संविधान बनाउन चुनाव गर्नु पर्दैन : बिप्लब

दमन गरे जनसत्ता ब्युँताउने चेतावनी-
नरहरि सापकोटा, गोरखा, चैत २५ - नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले संविधान निर्माण गर्नकै लागि फेरि पनि संविधान सभाको चुनाव आवश्यक नभएको बताएका छन्। वामपन्थी र प्रजातान्त्रिक दलहरुबीच सहमति हुने हो भने फेरि चुनाव गरेर लाखौँ रुपैयाँ खर्च गर्नुको औचित्य नभएको उनले बताए। 
उनले भने 'दलहरु मिल्ने हो भने संविधान बनाउनकै लागि फेरि पनि चुनाव आवश्यक छैन।'

नेकपा-माओवादी गोरखाले सदरमुकाममा शनिबार गरेको पत्रकार सम्मेलनमा चन्दले भने, 'दलहरु बीच सहमति हुने हो भने १० वर्षसम्म मिलेर सत्ता चलाउन सकिन्छ।'
एकीकृत नेकपा माओवादी, कांग्रेस एमालेले तत्कालीन अवस्थामा गरेको १२ बुँदे सम्झौता कार्यान्वयन नगर्दा देशले अहिलेको अवस्था भोग्नुपरेको उनले बताए। उनले भने 'प्रचण्डले गिरिजाप्रसाद कोइरालासँग गरेको सम्झौता बिर्से, सम्झौता कार्यन्वयनमा जोड दिनुपर्छ।'
जनीतिक दल र सबै राजनीति गर्नेहरु असफल नभई सिमित मान्छे मात्रै असफल भएको उनले बताए। 'प्रचण्ड, बाबुराम, झलनाथ र सुशील मात्रै असफल भएका हुन्, दल असफल भएका होइनन्' निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताउँदै उनले भने।

उनले आफूहरुलाई सरकारी निकायका विभिन्न पदमा राखेर राज्य सत्तामा पार्टीलाई समान हैसियत र समान अवसर दिनुपर्ने बताए। उनले भने 'रक्षा, भुमिसुधार, अर्थ जस्ता सरकारी निकायमा माओवादीको भाग समान हुनुपर्छ।' माओवादीले हार्‍यो भन्नेहरुले आफुहरुमाथि दमन गरे बन्दुक उठाएर देखाइदिने चेतावनी दिए। माओवादीहरुमाथि लागेको मुद्दा खारेज नभए जन अदालत ब्यूँझाएर फैसला गर्ने उनले बताए।

माओवादीले एकलौटी जनवादी ब्यवस्था लागु गर्न चाहेको बताउँदै उनले भने 'हामीलाई समान हैसियत दिइएन भने निर्वाचन हुँदैन।' मुलुक अकल्पनीय परिस्थितितर्फ धकेलिएको बताउँदै उनले भने 'हामीमाथि दमन भयो भने जनसत्ता ब्युँझन्छ र दुईवटा सत्ता हुन्छ।'
राजनीतिक दलहरुले आफ्नो दोष पन्छाउन प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाएको चन्दले आरोप लगाए।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates