नेकपा-माओवादीको गठवन्धनलाई ‘भनेजस्तै’ पत्र

उच्चस्तरीय राजनीतिक समितिले नेकपा-माओवादी नेतृत्वको गठवन्धनलाई वार्तामा आउन आग्रह गर्दै तेस्रो पटक पत्र पठाउने निर्णय गरेको छ । समितिको कार्यालय बानेश्वरमा बसेको बैठकले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय गठवन्धनलाई वार्तामा आउन आग्रह गर्दै फेरी पत्र पठाउने निर्णय गरेको हो ।
समितिले पहिलो पटक पठाएको पत्रलाई गठवन्धनले ‘सर्तसहितको’ भन्दै अस्वीकार गरेको थियो भने दोस्रो पत्रमा ‘चर्चामा रहेका ३३ दल’ भनेर अस्तित्व अस्वीकार गरेको भन्दै वार्तामा नजाने निर्णय गरेको थियो । ३३ दलीय गठवन्धनले दुईपटक वार्ता अस्विकार गरेपछि समितिले ‘उनीहरुले भनेजस्तै’ गरि पत्र पठाउने निर्णय गरेको हो ।
बैठकपछि एकिकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने,‘मोहन बैद्य किरणले नेतृत्व गर्नुभएको नेकपा—माओवादी र त्यससँग सम्बद्ध भनिएको ३३ दलीय मोर्चालाई अर्को तेस्रो पटक पत्र लेख्ने निर्णय गरेका छौं, त्यो पत्र उहाँहरुले छलफलका क्रममा व्यक्त गरेको भावनालाई समेटेर लेखेका छौं । ’
नेकपा एमालेका नेता रघु पन्तले नेकपा—माओवादी नेतृत्वको गठवन्धनसँग निःसर्त वार्ता गर्ने भनेको भन्दै फेरी उहाँहरुको भवनालाई समेट्ने गरि पत्र पठाउने निर्णय गरेको जानकारी दिए ।
उनले भने,‘ उहाँहरुले चिठीको  भाषा अलि मिलेन भनेको हुँनाले आजको बैठकले उहाँहरुले जस्तो खोजको हो, त्यसरी गरि निःसर्त वार्ता गर्ने हो, त्यसैलाई ध्यानमा राखेर वार्ताको लागि चिठी पठाउने निर्णय गरेको छौं ।’ समितिले अन्य विपक्षमा रहेका दलहरुको छलफललाई पनि तिब्रता दिने निर्णय गरेको छ । समितिमा रहेका दलहरुले नेकपा-माओवादी, मधेशी जनअधिकार फोरम नेपाल, संघीय समाजवादी पार्टीसँग हिजो र आज छलफल गरेका थिए ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates