यस्ता छन् वैद्यको नजरमा विप्लव

रेवती सापकोटा / काठमाडौं : नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले आगामी कार्ययोजना र नेतृत्व निर्माण गर्न बुधबारदेखि दाङमा पहिलो राष्ट्रिय सम्मेलन सुरु गरेको नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द 'विप्लव' को विशेषता केलाएका छन्। 

न्यून पुँजीवादी मानसिकताका व्यक्तिगत अहम्, चरम व्यक्तिवादी महत्त्वाकांक्षा, क्रान्तिकारी धैर्यताको अभाव, शीघ्र विजयको मानसिकता, अस्थिरता, ढुलमुलपनजस्ता लाक्षणिक विशेषता विप्लवमा रहेको वैद्यले बताएका छन्। 

'समग्रमा विप्लव समूहमा विद्यमान चिन्तन प्रवृत्तिलाई बाम रूपमा अभिव्यक्त दक्षिणपन्थी विचलन भन्नु नै उपयुक्त हुन्छ,' वैद्यले पुस १४ गते पार्टीको राष्ट्रिय भेलामा पेस गरेको दस्ताबेजमा लेखिएको छ, 'विप्लव समूहको सामरिक कार्यदिशा अस्पष्टता, अन्तरवस्तुविहीनता, रहस्यवाद र शून्यतावादमा फस्न पुगेको छ।

विप्लवले वामपन्थी नभएर दक्षिणपन्थी धाराको प्रतिनिधित्व गर्ने वैद्यले आफ्नो दस्ताबेजमा उल्लेख गरेका छन्। 

'विप्लव समूहको प्रस्तावमा क्रान्ति देख्नु राजनीतिक दिग्भ्रम सिवाय अरू केही हुन सक्दैन,' वैद्यले भनेका छन्, 'हामीले विप्लव समूहमा देखा परेका चिन्तन र प्रवृत्तिलाई बाम रूपमा अभिव्यक्त दक्षिणपन्थी विचलनका रूपमा नामाकरण गर्नुपर्दछ।

विप्लवले अगाडि सारेको एकीकृत क्रान्तिको सिद्धान्तलाई वैद्यले नयाँ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको विरोधमा परिलक्षित रहेको ठम्याएका छन्। 

वैद्यले भनेका छन्, 'विप्लव समूहले एकातिर नेपाली जनवादी क्रान्तिका लागि मजदुर किसानको भूमिकालाई गौण स्थानमा राखी मध्यमवर्गको भूमिकामाथि विशेष जोड दिने गरेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय क्षेत्रमा यसले साम्राज्यवाद र भारतीय विस्तारवादसितको संघर्षको प्रश्नलाई नकार्ने गरेको छ।

विप्लवमा गुटवाद, फुटवाद, समानान्तरवाद र पार्टीलाई निषेध गर्ने चिन्तन र प्रवृत्तिका कारण अराजकतावादी व्यक्तिवाद रहेको वैद्यले जनाएका छन्। 'राजनीतिक रणनीतिका रूपमा विप्लवद्वारा पश्चगामी शक्तिसितको सत्ता साझेदारीलाई अगाडि सारिएको छ।

कुनै खास स्थितिमा कार्यनीतिका रूपमा संयुक्त सरकारको नारा दिन सकिन्छ र दिनु पनि पर्दछ। परन्तु क्रान्तिको उद्देश्य पुरानो सत्तालाई ध्वंस पारी नयाँ सत्ताको निर्माण गर्नु हुन्छ। प्रतिगामी शक्तिसित रणनीतिक सत्ता साझेदारी भने कदापी गर्नु हुँदैन,' वैद्यले भनेका छन्।

Source:annapurnapost.com


, ,

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates