यसरी पल्टियो शीतलनिवास

sital niwasकाठमाडौं, वैशाख २६ - प्रमुख चार दलबीच सहमति नभएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति मंगलबार रातिसम्म रोकेका राष्ट्रपति रामवरण यादवले दलीय सहमति नहुँदै बुधबार सबेरै उनलाई शपथ खुवाएका छन् । राष्ट्रपतिले रातारात निर्णय फेर्नुका पछाडि बाह्य शक्तिकेन्द्र र घरेलु स्वार्थ समूहको दबाब रहेको सम्बद्ध उच्च स्रोतले जनाएको छ ।
संवैधानिक परिषद्ले आइतबार कार्कीलगायतको नियुक्तिका लागि गरेको सिफारिस तीन दिनसम्म रोकेका यादवले दबाब खेप्न नसकेपछि बुधबार अनुमोदन गरेका हुन् । स्रोतका अनुसार मन्त्रिपरिषद् अध्यक्षको निजी निवास बालुवाटार र राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार रातभर भएको स्वार्थ समूहको चलखेलपछि राष्ट्रपति गलेका थिए ।
राष्ट्रपति यादवले मंगलबार मध्यरातमै कार्की नियुक्तिको निर्णय लिएका हुन् । त्यसलगत्तै उनले आफ्नो निवासका कर्मचारीलाई कार्कीलगायतको शपथको तयारी गर्न निर्देशन दिएका थिए । निर्देशनपछि कर्मचारीहरू बिहान ५ बजे नै शीतलनिवास पुगी शपथको तयारी गरेका थिए । कर्मचारीहरूले कार्कीलाई बिहान सवा ५ बजे नै टेलिफोन गरी ९ बजे शपथ लिन बोलाएका थिए ।
बालुवाटारमा मंगलबार साँझ मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित प्रमुख चार दलका नेताबीच यस विषयमा छलफल भएको थियो । एमालेले राष्ट्रपतिसमक्ष लिखित जानकारी दिएर र कांग्रेस सभापतिले मौखिक रूपमा निर्णय बदल्नुपर्ने जनाएपछि रेग्मीसहित एमाओवादी र मधेसी मोर्चाका नेताले कार्की नियुक्तिका निम्ति राष्ट्रपतिलाई दबाब दिएका थिए । त्यसअघि दिउँसो राष्ट्रपतिलाई भेटी रेग्मीले नियुक्तिको आग्रह गरेका थिए । राष्ट्रपतिलगायतकै अनुरोधमा सरकारको नेतृत्व गर्न तयार भएको उल्लेख गर्दै रेग्मीले नियुक्ति सदर नभए काम गर्न नसक्ने चेतावनीसमेत दिएको स्रोतले उल्लेख गर्‍यो ।
पछिल्लो समय कार्की नियुक्तिविरुद्ध संस्थागत निर्णय गरेको एमाले र नियुक्ति सिफारिसप्रति असन्तुष्ट सुशील कोइरालामाथि ठूलो दबाब सिर्जना गरिएको थियो । एमाओवादीभित्र कार्की सिफारिसको विरोध गरिरहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार राजनीतिक समितिको बैठकमा कोइरालालाई कांग्रेस महामन्त्री कृष्ण सिटौलाले 'हप्काएका समेत थिए ।'
'बाह्य शक्तिको दबाबमा रेग्मीको नियुक्ति भएको हो । राष्ट्रहितलाई केन्द्रमा राख्ने, विदेशीको दलाली नगर्ने र लोकतन्त्रवादीको घाँटीमा सधैं तरबार झुन्ड्याएर आफ्नो वशमा पार्ने उद्देश्यले कार्कीलाई अख्तियार प्रमुख बनाइएको हो,' नेता श्रेष्ठले भने, 'विडम्बना, प्रतिगमनका लागि रचिएको ग्य्रान्ड डिजाइनमा हाम्रा साथीहरूसमेत फसे ।'
मंगलबार राति १० बजेसम्म आफ्ना सल्लाहकारमार्फत कार्की नियुक्तिको सिफारिस पुनर्विचार गर्न फिर्ता पठाइने अनौपचारिक सन्देश दिइरहेका राष्ट्रपति यादवले मध्यरात नियुक्ति सदर गर्ने निर्णय लिएका थिए । स्रोतका अनुसार निर्णयका लागि दबाब दिन भारतबाट एक उच्च कूटनीतिक कर्मचारीको फोन आएको थियो भने बिचौलियाका रूपमा कांग्रेसका पूर्वसभासद अमरेशकुमार सिंह मंगलबार रातभर खटेका थिए ।
एमाले नेता प्रदीप नेपालले रेग्मीलाई सरकारको नेतृत्व सुम्पनु नै उल्टो पाइलाको पहिलो कदम भएको बताए । 'लोकमान दोस्रो कदम हुन् । यस्ता धेरै बेथिति भोग्नै बाँकी छ,' उनले भने । गोठालो पाएपछि विदेशी शक्तिले कजाउनु स्वाभाविक भएको उनको भनाइ थियो । राष्ट्रपतिले कार्की नियुक्तिबारे विवाद सिर्जना भएको भन्दै छलफलका लागि मंगलबार दिउँसो चारवटै राजनीतिक शक्तिका नेतालाई बोलाएका थिए । तर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले कार्की नियुक्तिबारे छलफल आवश्यक नभएको भन्दै राष्ट्रपतिले संवैधानिक परिषद्को निर्णय कार्यान्वयन गरेपछि मात्र अन्य विषयमा छलफलका लागि भेट्न सकिने जवाफ दिएका थिए । कांग्रेस सभापति कोइराला पनि राष्ट्रपति कार्यालय गएनन् । राष्ट्रपति कार्यालय पुगेका एमाले अध्यक्ष झलनाथ खनालले पनि स्पष्ट अडान नलिएपछि राष्ट्रपति अलमलमा परेका थिए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates