‘कसैले जंगल जा भन्दैमा जाने होइन

काठमाडौ । नेकपा माओवादीबाट फुटेर बनेको नयाँ पार्टी नेकपा माओवादीको सम्मेलन दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।
महासचिव प्रणालीबाट चल्ने निर्णय गरेको सम्मेलनले नेत्रविक्रम चन्दलाई निर्विविरोध महासचिव चयन गरेको छ । यस्तै, तीन सदस्यीय स्थायी कमिटीमा खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला रहेका छन् ।
पार्टी प्रवक्ताको जिम्मेवारी विश्वकर्मालाई दिइएको छ । मुस्ताङ र पाँचथर बाहेक ७३ जिल्लाबाट आएको प्रतिनीधिले ६५ सदस्यीय केन्द्रिय कमिटी बनाएको छ ।
शान्तिपूर्ण राजनीतिबाट अघि बढ्ने
सम्मेलनले शान्तिपूर्ण राजनीतिबाटै अघि बढ्ने निर्णय गरेको केन्द्रिय सदस्य सन्तोष बुढामगरले बताए । उनले भने, ‘‘कसैले जंगल जा भन्दैमा जाने होइन, त्यो परिस्थितिले निर्माण गर्ने कुरा हो ।’’
सम्मेलनले सवै जिल्लामा संगठन निर्माण र प्रशिक्षण गरेर आफुमाथि लागेको आरोपको खण्डन गर्ने निर्णय गरेको छ । बुढामगर भन्छन्, ‘‘सवै कार्यक्रम खुल्ला छन्, केन्द्रिय कार्यालय छैन भन्ने विपक्षीको कुरा सही होइन । काठमाडौंमै कार्यालय हुनुपर्छ भन्ने केही लेखेको छ ?’’
सम्मेलनले राजनीतिक कार्यक्रम सत्तापक्षमा निर्भर हुने निर्णय गरेको छ । बुढामगर भन्छन्, ‘‘सत्ताले शान्तिको भाषा बोल्छ, त्यही अनुसार कार्यक्रम बन्छ, ढुंगा हान्छ ढुंगै हान्छौं मुढा हान्छ मुढै हान्छौं ।’’
सम्मेलनले भूमिगत हुन्छ भन्ने हल्लाको खण्डन गरेको बुढामगरले बताए ।
संविधानसभा ‘विषवृक्ष’
२०५२ मा भूमीगत हुँदा तत्कालीन नेकपा माओवादीले राखेका मागहरु नै पुनः दोहोर्याएको छ ।
सरकारसँग जनताका गाँस, बाँस, कपास, बेरोजगारीजस्ता आधारभूत समस्याहरु कार्यान्वयनको माग राख्ने तयारी गरेको छ । बुढामगर भन्छन्, ‘‘हेर्दा पुराना लाग्ने यी मागहरु अझै कार्यान्वयन भएको छैन, त्यो संविधानमा मात्रै होइन कार्यान्वयनमा पनि आउनुपर्छ ।’’
तर, अहिले बन्दै गरेको संविधानसभाले जनताका अधिकार सुनिश्चित गर्न नसक्ने भएकाले यसलाई विषवृक्ष भनेको उनले बताए । बुढामगर भन्छन्, ‘‘बिष खाने कुरा भएन ।’’

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates