प्रचण्ड भोट माग्दै आए सद्दे फर्किन गाह्रो हुनेछ : गजुरेल

झापा – नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले 'चार दलीय सिण्डिकेट'को नेतृत्वमा तयारी हुँदै गरेको संविधानसभा चुनाव आफ्नो पार्टीले जनविद्रोह मार्फत विफल पारिदिने बताएका छन्। एमाओवादी नेतृत्वमा भएका सम्पूर्ण 'राष्ट्रघाती कामहरुको अनुमोदनका लागि' चुनावी नौटंकी हुन लागेको दाबी गर्दै गजुरेलले त्यसको प्रतिवादमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन्।
मजदुर दिवसको अवसर पारेर पार्टीले विर्तामोडमा आयोजना गरेको जनसभालाई आज सम्बोधन गर्दै उनले जनविद्रोहको तयारी शुरु भइसकेको दाबी गरे। 'चुनाव बहिष्कार मात्रै गर्ने होइन', उनले भने, 'जनविद्रोह पनि गर्ने हो। त्यसका लागि अनुकूल समय आएको छ।' तत्कालै हतियारको लडाँई नलड्ने बताएका उनले जनविद्रोहको स्वरुप बारे भने केही बताएनन्। 
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल चुनावमा भोट माग्न आए खुट्टा भाँचिदिन उनले कार्यकर्तालाई उक्साए। 'यो चुनाव कुनै हालतमा हुन दिनेछैनौं', एमाओवादीप्रति आक्रामक बनेका गजुरेलले भने, 'यदि प्रचण्ड हामीले बहिष्कार गर्ने चुनावमा भोट माग्दै आए भने हातखुट्टा सद्दे लिएर फर्किन गाह्रो हुनेछ।' आफु लगायत ३३ दलले दल दर्ता प्रक्रियामा भाग नलिएर प्रष्ट रुपमा चुनाव वहिष्कारको बाटो रोजेको बताउँदै उनले थपे, 'असारमा घोषित चुनाव हामीले नै हुन नदिएका हौं। अब मंसिरमा पनि हुन दिंदैनौं। आजदेखि त्यसको तयारीमा लाग्यौं।' 
क्रान्तिका एजेण्डाहरु त्यागेको र जनमुक्ति सेनाको नियोजित विघटन गरेको लगायतका आरोप लगाउँदै एमाओवादीबाट अलग भएको ड्यास माओवादीले प्रचण्डलाई 'लेण्डुप दोर्जे' को रुपमा किटान गरेको गजुरेलको भनाई थियो। 'बाबुरामले गरेको बिप्पा सम्झौता अनुमोदन गर्न र प्रचण्डले सीमाका बारेमा गर्ने भनेको जनमत संग्रहको मुद्दा ब्यूताउँन चुनावको नाटक हुँदैछ', उनले भने, 'यो दिल्लीको निर्देशनमा भइरहेको छ। विदेशी इच्छामा आधारित चुनाव नेपाली जनताले बहिष्कार गर्छन्।' विदेशीलाई नागरिकता वितरण गरेर फिजीकरण र दिल्लीमा लम्पसार परेर भुटानीकरण गर्ने ताकमा प्रचण्ड लागेको गजुरेलको आरोप थियो।
अब गर्ने भनिएको चुनाव गाविसको जस्तो हलुका विषय नभएको र संविधानसभाको निर्वाचन एक पटकभन्दा बढी कहीँ नभएको बताउँदै कतै नभएको नाटक नेपालमा गर्न चार दल लागेको उनको आरोप थियो। 'चुनावमार्फत संविधान नबन्ने प्रष्ट रुपमा देखियो', उनको कथन थियो 'अब फेरि पनि चुनाव गरेर संविधान बन्छ भन्नु अहिलेको निरंकुशता निरन्तरता दिने चाल मात्रै हो। अब आन्दोलन हुन्छ , त्यसपछि त्यसैको बलमा संविधान बन्छ।'

अरुले आशंका गरेजस्तो नेकपा–माओवादी हतियार बोकेर जंगल नजाने उनले बताए। 'तपाईहरु ढुक्क हुनोस् हामी हतियार बोकेर जंगल जाँदैनौं', गजुरेलले आश्वस्त पार्दै भने 'त्यो अन्तिम विकल्प हो। अहिले हामीसँग क्रान्तिका अनेकौं विकल्प छन्। ' आफ्नो क्रान्ति सफल भएपछि चार दलीय सिण्डीकेटका नेताहरुले जंगल भासिनुपर्ने उनले चेतावनी दिए।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates