लचक भयौं भन्नाको अर्थ छैन : वैद्य

काठमाडौं- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले २५ बुँदे बाधा अड्काउ आदेश खारेज नगरेसम्म सरकार र चार दलले लचक भएको भन्नुको कुनै अर्थ नभएको बताएका छन्। अनेरास्ववियु (क्रान्तिकारी)द्वारा आयोजित 'सार्वजनिक विद्यालयको स्तर उन्नतिका साथै उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई अभिनन्दन' विषयको कार्यक्रममा अध्यक्ष वैद्यले भने, “दलीय सरकार बनाउने र २५ बुँदे बाधा अड्काउ खारेज नगरी अन्य विषयमा मात्र सहमति गरौं भन्नु हामीलाई मान्य छैन, लचिलो हुने हो भने ती विषयमा उनीहरु सहमत हुनुपर्छ।”
उनले गोलमेच सभा गरी राष्ट्रिय सहमतिको सरकार बनाउने मागको सुनुवाइ नगरी जबर्जस्ती चुनाव गर्न खोजे त्यसको प्रतिकार गरिने बताए। अध्यक्ष वैद्यले निजी विद्यालयलाई साथ लिएर समुदायिक विद्यालयलाई सरकारले उपेक्षा गरेको आरोप लगाउँदै शैक्षिक क्षेत्रमा नयाँ रुपान्तरण तथा सामाजिक, सांस्कृतिक तथा आर्थिक दिशातर्फ उन्मुख हुने शिक्षा नीति अहिलेको आवश्यकता रहेको औंल्याए।
काठमाडौंका जिल्ला शिक्षा अधिकारी वैकुण्ठ अर्यालले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु र संस्थागत विद्यालयमा बढ्दै जानु तथा राजनीतिक दलका भ्रातृ संस्थाको बन्दहडताल, अन्दोलन र हस्तक्षेप, विद्यालयको नियमित अनुगमन नहुनु जस्ता कारणले प्रवेशिका परीक्षाको नतिजामा असर परेको बताए।
उनले स्वावलम्बी, राष्ट्र र राष्ट्रियताप्रति बफादार तथा कला, भाषा, साहित्य, संस्कृतिको आत्मसात् गर्ने जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको अहिलेको आवश्यकता रहेको बताए।
पद्मोदय उच्चमावि ललितपुरका प्रधानाध्यापक विजयलक्ष्मी श्रेष्ठले अभिभावक, विद्यार्थी र शिक्षकबीच त्रिकोणात्मक सम्बन्ध राम्रो भए नतिजा पनि उत्कृष्ट आउने विचार व्यक्त गरे। त्रिपद्म उच्चमावि ललितपुरका प्रधानाध्याप टीकाराम तिमल्सिनाले दरबन्दीअनुसार विषयगत शिक्षक नियुक्ति नहुँदा प्रवेशिका परीक्षाको नतिजा खस्किँदै गएको बताए।
सिरुटार मावि भक्तपुरका प्रअ नारायणप्रसाद पोखरेलले निष्पक्ष रुपमा शिक्षक छनोट गरी विद्यालयमा शैक्षिक पूर्वाधार पनि विकास गर्नुपर्ने बताए। ज्ञानोदय माविका प्राचार्य धनञ्जय शर्माले शिक्षक विद्यालयमा नियमित उपस्थित नहुनाले शैक्षिक गुणस्तर कम भएको औंल्याए।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates