नेकपा–माओवादी जनवादी क्रान्तिको बाटोमा

-  हुकुमबहादुर सिंह
नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेला, जो २०७१ पुस ११ गतेदेखि १४ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ । त्यसले मालेमाको आलोकमा संघर्षको कार्यदिशालाई समृद्ध गर्दै जनवादी क्रान्तिको बाटोमा लाग्ने फैसला गरेको छ ।
जनवादी क्रान्तिको सफलताका लागि तीन जादुगरी हतियार– पार्टी, सेना र संयुक्त मोर्चालाई सुदृढ गर्ने निर्णय पनि गरेको छ । मालेमाको आलोकमा प्रशिक्षित एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी त्यसको अनिवार्य शर्त हो भने त्यसको नेतृत्वमा क्रान्तिका लागि जनताको पक्षमा लड्ने सेना अर्को अनिवार्य आवश्यकता हो । यी दुईको पछाडि रहेर सशक्त आन्दोलनमा उत्रने शक्ति भनेको वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूको संयुक्त मोर्चा जसले देशभित्र र बाहिरको शक्तिलाई एकीकृत र संगठित गर्दछ, त्यसको आवश्यकता पनि क्रान्तिका लागि उत्तिकै छ ।

साथै पार्टीलाई केन्द्रीकरण र एकताबद्ध गर्दै नेतृत्व हाँक्न सक्ने क्रान्तिकारी तथा जुझारू नेताहरूको पंक्ति यी सबैका लागि आवश्यक छ । त्यस्तो माक्र्सवादी पार्टी जसले देशमा माक्र्सवाद लागू गर्दछ, संशोधनवाद होइन, जसले क्रान्तिकारीहरूबीच एकता गर्दछ, विभाजन होइन । जो जनता र देशको मुक्तिका लागि खुला र स्पष्ट हुन्छ, छलछाम र षड्यन्त्र होइन । तर विगतमा प्रचण्ड र बाबुरामले माओका यी उल्लेखित भनाइहरूका विपरीत षड्यन्त्र, खुराफात, छलछाम गरे र देशलाई अहिलेको अवस्थामा पु¥याए ।

अहिले फेरि विप्लवले प्रचण्ड र बाबुरामले अपनाएको तिनै गलत प्रवृति र कार्यशैली अपनाएर पार्टीमा विभाजन गरेका छन् । अहिले यो भेलाले विप्लवको त्यो षड्यन्त्रलाई चिर्न सफल भएको छ । तैपनि क्रान्तिका नाममा भ्रम पार्ने सम्भावनालाई नकार्न सकिंदैन ।

नेकपा –माओवादीको पार्टी जीवनमा सचिव विप्लवको नेतृत्वमा पार्टीसँगको सम्बन्धबिच्छेदपछि एउटा अनपेक्षित असाधारण परिस्थिति उत्पन्न भएको अवस्थामा गरिएको यो भेलाको ऐतिहासिक महत्व छ । यो अनपेक्षित किन भयो भने विप्लवको यो फुटको प्रक्रिया केबल १५–२० दिनको अप्रत्याशित समयभित्र भएको छ । यद्यपि नेपाली क्रान्तिको गति विप्लवको यो फुटका कारण रोकिने छैन र इतिहासले सुम्पेको यो जिम्मेवारी अब नेकपा –माओवादीका बाँकी कमरेडहरूको काँधमा आएको छ ।

यो सही हो कि क्रान्ति र प्रतिक्रान्तिका आ–आफ्नै नियम हुन्छन् । क्रान्तिमा जीतैजीत, सफलतैसफलता मात्रै नभई जीत हारजीत, प्रतिकूलता र अनुकूलता, उकालीओराली र बाँगोटिँगो आदिबाट अगाडि बढ्छ । यद्यपि पार्टी विभाजन हुँदा क्रान्तिकारीहरूलाई पीडा हुन्छ । तैपनि नयाँ पार्टी निर्माणका लागि यो गतिलो अवसर पनि त हो । र यही अवसरलाई उपयोग गर्दै यो भेलाले नयाँ नेतृत्व चयनमा एउटा महान् फड्को मारेको छ ।

यो भेलाबाट के स्पष्ट भएको छ भने नेकपा –माओवादी र विप्लव समूह अब दुई विपरीत दिशातिर अग्रसर भएका छन्– नेकपा –माओवादी क्रान्तिको मार्गतिर, माक्र्सवादी—लेनिनवादी—माओवादी मार्गतिर र विप्लव समूह क्रान्तिको नाममा माओवादी शिविरबाट धेरै टाढा चुनवाङतिरको बाबुराम मार्गतिर अग्रसर भएका छन् र त्यो काम उनले चुनवाङको लाइन ठीक थियो भनेर भन्न थालेबाट पुष्टि हुन्छ ।

,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates