पोल खोलाखोल गर्ने कि !
- लेखनाथ न्यौपाने
जनयुद्धबाट आएको माओवादी औपचारिक
रूपमा चार चिरामा विभक्त भइसकेको छ र अझ कति चिरामा चिरिँदै जाने हो? मातृका यादव र मणि थापाले अगुवाइ गरेको पार्टी कसरी गुज्रिएको छ कुन्नि?
तर बाँकी दुइटा माओवादी (एमाओवादी र नेकपा-माओवादी) पार्टी भने
आन्तरिक कलहको कालज्वरोबाट थिल्थिलो भएका छन्।
एमाओवादीभित्र घोषित तीन र अघोषित
अनगिन्ती गुटबीचको स्वार्थी खेलले आफैंलाई समेत विघटन गर्दै लगेको छ। योभन्दा बढी
विघटन दुई गुटमा गुजुल्टिएको क्रान्तिकारी भनिएको ड्यास माओवादीले निम्त्याउँदै छ।
यो विघटनले सपनाहरूको सामूहिक हत्या गर्दैछ। जीवनमा सपनाको हत्या देखिएपछि 'कसका खुँडा र तरबारद्वारा जीवनको हत्या भयो' भनेर
पोल नखोली नहुने नै देखियो।
सबै पार्टीमा जस्तै क्रान्तिकारी
कम्युनिस्ट पार्टीमा पनि पद र योग्यता निर्धारण गर्ने र माथिल्लो पदमा नभएकाले
बहसमा खास भाग लिन नपाउने परिपाटीका कारण हामी टुक्रिँदै र चाउरिँदै आएका छौं।
यसैको परिणाम काला कोठामा धेरै
गैरक्रान्तिकारी (रूपमा वाम, सारमा दक्षिण) हर्कत हुँदै आए।
यसकारण क्रान्तिसँगै ड्यास माओवादीको टाउकोमा बस्ने पाँच (किरण, गौरव, बादल, देव र विप्लव) जना
श्रीपेचधारी कामरेडले एकअर्काको पोल खोल्ने हिम्मत गर्नैपर्छ, अन्यथा न रह्यो बाँस न बन्यो बाँसुरीको स्थिति आउँदैछ।
आज हामी जुन विघटनको उत्कर्षमा
आइपुगेका छौं,
यसको औपचारिक जग चुनवाङ हो। यद्यपि चुनवाङ ठीक थियो, त्यसपछिका स्टेपहरू बेठिक भए भन्ने तर्क पनि हामीभित्र आइरहेकै छन्। यो
सिद्धान्तबाट चिप्लिएको व्यवहारवादी तर्क हो जस्तो लाग्छ। यसको अर्को पाटो
चुनवाङको निर्णय नै आजको विघटनको मूल कारण हो भन्ने मत पनि आएको छ।
अब तपाइँहरू पाँचैजनाले विलम्ब नगरी
भनिदिनुपर्यो कि चुनवाङबारेको विपरीत मतमध्ये तपाइँ हरेकको मत के थियो? खासमा त्यहाँ जुन कलात्मक नाटक प्रदर्शन भयो त्यसमा तपाइँ पाँचजनाको मत र
भूमिका के थियो?
आजका अध्यक्ष र उपाध्यक्ष भारतीय
जेलमा भएकोले चुनवाङ प्रसंगमा तपाइँ दुईजनालाई छुट दिन सकिएला तर बाँकी तीनजना
(बादल,
देव गुरुङ र नेत्रविक्रम) को प्रचण्ड-बाबुरामप्रतिको मत, संघर्ष र समर्पण कस्तो रह्यो? अब पनि आफ्नो भण्डाफोर
आफैंले गर्नुभएन भने तपाइँहरू नेता हुन सक्नुहुन्न मात्रै होइन, हामी तपाइँहरूको भण्डाफोर अभियान चलाउन बाध्य हुनेछौं।
एमाओवादी पूरै उतैको लाइनमा हिँड्न
थालेपछि उससँग सम्बन्ध-बिच्छेध गरेर 'नयाँ जनवादी
क्रान्ति' पूरा गर्ने उद्देश्यमा माओवादी बनाउने अभियानको
नेतृत्व तपाइँ पाँचजनाले गर्नुभयो र त श्रीपेच लगाउने ठाउँमा पुग्नुभयो। श्रीपेचै
लगाए पनि तपाइँहरूले भनेको विषय सापेक्षित सही लागेर हामी कैयन् पछि लाग्यौं।
तपाइँहरूले मसिनोसँग विषय र प्रसंग
बुझाएर हामी सहमत भयौं र लाग्यौं भन्ने होइन। पार्टी विभाजन गर्दा वा अर्को पार्टीसँग
एकता गर्दा तपाइँभन्दा पछिको पुस्तालाई औपचारिकताको लागिसमेत न छलफल गर्नुभयो न यो
पुस्ताले भनेकै आधारमा एकता वा विभाजन गर्नुभयो।
सबैमा तपाइँहरूकै मर्जी
भयो। कम्युनिस्ट पार्टीमा निर्णायक विषय र मोडमा तल गएर छलफल गर्ने र सही सुझाव वा
तर्क आएमा स्वीकार गर्ने संस्कारै भएन। आज पनि तपाइँहरू त्यही मर्जीको संस्कार
दोहो:याउँदै हुनुहुन्छ।
त्यतिबेला तपाइँहरूका बीचमा के विषय
र कुन स्पिरिटमा छलफल भएको थियो? क्रान्तिकारी देखिन (क्रान्ति
पूरा गर्न होइन) वा हतारमा युद्ध सुरु गरिहाल्ने वा अलिकति घुमेर फेरि सत्ता साझेदारीमा
फर्कने अथवा प्रचण्ड-बाबुरामको सेखी झार्न मात्र।
मुलुक र जनतासामु तपाइँहरूले
इमानदारीपूर्वक राख्नैपर्छ, अन्यथा तपाइँहरूलाई पाखण्डी
भनेर किटानी गर्नुपर्छ किनकि क्रान्ति न हतारोको हतासो हो न त समय र युवामाथिको
खेलबाड नै। यो त आम जीवन र भविष्य फैसला गर्ने चासो र सरोकारको विषय हो। तपाइँ
एकाधको मात्र ठेक्का होइन।
पार्टी दक्षिणपन्थी भयो, क्रान्तिको झन्डा निरन्तर उठाउने भन्नुको अर्थ अर्को त्यस्तै गल्ती गर्ने
होइन। नयाँ पार्टी बनेकै भोलिपल्टदेखि हिजोको जस्तै लडाइँ (सशस्त्र संघर्ष) मा
गइन्छ भनेर कार्यकर्तालाई उत्साहित बनाउने नाममा सोह्रैआना मनोगत कुरा गरेर मुख
मिठ्यायौं वा मोटो राजनीतिक कार्यदिशा (बल प्रयोगको विधिबाट जनवादी क्रान्ति पूरा
गर्ने) बनाउने र साँच्चैको कम्युनिस्ट सतहमा यथार्थ विषय आउनुपर्छ।
पार्टी संयुक्त मोर्चा जस्तो पनि
नबन्दै,
बल प्रयोगको विधिबारे नयाँपनको खोजी नगर्दै, जनताको
विश्वास आर्जन गर्ने गरी तलबाट साना काम गरेर युवाहरूलाई पार्टीमा आकर्षित र भर्ती
नगर्दै सैन्य कार्यदिशा टुंग्याएर थालिहाल्ने भन्ने भ्रमको हतारोमा किन फस्दै छौं?
यी वा थप विषयमा तपाइँहरूको मत, जोड र कोण के थियो? विषयको उठान, निर्णय प्रक्रिया र चालिने पाइलाबारे तपाइँहरूले यो मोडमा बोल्नुपर्छ
अन्यथा तपाइँहरूको मनोगत मर्जी जे छ, त्यसैको पछिपछि लाग्ने
कार्यकर्ता र जनता सायदै अब हुन्छन्।
'नेकपा-माओवादी निर्माणको
पहलकर्ता नेत्रविक्रम चन्द हो। यस अर्थमा उसलाई मुख्य वा कार्यकारी नेतृत्व
दिनुपर्छ। अझ बादल त अन्तिममा आएको मान्छे, उसलाई कसरी नेता
मान्ने' भन्ने गैरराजनीतिक र गैरजिम्मेवार तर्क राख्नेहरू
नेता बन्ने हतारोमा छन् भन्ने प्रस्टै छ।
कम्युनिस्ट पार्टीको नेतृत्व र
गाउँको मुखिया फरक विषय र जिम्मेवारी हो भन्ने सत्य नबुझेर सही टुंगोमा कसरी
पुगिन्छ?
कमरेड नेत्रविक्रम पहलकर्तामध्येको एक हो भन्ने विषय सही नै हो तर
नेता उही हुनुपर्छ भन्ने दाबाचाहिँ कति सही हो?
यही सही हो भने पंक्तिकारले ०६१-६२
सालमै दिल्लीमा पार्टी र नेताको खराबीविरुद्ध फायर खोलेको हो नि। यसकारण मुख्य
नेताको दाबी पंक्तिकारले गरिहाल्ने। यो जस्तो हाँसीमजाकको विषय अरू के होला र?
त्यतिबेला तपाइँहरूका बीचमा
अन्तरसंघर्ष,
नयाँ पार्टी निर्माण र नेतृत्वबारे के-कसरी छलफल भएको थियो?
'म हो पलहकर्ता, मलाई नेतृत्व दिनुपर्छ'
भनेर नेत्रविक्रमले भन्नुभएको थियो र बाँकी अरूले नमान्नुभएको हो वा
तपाइँहरूमध्ये कसैले नेत्रविक्रमलाई 'तपाइँ नै हो नेता'
भनेर धाप मारेको र पछि धोका दिएको हो भने पनि जस्ताको तस्तै
सार्वजनिक हुनुपर्छ।
'छिप्पिएको संशोधनवाद र
स्थापित दक्षिणपन्थीहरूसँग लड्नु छ। त्यसकारण तपाइँहरूसहितको सामूहिक नेतृत्व हो'
भनेर नेत्रविक्रमले भन्नुभएको हो भने उहाँले आजै न नेतृत्वको दाबी
गर्न पाउनुहुन्छ न त नेता बन्ने हतारो नै।
परिपक्वताका नाममा गतिहीनता र गतिको
नाममा हतारो गर्नेहरू निर्माण कर्ता हुँदैनौं, विघटनकारी
बन्नेछौं। यो तरिकाले आगामी कैयन् पुस्ताले चाहेर पनि आन्दोलन उठाउन नसक्ने ठाउँमा
पु:याउने छौं।
बौद्ध भेला (२०६९ जेठ) मा भएको गम्भीर
संगठनात्मक गल्तीको तपाइँहरूमध्ये स्रोत व्यक्ति को हो? एउटै माओवादी हुँदा चुनवाङमा गरेको रणनीतिक गल्ती नयाँ माओवादी बनाउँदाको
पहिलो पाइलोमै दोहोर्याइयो। यो संगठनात्मक गल्ती पदलोलुपताको सामूहिक
(पाँचैजनाको) थियो वा एकाधको धम्कीको परिणाम? यस विषयमा पनि
पाँचैजना बोल्नुपर्छ। तपाइँहरू बोल्नु हुन्न भने हामी बोल्न बाध्य बनाउने छौं।
कम्युनिस्ट पार्टीमा तपाइँहरूले
प्रयोग गरेको बहुपदीय पद्धति दुनियाँमा कहाँ थियो? हाम्रो
आवश्यकताको आविष्कार हो कि होइन? तपाइँ श्रीपेचधारीहरूले
भेलाका प्रतिनिधिलाई त पूरै मुर्गा बनाउनुभएकै हो।
हेक्का गुमाउनुभएको छैन भने हलले त
एकजना महासचिव र अरू केन्द्रीय सदस्य बनाएर जाँदा संगठन र आन्दोलन सही ठाउँमा
जान्छ भनेको थियो। अझ सही (पंक्तिकारले त्यतिबेला राखेको मत) के हुन्थ्यो भने
केन्द्रदेखि जिल्ला हुँदै सेलसम्म सम्पर्क समिति बनाएर साँचो अर्थको कम्युनिस्ट
पार्टी बनाउने प्रक्रियाको नयाँ थालनी। तपाइँहरूको ध्यान अलिकति पनि नयाँतिर गएन।
न तपाइँहरूको बुद्धिले नयाँ ल्यायो
न त प्रतिनिधिले ल्याएको नयाँप्रति तपाइँहरू आकर्षित हुनुभयो। यसकारण गलत भनिएको
एमाओवादी भन्दा नेकपा-माओवादी फरक हुँदै नभएको मात्र होइन, कि साँच्चैको कम्युनिस्ट पार्टी बनाउने अवसरको समेत बन्ध्याकरण गरियो।
योभन्दा अर्को गल्ती केही हुन्छ र?
वस्तुवादी बहस र फिल्डमा खटेर गति
पैदा गर्ने आवश्यकताअनुसार नयाँ युवाहरूलाई केन्द्रमा ल्याएर सिकाउने हिम्मत गर्न
सकेनौं। पाँचजनाको मात्र चिन्ता भयो। के गर्यौं भन्दा पाँचजनालाई पाँच पद सिर्जना
गर्यौं र एक एक लिएर मक्ख भयौं।
गल्ती गरेर मक्ख हुने जस्तो
आत्मघाती विषय अरू केही हुनै सक्दैन। गो गल्तीमा ककसको कस्तो-कस्तो तर्क, मत र माग थियो? हाम्रो र अझ तलको पुस्ताले
तपाइँहरूका यस्तै तुष्टि, महत्त्वाकांक्षा र पदलोलुपता थाहा
पाएनौं भने न परिवर्तन न जीवन र समाज भन्ने ठाउँमा पुग्ने छौं। यस्तै गल्ती दोहोर्याइरहने
हो भने खरानी बनेर सकिनुको विकल्प हामीले मात्र होइन तपाइँहरूले पनि पाउनुहुन्न?
सातौं महाधिवेशनमा त गाईजात्राको
शृंखला नै प्रदर्शन भयो। एकातिर दुइटा कार्यालय (बुद्धनगर र राष्ट्रिय सभागृहमा)
अर्कोतिर फरक-फरक बैठकहरू। एकातिर बहसको बन्ध्याकरण अर्कोतिर प्रतिनिधिहरू दुई
दिनसम्म झिँगा धपाएर बस्नुपर्ने बाध्यता।
एकातिर पद लिएर पार्टी कब्जा गर्ने
उत्ताउलो व्यवहार अर्कोतिर पुरानै टिम निर्वाचित भएको असफलता। यस्ता हुँदै
नहुनुपर्ने नाटक शृंखलाका निर्देशक, नायक वा खलनायक
तपाइँहरूमध्ये कसको हो? सबै पोल खोलिनुपर्छ, अन्यथा तपाइँ कसैले पनि फूर्ति नगरे हुन्छ।
यसरी तपाइँ एकाधका एकाध सहभागी मौजा
त बन्ला तर पार्टी बन्दै बन्दैन। तावाको माछा भुंग्रोमा भनेझैं गुट, उपगुट र गुटैगुटको हैरानीबाट मुक्त भएर पार्टीको कार्यकर्ता बन्ने इच्छा
अरू बिच्कियो।
नयाँ पार्टी बनेको दिनबाटै नयाँ
गुठाधीशहरूको जन्मले लुटपाटवालाहरूको बोलवाला बढ्यो। होइन हो कमरेडहरू ! यसरी नै
हो नयाँ जनवादी क्रान्ति गर्ने र हुने? कम्युनिस्टलाई थप
प्रतिकूलता थप्नेहरूले छोड्देऊ लुटपाटको नारा।
गल्तीको शंृखला घटाउनेभन्दा थप्ने
काम तपाइँ पाँचजनाबाट हुँदै आयो। गल्तीमा कसको कति योगदान हो अब जनताले समेत थाहा
पाउनुपर्छ अन्यथा जनतामा जाने बाटै बन्द हुन्छ। पूर्ण केन्द्रीय सदस्यभन्दा
वैकल्पिक केन्द्रीय सदस्य दोब्बर बनाएर दुनियाँमा नभएको अर्को आविष्कार तपाइँहरूले
गर्नुभयो र आफैंले आफूलाई एक्काइसौं शताब्दीको वैज्ञानिक नामाकरणसमेत गर्नुभयो।
त्यसपछि यसको न बैठक हुन्छ न भएका बैठकमा बहस गर्न पाइन्छ। तपाइँ वैज्ञानिकहरूको
जुँगाको लडाइँको साक्षी बनेर मात्र ताली हान्यो फर्कियो।
क्रान्तिकारी (?) कमरेडहरू ! क्रान्ति चन्दा उठाएर मोजमस्ती गरेजस्तो पो कहाँ हो र? वैचारिक स्तर नउठेका सोझा कार्यकर्ताका माझमा भावनाको कुरा गरेर क्रान्ति
हुँदैन, समसामयिक राजनीतिक विश्लेषणले मात्र पनि क्रान्ति
हुँदैन। देखाइदिन्छु भन्ने आग्रहको छट्पटाहटबाट त झन् क्रान्ति हुँदै हुँदैन।
निर्णायक क्रान्ति गर्नका लागि समय, प्रक्रिया पुराना कार्यकर्ताको भित्री मनमा सबै छोडेर अब हामफालिन्छ भन्ने
बुझाइ, नयाँ युवा (१८-२८ वर्ष समूह) हरूको पार्टीप्रति
आकर्षण र प्रवेश र यी कामको नेतृत्व गर्ने वैचारिक, सैद्धान्तिक,
राजनीतिक र फौजी दक्षता भएको नेताहरूको समूह हुनैपर्छ। सकारात्मक
परिणामका लागि सबैले सबैको पोल खोलेर स्पष्ट हुने र सापेक्षित परिपक्वताको
खोजीसँगै जोखिम उठाउने हो कि?
0 comments