विप्लवले उठाएका केही प्रश्नहरुबारे

- लक्ष्मण पन्त
नेकपा (माओवादीको पहिलो राष्ट्रिय भेला भर्खरै सम्पन्न भएको छ । यो भेलाको आयोजना पार्टीभित्र निर्मित असाधारण परिस्थितिका कारणले गर्नुपरेको थियो । यो संक्षिप्त टिपोट यसैबारे केन्द्रित रहनेछ ।
पार्टीभित्र चल्ने अन्तरसंघर्ष समाजमा जारी रहेको वर्ग संघर्षकै प्रतिबिम्बन हो । अहिले नेपाली समाजको वर्गसंघर्ष आधारभूत रुपमा आमनेपाली जनसमुदाय ९किसान मजदुरसहित सर्वसाधारण जनताको विशाल तप्का जसभित्र राष्ट्रिय पुँजीपति वर्गसमेत पर्दछ० र, भारतीय दलाल पुँजीपति वर्गबाट संरक्षित नेपाली सामन्त दलाल तथा नोकरशाह पुँजीपति वर्गबीच तीव्र संघर्षका रुपमा व्यक्त भएको छ । राष्ट्रियताको प्रश्न अहिले गम्भीर बन्न पुगेको छ ।
राजनीतिक दलहरु जनसमुदायका विभिन्न वर्गका प्रतिनिधिहरु हुन् । नेपालका विभिन्न राजनीतिक दलहरुमा निरन्तर चल्दै आइरहेको टुटफुट तथा विभाजन र हरेक पार्टीहरुभित्र आकार लिइरहेका विभिन्न गुट उपगुटहरुको अस्तित्वको जुन डरलाग्दो शृङ्खला हाम्रो मुलुकमा देखापरेको छ यो एकातिर पदका लागि भएको हानाथापका रुपमा देखापरेको छ भने अर्कोतिर त्यही पदाकांक्षालाई आधार बनाएर विभिन्न दृश्य अदृश्य वैदेशिक शक्तिहरुले दलहरुभित्र खेल्ने र अन्ततः दलहरुलाई टुक्राइदिने राम्रो अवसर समेत पाएका छन् ।
हाम्रो पार्टीमात्र एउटा यस्तो पार्टी हो जो निरन्तर राष्ट्रिय स्वाधीनताका पक्षमा उभिदै आएको छ । राष्ट्रियताका विभिन्न जल्दाबल्दा मुद्दाहरुमा सही अडान लिइरहेको पार्टीलाई कमजोर बनाएर मात्र वैदेशिक शक्तिहरुले नेपालमा आफ्नो अभीष्ट पूरा गर्न सक्छन् । अहिले नेकपा माओवादीको परित्याग गरी चर्का क्रान्तिकारी नाराहरुसहित देखापरेको विप्लव गुटलाई यसै आधारमा मात्र बुझ्न सकिन्छ ।
क्रान्तिको मित्र कित्ता र शत्रु कित्ता छुट्याउने प्रधान अन्तरविरोधको महत्वपूर्ण मुद्दामा विप्लव गुटको कथित एकीकृत क्रान्तिको सिद्धान्त आश्चर्यजनक रुपमा मौन छ । त्यसो त विप्लवले पाँच कक्षामा पढ्ने बालकहरुलाई भूगोल पढाउने मास्टरले जस्तै चीनको मूलभूमि नेपाल भन्दा धेरै टाढा रहेको टीठलाग्दो तर्क गरेर एकातिर आफ्ना कमजोर वैचारिक धरातलमा उभिएका कार्यकर्ताहरुलाई आफ्ना प्रदुषित विचार खपत गराउने प्रयास गरेका छन् ।
यसै एउटा तर्कबाट उनी आफू कुन धरातलमा खडा छन् भन्ने पनि सबैले बुझ्ने गरी लेखेका छन् । उनको तर्क नेहरु र उनकै समकालीन थुप्रै भारतीय नेताहरुको तर्कसित मेल खान्छ कि नेपालले बाँकी ससारसित भारतको बाटो भएर मात्र सम्पर्क गर्नसक्ने हुनाले ऊ भारतमाथि निर्भर छ ।
अवसरवाद दक्षिण र वाम दुबै रुपमा देखापर्ने गर्दछ । प्रचण्ड बाबुरामको अवसरवाद सिधै दक्षिणपन्थी रुपमा देखापरेको थियो । लोकतान्त्रिक गणतन्त्रमा सहमति, जनमुक्ति सेना विघटन, विप्पा आदि कदमहरुबाट प्रचण्ड बाबुरामको गुट दक्षिणपन्थी दिशामा पतन भएको कुरा बुझ्न र चिन्न आम पार्टी पंक्तिलाई सजिलो थियो । अब त झन सजिलो छ किनकि त्यस गुटले जनवादी क्रान्तिको कार्यभार पूरा भएको, अबको क्रान्ति समाजवादी क्रान्तिका रुपमा अघि बढ्ने र त्यस्तो क्रान्ति शान्तिपूर्ण रुपमा अघि बढ्ने बताएको छ । तर विप्लव गुटको अवसरवाद चर्का क्रान्तिकारी कुराहरु गरेर प्रकट भएको छ । यो वाम आवरणमा प्रकट भएको छ । जसको गन्तव्य दक्षिणपन्थी संशोधनवाद नै हो । यस्तो किन भएका्े छ भन्दा अब नेपालमा केही समयसम्म सुधारवादी होइन चर्का क्रान्तिकारी नाराहरुबाट मात्र कार्यकर्तालाई र जनतालाई भ्रम दिन सकिन्छ । प्रचण्ड बाबुरामको दक्षिणपन्थी संशोधनवाद यति नांगो भएको छ कि अब उनीहरुले दिएको नाराका आधारमा कार्यकर्ताहरुलाई संगठित गर्न सकिन्न । त्यस कारणले अवसरवाद भिन्न रुपमा प्रकट भएको हो । क्रान्तिको पनि निरन्तर विकास र गतिमा भएझै अवसरवाद पनि विकास र गतिमा हुन्छ भनेको पनि यही हो ।
विप्लव गुटले नेकपा(माआोवादी र त्यसको नेतृत्वका विरुद्ध विभिन्न प्रकारका आरोपहरु लगाउने गरेको छ तीमध्ये निम्न आरोपहरु प्रमुख रहेका छन् ः
१ पार्टी नेतृत्वले दुई वर्षमा केही पनि गर्न सकेन
२ यो लाइन र लिडरशीप दुवै ठीक छैन
३ बूढाहरुले क्रान्तिको नेतृत्व गर्न सक्तैनन, युवा पंक्तिलाई नेतृत्व दिइनु पर्दछ ।
विप्लव गुटले पार्टीमाथि लगाउने गरेको पहिलो आरोप हो दुई वर्षको समय बितिसक्यो तर नेतृत्वले केही गर्न सकेन । दुई वर्षमा के के काम भए वा भएनन् बारे छोटो चर्चा गरौं । नवसंशोधनवादबाट तहसनहस भएको पार्टीलाई दुई लाइन संघर्ष चलाएर राजनैतिक तथा विचारधाराको हतियारले लैस बनाउने तथा नवसंशोधनवादबाट पार्टीलाई पृथक गराएर नयाँ पार्टी बनाउन सफल हुनु आफैमा महत्वपूर्ण उपलब्धि हो । किनकि मूल नेतृत्व पतनको दिशामा गएपछि फेरि समेटेर नयाँ शिराबाट पार्टीलाई संगठित गरेको इतिहासमा सम्भवतः पाइदंैन ।
राष्ट्रिय भेला र त्यसलगत्तै माघमा महाधिवेशनको सफलतापूर्वक आयोजन, सबै प्रतिक्रियावादी शक्तिहरु मिलेर लादेको निर्वाचनको सशक्त बहिष्कार, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका विषयलाई लिएर केन्द्रीय र स्थानीय स्तरका अनेकौं जनपरिचालन र संघर्षका कामहरु, पार्टी संयुक्त मोर्चा र जनस्वयंसेवकको निर्माणको दिशामा पार्टीले उठाएका महत्वपूर्ण कदम आदिको कुल योगफल नै यो कालखण्डको उपलब्धि हो । समग्रमा पार्टीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा एउटा क्रान्तिकारी वैकल्पिक धारको रुपमा खडा गर्नसक्नु नै यस कालखण्डको महत्वपूर्ण उपलब्धि हो । जहाँसम्म निर्वाचन बहिष्कारको कार्यक्रमका विषयलाई लिएर सो गुटले विभिन्नखाले भए नभएका कुराहरु गर्ने गरेको थियो यस सन्दर्भमा यो कुरा मननीय छ कि निर्वाचन बहिष्कारको अभियान राजनीतिक रुपमा सफल रहेको मूल्यांकन विप्लव समूहसहितको पार्टीको केन्द्रीय समितिको बैठकले गरेको थियो । केन्द्रीय समितिको उक्त मूल्यांकन सही थियो भन्ने कुराको पुष्टि यस तथ्यबाट पनि हुन गएको छ कि नेकपा माओवादीको सलग्नताबिना सविधान निर्माणको काम अधूरो रहने धारणा सबै राजनीतिक दलहरुको रहिआएको छ । पार्टीका आत्मगत सीमा र कमजोरीहरु पनि यसबीचमा रहेका छन् तर त्यसका पछाडि विप्लव गुटले सातौ महाधिवेशन लगत्तै पारित कार्यदिशाको विरोध गर्दैे जनयुद्धको कार्यदिशाको पक्षपोषण गरेर गुटबन्दी सृजना गर्नु मूल कारण रहन गएको छ । जनयुद्धकोे कार्यदिशा नै क्रान्तिको कार्यदिशा रहेको सो गुटको ठहर थियो भने विधिवत रुपमा प्रस्ताव महाधिवेशनमा दर्ता गराएर छलफलमा जान सकिन्थ्यो । त्यसमा राजनीतिक इमान्दारिता हुन्थ्यो । तर बाहिर जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा ठीक छ भन्ने भित्रभित्र यो ठीक छैन, जाने त जनयुद्धमै हो भनेर गुट तयार गर्ने काम गरियो ।
दुई वर्षमा पार्टीले गरेका उपरोक्त कामका वावजुद विप्लव समूहले यो प्रचार गर्न थाल्यो कि प्रचण्डसित विद्रोह गर्दा हामीले छिटै जनविद्रोह गरेर सत्ता कब्जा गरिहाल्छौ भनेर विद्रोह गरिएको थियो । यदि जनविद्रोह नगर्नु थियो भने प्रचण्डहरुसित सम्बन्ध विच्छेद गर्नुको कुनै अर्थ थिएन । कुरा त्यस्तो थिएन । प्रचण्डसँग विद्रोह गरेपछि सबै कुरा रातारात ठीक हुने र जनविद्रोह भइहाल्ने वा यति अवधिभित्र जनविद्रोह भइहाल्ने भनेर पार्टीले कतै भनेको थिएन, त्यसरी भन्ने कुरा पनि हुँदैनथ्थो किनकि क्रान्ति जस्तो गहन विषय तिथिमिति तोकेर गर्ने कुरा हुँदैनथ्यो । बरु पार्टीले सात तयारीमा जोड दिने कुरा गरेको थियो । सो मध्ये पहिलो तयारी राजनैतिक, वैचारिक तयारी थियो । पहिलो तयारीमै पदाधिकारीबीच मतभिन्नता देखापरेपछि ९विप्लवले औपचारिक बैठकहरुमा जनयुद्धको जगमा जनविद्रोह ठीक छ भन्ने तर आफ्ना गुटबीच यो ठीक छैन भनेर दोहोरो भूमिका खेल्ने० दोस्रो तयारी अर्थात् सांगठनिक तयारीमा त्यसको प्रभाव पर्नु स्वाभाविकै थियो । जसको परिणाम यो भयो कि संघर्ष र जनपरिचालन जस्ता तयारीका अन्य पक्षहरु पनि यसबाट नराम्ररी प्रभावित भए । त्यसैले चरम गुटबन्दी सिर्जना भई हुनसक्ने जति काम पनि भएनन् । यसो गर्नुका पछाडि विप्लवको योजना नेतृत्वलाई असफल देखाएर नेतृत्व कब्जा गर्नु नै थियो ।
लाइन र लिडरशीपको लगातार विरोध विप्लव गुटको अर्को विशेषता रहयो । सुधारवाद, समन्वयवाद र आत्मसमर्पणवाद विरुद्ध कहिल्यै सम्झौता नगरेको नेतृत्व पंक्तिको धुँवाधार विरोधको अर्थ हुन्छ संशोधनवाद र आत्मसमर्पणवादसित सम्झौता गर्नु । यसका गम्भीर लक्षण त्यस गुट र मुख्यतः नेतृत्वमा पहिले पनि विविध रुपमा देखा पर्दै आएका थिए भने सम्बन्ध विच्द्धेद पछी ती झन प्रष्ट देखिने गरी विविध रुपमा प्रकट हुन थालेका छन् ।
आज विश्वमा माक्र्सवाद, माक्र्सवादी मूल्यमान्यताहरु, कम्युनिष्ट पार्टी, जनवादी केन्द्रियता, समाजवादले हासिल गरेका उपलब्धिहरुमाथि साम्राज्यवादले हमला गर्दै आई रहेको छ । एकातिर इतिहाासको अन्त र ग्लोबल डेमोक्रेसीका मूल्य मान्यताहरु अघि सारिने गरेका छन भने अर्को तिर अब इतिहासमा सम्पन्न भएका क्रान्तिहरुको एउटा चक्र समाप्त भएको अबको क्रान्ति नया शिराबाट शुरु गर्नु पर्ने निषेधात्मक मान्यताहरु देखा पर्न थालेका छन् । विप्लवले आफ्नो गुटले नेकपा–माओवादीसँग सम्बन्धविच्छेद गर्नुभन्दा ठीक एक दिन पहिले पार्टीको प्लेनममा त्यही मान्यतालाई पच्छ्याउँदै माक्र्सवाद–लेनिनवाद–माओवादसँग आफूलाई कुनै पनि मतलब नभएको, जनवादी केन्द्रियता आदि केही पनि नमान्ने जस्ता अत्यन्त गैर मालेमावादी अभिव्यक्ति दिएका छन् । ठीक यही बिन्दुमा बाबुराम भट्टराईले नयाँ शक्तिको आवश्यकता रहेको मान्यता अगाडी सार्नु संयोग हुन सक्तैन ।
बूढाहरुले क्रान्ति गर्न नसक्ने उनीहरुलाई म्युजियममा राख्नुपर्ने जस्ता अत्यन्त अमाक्र्सवादी उटपट्यांग र हास्यास्पद तर्कहरु विप्लव र उनको गुटको रहदै आएको छ । आफूलाई एक्काईसौ शताब्दीको उदीयमान नेता र पार्टी नेतृत्वलाई पत्रु बनाउनुको विप्लव गुटको उद्देश्यबारे धेरै भन्नु नपर्ला कि यो सुनियोजित साम्राज्यवाद प्रेरित प्रचार हो । अर्कोतिर यो राजनीति र विचार वा लाइनको बहसबाट बच्ने र बहसलाई व्यक्ति केन्द्रित बनाइदिने गैरमालेमावादी कुरा हो । वास्तविकता त यो हो कि माओले विश्वकै तेस्रो, पेचिलो र भीषण क्रान्ति महान् सर्वहारा समाजवादी क्रान्तिको नेतृत्व ७३ वर्षको उमेरमा गरेका थिए । क्रान्ति व्यक्तिले गर्ने होइन यो त विचार र लाइनका आधारमा सम्पन्न हुने कुरा हो । क्रान्तिमा व्यक्तिको भूमिका सहायक र विचार र लाइनको भूमिका जहिले पनि मुख्य हुन्छ ।
संक्षेपमा विप्लव र उनले नेतृत्व गरेको गुटले यसबीचमा मालेमावादको होइन, छलछाम र षडयन्त्रको भरभूर प्रयोग गर्यो । नेतृत्वको धुवाधार विरोध गरियो । पार्टीले अघि सारेका संघर्षका कार्यक्रमहरुमा असहयोग गरियो । विप्लवले आफूलाई पाएको जिम्मेवारीको घोर दुरुपयोग भयो । समानान्तर गतिविधिहरु सन्चालन गर्दै गुटबन्दीको कामलाई तीव्रता दिइयो । यी सबैमा पार्टीको नेतृत्व सचेत र चलाख हुन सकेन । वाम रुपमा प्रकट दक्षिणपन्थी अवसरवादलाई बेलैमा चिन्न नसक्नु, चिनेर पनि त्यसलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्न नसक्नु नेतृत्वको उदारतावादी कमजोरी रहन गयो ।
समाजमा चल्ने वर्गसंघर्ष वा पार्टीमा चल्ने अन्तरसंघर्ष मानिसहरुको इच्छा भन्दा स्वतन्त्र रहन्छन् । हाम्रो पार्टीको हकमा पनि यही कुरा लागू हुन्छ । जेहोस् यो अन्तरसंघर्षबाट संख्यात्मक हिसाबले केही क्षति पार्टीलाई पुगे पनि गुणात्मक रुपले यो मजबुत नै भएको छ । भावी दिनहरुमा पार्टीलाई एकढिक्का भै जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई कार्यान्वयन गर्नका लागि यो अन्तरसंघर्ष एउटा महत्वपुर्ण शिक्षा भएको छ ।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates