छन् भने किन बस्ने? तर
त्यसमा छलफल गर्न सकिन्छ भन्छन् भने वार्तामा जान सकिन्छ।”
तर के प्रमुख राजनीतिक दलहरु सो विषयमा छलफल गर्न तयार होलान्?
त्यसबारे उच्चस्तरीय संयन्त्रको बिहीबारको बैठकमा
समेत उपस्थित एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने,
“वार्ताको टेबलमा बसिसकेपछि समाधान के हुन्छ भनेर खोज्ने कुरा हुन्छ। यदि
उहाँहरु संविधानसभाको अर्को निर्वाचनमा जाने नै हो भन्ने भयो भने त्यसमा
कसरी जान सकिन्छ भन्ने सहमतिको ढोका खुल्छ।”
छलफल
उक्त संयन्त्रले शुक्रबार वैद्य माओवादीलाई र
त्यसपछि उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम नेपाल र अशोक राई
नेतृत्वको संघीय समाजवादी पार्टीलाई छलफलमा बोलाएको छ।
यी पार्टीहरुले वर्तमान सरकारको विरोध गरिरहेका छन्।
वैद्य नेतृत्वको माओवादीले त चुनाव विथोल्न ठाउँठाउँमा मतदाता नामावली संकलनमै अवरोध पु-याएको थियो।
आफुलाई विश्वासमा लिएर गरिने चुनावमा मात्र भाग लिने सो दलको भनाइ छ।
त्यस्तो विश्वास बनाउन निर्णायक वार्ता राष्ट्रपतिसंगमात्र हुन सक्ने अडानमा सो दल अझै अडिग रहेको प्रवक्ता भुषालले बताईन्।
0 comments