कुन-कुन लडाकुले देश छाडे ?
ज्यामरुङ, धादिङका हरि नेपाली पढ्दापढ्दै ०५७ बाट अखिल
क्रान्तिकारी बने । एसएलसी सकेर पोखरा इन्जिनियरिङ क्याम्पस पढ्न थालेपछि दोस्रो
वार्ताकालको सुरुवाततिरबाट उनमा राजनीतिक जोस झनै बढ्यो । अनि पढ्दापढ्दै पार्टीमा
पनि जोडिएर काम गर्न थाले ।
कास्कीमा तत्कालीन माओवादी
एरिया सदस्यको जिम्मेवारी सम्हाल्दै पूर्णकालीन बने । पार्टीले वासु स्मृति चौथो
बि्रगेडअन्तर्गत १२ नम्बर बटालियनमा कम्पनी रनरका रूपमा खटायो, अनि सेक्सन भिसी । ०६१/६२ मा जिल्ला
विद्यार्थीसँगै पार्टी र जनमुक्ति सेनाबीच को-अर्डिनेट गर्नेगरी सहरभित्र छापामार
कारबाहीका लागि एसटिएफ -स्पेसल टास्कफोर्स) मा खटाइए । त्यस क्रममा बेनी मोर्चा, कास्की लेखनाथको डाँडाको नाक प्रहरी चौकीमा
कमान्डो आक्रमण अनि कृष्णभीरको पहिलो आक्रमणअन्तर्गत एरिया एम्बुस आदिमा अग्रणी
भूमिका निभाए । पछि जिल्ला सदस्य भएर पनि काम गरे । मनऋषि धितालबाट पाएको तालिमका
आधारमा गण्डक क्षेत्रबाट युद्ध संवाददाताका रूपमा समेत काम गर्थे ।
शान्ति-सम्झौताअनुसार जनमुक्ति सेनाको सम्मानजनक समायोजन नभएको महसुस गर्दै
स्वेच्छिक अवकाश लिए । त्यसपछि खाडीतिर भासिए । डिजाइनर भई चार वर्ष काम गरे । ०६८
सालमा कतार छाडी घर फर्केका उनले पार्टी झन् संशोधनवादी भएको र स्वदेशमा बसेर खासै
केही नहुने ठहर गरी फेरि बिदेसिने मुड बनाए । जसअनुसार हाल कतारमा गरेजस्तै काममा
युएईमा छन् । एमाओवादी पार्टी संशोधनवादी भएको ठहर गरी हाल वैद्य समूहतिर लागेका
छन् ।
संखुवासभाका दीपक विष्ट -विवेक) जनयुद्धमा संखुवासभाबाट पहिलो सहिद बनेका किरण विष्टका सहोदर भाइ हुन्, समानुपातिकबाट सभासद् बनेकी उमा विष्ट उनकी भाउजू । दाइ किरणलाई सल्लेरी हानेर आएपछि गोपेटार भिडन्तका लडाकुको व्यवस्थापनमा गएका बेला सेनाले मारेको थियो । दाइको सहादतपछि ०५७ बाट पूर्णकालीन कार्यकर्ता बने । जस क्रममा राजेन्द्र किराती -प्रवेश) कमान्डर र पछि भगौडा बनेका सन्देश भाइस कमान्डर रहेको ७ जिल्ला हेर्ने स्पेसल टास्कफोर्समा सदस्य रहेर काम गरे । त्यति मात्र होइन, उक्त एसटिएफमा फर्मेसनको तेस्रो पोजिसन एफजिएफ -फुल कमान्ड लिडर) भएर पनि काम सम्हाले । सुरुतिरै तेह्रथुम पोक्लावाङ, संखुवासभा नुनढाकी, पाँचथर गोपेटार, पशुपतिनगर चैनपुर र सोलु सल्लेरीजस्ता मोर्चामा सामेल भए । सोलु भिडन्तपछि ०६० तिर परवाना डिभिजन कमान्डर हुँदा तेस्रो डिभिजनअन्तर्गत छैटौँ बटालियन, सोलु-सल्लेरी बि्रगेड बी कम्पनीमा कम्पनी कमान्डर भएरसमेत काम गरे । सल्लेरी मोर्चापछि सेनाको हेलिकोप्टरले सर्च गर्दा ज्यान जोगाउन तीनवटा बन्दुकसहित झोलाको चाउचाउको भरमा सम्पर्कविहीन भई जंगलमा बसेको क्षण र गोपेटार भिडन्तको पराजयपूर्ण लडाइँलाई अविस्मरणीय बताउने बिष्ट जनसेनालाई अपमानपूर्णरूपमा बेचिएपछि मन कुँडिएर बिदेसिएको सुनाउँछन् । जनसेनाबाट फिर्ता गरेर वाइसिएलको जिल्ला सदस्य बनाएपछि पनि राजनीतिमै सक्रिय उनलाई वाइसिएल पनि विघटन गरिएपछि पार्टीले घाइते, बेपत्ता र सहिदलाई बिर्सिएको महसुस भयो । देशमा बस्न मन नलागेर बिदेसिएको बताउने उनी १० महिनादेखि कुबेतमा १२ घन्टे ड्युटीवाला सेक्युरिटीमा काम गर्छन् । पछिल्लो समय पार्टीले जनसेनामा नाम दर्ता नगरिदिएका कारण सहिद परिवारका उनले जनसेनाको नाताले पाउने कुनै पनि सुविधा पाएनछन् । हरिजस्तै उनी पनि एमाओवादी संशोधनवादी भएको निष्कर्षमा पुगेका छन् ।
त्यसो त सोलु-सल्लेरीमा दीपक
सँगसँगै मोर्चा लडेका भोजपुरका कमल राई पनि केही वर्षयता पार्टीबाट भागेर
रोजगारीको सिलसिलामा कुबेतमै होटलको काममा छन् । रोल्पा घर बताउने पूर्वजनसेना
मस्त बिक कुबेतमै काम गरिरहेका छन् । काभ्रेका गजेंन तामाङ ८ वर्ष जनयुद्धमा हिँडे, आमूल परिवर्तन हुने आशमा जनमुक्ति सेना भएर ।
५/७ वटा ठूला भिडन्तमा लडेको बताउने उनी कम्पनी कमान्डर थिए । स्वैच्छिक अवकाशका
क्रममा सेनाबाट अलग्गिएका लज्जालु स्वभावका उनी वैदेशिक रोजगारीको सिलसिलामा
मलेसियामा छन् । अनि सहिद परिवारकै बताइएका म्याग्दी बेनीतिरका पूर्वलडाकु कुमार
पुन पनि अवकाशपछि ३ वर्षदेखि कुबेतमै छन् । एक्लै होइन, श्रीमतीसहित । जनयुद्धदेखि नै सँगै हिँडेका
पति/पत्नी दुवै जना युएइ आउनुअघि नै जनसेनाबाट अलग्गिएका थिए । स्वेच्छिक अवकाश
लिएका काभ्रेका ईश्वर घिमिरे -प्रलय) अबुधाबीमा छन् । पूर्वजनसेना रोल्पाका दीपक
बूढा पनि यतै छन् । अर्का पूर्वजनसेना कमल पोखरेल दुबईमा छन् । रुकुमका छक बुढा
पनि खाडीमै मजदुरी गर्छन् ।
त्यसो त ०५८ देखि माओवादी
राजनीतिमा छिर्दै ०६२ साउनबाट जनसेना बनेका तेस्रो डिभिजन, जनसैन्य अस्पतालमा स्वास्थ्य प्राविधिक पूर्व
प्लाटुन कमान्डर सिन्धुपाल्चोकका दीपक घिमिरे -हिमाल) पनि केही समयदेखि अवुधाबीमा
छन् । मकवानपुर फापरबारी, पनौती, चरिकोट, सिन्धुपाल्चोक ठोकर्पा, दारेगौंडा र चौतारा आदि मोर्चामा भिडेका र जिरी
भिडन्तमा घाइतेसमेत बनेका घिमिरे स्वैच्छिक अवकाश लिएर जनसेनाबाट अलग्गिएका थिए ।
नेपालमा पेटका लागि राजनीति गर्ने चलन बढ्दै गएकामा पिरलो मान्ने घिमिरे जनयुद्ध
हुँदै प्रचण्ड नेतृत्वको पार्टीले लिएको लाइन तथा राजनीतिक अवस्थाप्रति त्यति
असन्तुष्ट छैनन् तर पार्टीमा अवसरवादी चरित्र हाबी भएको संकेत गर्दै भन्छन्, 'केपी ओलीका सहकर्मीले उनीहरूसँगै सहयोग माग्दा
नपाएर जसरी बल्खुमा झुन्डिनुपर्यो, इमानदार कार्यकर्ताको भोलि माओवादीमा पनि त्यही
हविगत हुन सक्छ ।' नेपालमा श्रमको मूल्य नपाएर
बिदेसिएको उनी बताउँछन् ।
उदयपुरका कमरेड ज्वाला
दोस्रो डिभिजन, सिन्धुलीबाट स्वैच्छिक अवकाश
रोजेर मलेसिया गए । काम थियो, पानासोनिक कम्पनीको सुरक्षा गार्डमा । अनुभवमा लेखिएको
पिएलएको अर्थ सोधे हाकिमले एकदिन । माओवादीको जनमुक्ति सेना भन्न नभ्याउँदै उनको
काम धरापमा पर्यो । त्यहाँ काम थालेको महिना दिनमै नेपाल फिर्ता पठाइए ।
पूर्वजनसेनाका रूपमा बिदेसिएका धेरैलाई त विदेशमा रोजगारीका लागि हाइसन्चो नै छ तर
कतिपय कमरेड बिदेसिएपछिका कामका कथा-व्यथा सामान्य मात्र होइन, असामान्य र दुःखद पनि छन् । एउटा रमाइलो त के
भेटियो भने क्यान्टोन्मेन्टमा बस्दा पनि पार्टीलाई थाहा दिएरै जनसेनाहरू बिदेसिने
गरेका रहेछन्, सरकारबाट आउने भत्ता पार्टी
र परिवारले लिने चलन रहेछ । तीन/चार वर्षअघि १५/२० जना छापामार एकसाथ आएको बताउने
एक लडाकुलाई कतारमा भेटेको हाल दुबईमा रहेका दाङका जगत् आचार्य बताउँछन् । यसरी
हिजो जनयुद्धकालमा विदेशीको दलाल र गुलाम बनेको भन्दै खाडीतिर जानुअघि र र्फकनासाथ
जरिवाना असुल्ने र तर्साउने जनसेना र कार्यकर्ता पार्टीको क्रान्तिकारी धार भुत्ते
हुँदै गएसँगै विदेशतिर पलायन हुनेहरू त कति छन् कति । तैपनि यो क्रम उर्लंदो छ तर
तिनकोबारे पार्टीलाई न कुनै भेउ छ, न त खास आँकडा नै छ ।
- अम्बिका भण्डारी
0 comments