निसर्त वार्तामा जाँदैनौं : गुरुङ

इलाम- नेकपा–माओवादीका सचिव देव गुरुङले आफ्नो पार्टी सहमतिका लागि निसर्त वार्तामा नबस्ने बताएका छन्। उनले वर्तमान चुनावी प्रक्रिया र मतदाता नामावली संकलन रोकेमात्रै एमाओवादी, कांग्रेसलगायतका दलहरुसँग वार्तामा जाने बताए।
‘निष्कर्षहीन वार्तामा हामी बस्दैनौं’ सचिव गुरुङले भने ‘सहमतिका लागि यी दूई प्रक्रिया रोक्नुपर्छ र २५ बुँदे सहमति खारेज गर्नुपर्छ।’ उनले विदेशीलाई ह्‍वारह्‍वार्ती नागरिकता बाँडेर सरकारले नै चुनावको वातावरण बिथोलिरहेको आरोप लगाए। राष्ट्रिय युवा जनस्वयम्सेवकको प्रथम जिल्ला अधिवेशन उद्‍घाटन गर्दै उनले गाउँ–गाउँमा फोटोसहितको मतदाता परिचय पत्र वितरणले राष्ट्रिय अस्तित्व नै ध्वस्त पार्न खोजेको आरोप लगाए। उनले भने ‘नागरिकता विधेयक खारेज गरी पुरानै व्यवस्थाअनुसारको कायम गर्नुपर्छ।’

ठूला भनिएका चार दलले विदेशीको इशारामा देशका सबै अङ्गहरु सिध्याएर अब सुरक्षा निकायमा आक्रमण गर्न खोजिरहेको उनले आरोप लगाए। गुरुङले भने,‘न्यायपालिका सिध्याए, कार्यपालिका पनि निर्दलीय व्यवस्थातिर लगेर सिध्याए, अब प्रहरी र सेना उनीहरुले ताकिरहेका छन्।’

उनले नेकपा–माओवादी चुनावको विपक्षमा नरहेको भन्दै सबैको सहमतिबाट मात्रै संविधानसभा चुनाव गराउनुपर्ने बताए। उनले थपे, ‘कांग्रेस, एमाओवादी, एमाले र मधेसी मोर्चा न अन्तरिम संविधानअनुसार चले, न सबैको सहमति लिए। यो व्यवहारले देश चल्दैन। चुनाव पनि हुँदैन।’

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates