वर्तमान सांस्कृतिक आन्दोलनको दिशा

- अमर गिरी
विषयप्रवेश
सांस्कृतिक आन्दोलनको दिशा सांस्कृतिक रूपान्तरणको विषयसँग जोडिएको छ । सांस्कृतिक आन्दोलनको सुस्पष्ट दिशाले नै सांस्कृतिक रूपान्तरणको प्रक्रियालाई ठीक एवं प्रभावकारी रूपमा अघि बढाउन सक्छ । परिस्थितिमा परिवर्तन आउँदा त्यसको प्रभाव कमवेशी सांस्कृतिक आन्दोलन र त्यसको दिशामा पनि पर्छ । राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका कारण परिस्थितिमा कयौँ परिवर्तनहरू आएका छन् । सांस्कृतिक आन्दोलनको दिशा निर्धारण गर्दा घटित परिवर्तनलाई चिन्हित गर्दै त्यसका विशेषतालाई निर्धारण गर्न आवश्यक छ ।

मुलुक परिवर्तनको प्रक्रियाबाट गुज्रदै गर्दा बाह्य हस्तक्षेप भने बढेको छ । बाह्य हस्तक्षेप आर्थिक, राजनीतिक क्षेत्रमा मात्र सीमित छैन, सांस्कृतिक क्षेत्र लगायत अन्य क्षेत्रहरूमा पनि छ । यो आजको भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादसँग गाँसिएको छ । आजको प्रगतिवादी सांस्कृतिक आन्दोलनको तात्पर्य सामन्तवाद, साम्राज्यवाद विरोधी सांस्कृतिक आन्दोलन अर्थात् जनवादी सांस्कृतिक आन्दोलन हुँदै समाजवादी सांस्कृतिक आन्दोलनतर्फ बढ्नु हो । एक नयाँ संस्कृति निर्माणको अभिप्राय सांस्कृतिक रूपमा कम्युनिष्ट आन्दोलनको रूपान्तरण पनि हो । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणविना समग्र सांस्कृतिक रूपान्तरणको कुरा गफ र भ्रम हो । यो डर लाग्दो पाखण्ड र एक किसिमको व्यभिचार पनि हो । यस कार्यपत्रमा सङ्क्षेपमा नेपालको वर्तमान परिस्थिति र सांस्कृतिक अवस्थाको चर्चा गर्दै वर्तमान सांस्कृतिक आन्दोलनको दिशा र नयाँ संस्कृतिको निर्माणका बारेमा छलफल गरिनेछ ।

वर्तमान परिस्थिति

आधारभूत रूपमा नेपाल अहिले पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक छ । नेपालको वामपन्थी आन्दोलनमा यससँग विमति राख्ने व्यक्ति र संस्था पनि छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले मुलुकको यस आधारभूत चरित्रमा अहिलेसम्म परिवर्तन ल्याएको छैन । सामन्तवादको राजनीतिक रूपमा प्रतिनिधित्व र नेतृत्व गर्ने राजतन्त्रको अन्त्य त भएको छ तर यसले सामन्ती आर्थिक आधारको रिढलाई अझैसम्म भाँचेको छैन । राजनीतिक रूपमा राजतन्त्रको अवशानले मात्र सामन्तवादको समूल उच्छेदको प्रतिनिधित्व गर्दैन । अधिरचनाका तहमा घटित परिघटना आधारका तहसम्म पुग्नुपर्छ । राजनीतिक परिघटना आधारका तहसम्म अझै पुगेको छैन ।

मुलुक सङ्क्रमणको अवस्थामा छ । घरेलु प्रतिक्रियावादी वर्ग र साम्राज्यवादी, विस्तारवादी शक्तिहरूसँग नोली जनताको आधारभूत अन्तर्विरोध छ । आन्तरिक र बाह्य प्रतिक्रियावादी शक्तिहरूबीच गहिरो साँठगाँठ छ । परिवर्तनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न सकिएको छैन । अग्रगामी र पश्चगामी शक्तिहरूबीच तीखो सङ्घर्ष छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले आधारभूत स्थितमा परिवर्तन नल्याए पनि कयौँ महत्वपूर्ण एवं ऐतिहासिक परिवर्तनहरू भने भएका छन् । राजतन्त्रको अन्त्य एक महत्वपूर्ण ऐतिहासिक परिघटना हो । यसबाट दुई सय वर्षभन्दा लामो र सुदृढ शाहवंशीय राजतन्त्रको अन्त्य भएको छ । यसले सामन्तवादको रिढ त भाँचेको छैन तर त्यसलाई निकै कमजोर भने बनाएको छ । राजनीतिक रूपमा समाप्त सामन्तवाद क्रमशः आर्थिक र सांस्कृतिक रूपमा पनि समाप्त हुँदै जानेछ । सङ्घीय राज्यको निर्माणको संवैधानिक प्रत्याभूति अर्को महत्वपूर्ण परिघटना हो । यो नेपाली राजतन्त्र, त्यसले निर्माण गरेको एकात्मक राज्य र त्यसका चरित्रहरूको विस्थापन हो ।

एकात्मक राज्यको निर्माण सामन्ती राजतन्त्रका आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक उद्देश्यहरूसँग जोडिएका थिए । धर्मनिरपेक्षता ऐतिहासिक जनआन्दोलनको अर्को महŒवपूर्ण उपलब्धि हो । यो सामन्तवाद विरूद्धको एक ऐतिहासिक विजय हो । नेपाली जनताले बोल्ने सम्पूर्ण मातृभाषालाई राष्ट्रभाषाको संवैधानिक मान्यता प्रदान गर्नु परिवर्तनको अर्को महŒवपूर्ण प्राप्ति हो । ऐतिहासिक परिवर्तनले नेपाली जनतालाई नयाँ नेपाल निर्माणतर्फ डो¥याएको छ । नयाँ नेपालको तात्पर्य सामन्तवादी, साम्राज्यवादी उत्पीडनबाट मुक्त र समृद्ध नेपाल हो ।

सङ्क्रमणको ऐतिहासिक क्षणबाट गुज्रदै गरेको बेला बाह्य उत्पीडन भने चुलिएको छ । अर्धऔपनिवेशिक नेपालको इतिहासमा यो सबैभन्दा बढी बाह्य हस्तक्षेप भएको बेला हो । भूमण्डलीकरण, नवउदारवाद र उपभोक्तावादको डर लाग्दो सिकार भएको नेपालमाथि भएको बाह्य हस्तक्षेप राजनीतिक निर्णयको तहमा हस्तक्षेपसम्म पुगेको छ । यो सबैभन्दा डर लाग्दो पक्ष हो । सङ्क्रमणको अवधि लम्बिनुमा बाहिरी रणनीतिहरूले पनि पर्याप्त भूमिका निर्बाह गरेका छन् । अर्थ, राजनीति र संस्कृतिलाई आफ्ना अभीष्टहरू अनुरूप डो¥याउन गरिएका प्रयासहरू खुला छन् । हाम्रो अर्थतन्त्र, राजनीति र राज्यका अन्य महŒवपूर्ण पक्षहरू साम्राज्यवाद र एकाधिकारवादका लाचार छाँया जस्ता देखिन्छन् । विश्वव्यापार सङ्गठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैङ्क, बहुराष्ट्रिय कम्पनी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू अर्थ, राजनीति लगायत राज्यका अन्य पक्षमा निर्णायक हुँदै जानु कम्ती दुःखद कुरा होइन । सामन्तवादको राजनीतिक नेतृत्वको अवशानपछि विश्वपूँजीवाद र भारतीय एकाधिरकावाद आफ्नो उपस्थितिलाई अझ निर्णायक र उपलब्धिमूलक बनाउन उद्धत देखिन्छन् । सामन्तवादले खाली गरेको ठाउँ साम्राज्यवाद र एकाधिकारवादले पूरा गर्न चाहेका छन् । भूराजनीतिक महŒव र प्राकृतिक स्रोतसाधनले सम्पन्न यस देशलाई लिएर उनीहरूका आ–आफ्ना रणनीतिक अभीष्टहरू छन् । हिजोसम्म अलि प्रच्छन्न रहेका यस्ता अभीष्टहरू आज सतहमा प्रकट भएका छन् । आउँदा दिनहरूमा यी अझ खुला हुनेछन् र उनीहरूको आक्रमण अझ बढ्नेछ । यो संसारका विभिन्न मुलुकहरू माथि भएका हस्तक्षेपहरूबाट पुष्टि भएको यथार्थ हो । घरेलु र बाह्य प्रतिक्रियावादी शक्तिहरू परिवर्तनको प्रक्रियालाई अवरूद्ध गर्न सक्रिय छन् । नेपाली जनता यस्ता सबै प्रयत्न र षड्यन्त्रहरूलाई तोड्दै अघि बढ्न सङ्घर्षरत छन् ।

यथास्थितिवादी शक्ति मुलुकलाई यथास्थितिको बन्दी बनाउन चाहन्छन्, सुधारवादीहरू सामान्य सुधारभन्दा अघि बढ्न चाहन्नन् । परिवर्तन विरोधी, यथास्थितिवादी र सुधारवादी शक्रिहरूसँग सङ्घर्ष गर्दै नेपाली जनता परिवर्तनको प्रक्रियालाई आमूल परिवर्तनसम्म पुर्याउन चाहन्छन् ।

मुलुकको सांस्कृतिक अवस्था

अहिले मुलुकमा सामन्तवादी र साम्राज्यवादी संस्कृतिको वर्चश्व छ । संस्कृतिको मुख्य धारा भने सामन्तवादी नै छ । आधार र अधिरचनाका अन्य पक्षहरूमा परिवर्तन आउँदैमा सांस्कृतिक अधिरचनामा उही स्तर र गतिमा पविर्तन आउँदैन । संस्कृतिमा परिवर्तनको प्रक्रियाले अपेक्षाकृत लामो समय लिन्छ र त्यो निकै जटिल पनि हुन्छ । नेपालमा भएको परिवर्तन अहिलेसम्म अधिरचनाकै तहमा सीमित छ । सामन्तवादी संस्कृतिका मुख्य अभिलक्षणहरू रहस्यवाद, भाग्यवाद, परलोकवाद, अवतारवाद, अभिजात्यवाद, जातिवाद, कर्मवाद, पितृसत्तावाद हुन् । यसै गरी अन्धविश्वास, रूढी, परम्परामोह, धार्मिक मतान्धता, अवैज्ञानिकता, चाकरी–चाप्लुसी, ठालुपन, शक्तिपूजा, सम्प्रदायवाद, सांस्कृतिक पुनरूत्थान, धर्मनरपेक्षता र धर्मनिरपेक्ष संस्कृतिको विरोध, सामाजिक विविधताको अस्वीकार, एक खास भाषा, संस्कृतिको वर्चश्वको आकाङ्क्षा, सत्ता र शक्तिमा निरन्तर रहिरहन चाहने प्रवृत्ति, समष्टि र बहुजन हितायको विरोध, दोहोरो मापदण्ड, पाखण्ड आदि पनि सामन्तवादी संस्कृतिका मुख्य अभिलक्षण्हरू भित्रै पर्छन् । नेपाली जनताको ठूलो हिस्सा अहिले पनि यिनै कुराहरूको बन्दी छ । सामन्तवादी संस्कृति धर्मसँग गहिरो गरी जोडिएको छ ।

जीवनका प्रतिमानहरू, व्यवहारका तरिकाहरू, भौतिक र अभोतिक प्रतीकहरू, परम्परा, विचार, सामाजिक मूल्य र मानवीय क्रियाकलापहरूमा धर्मको स्पष्ट र प्रगाढ छाँयालाई देख्न सकिन्छ । प्रथा, प्रचलन, चालचलन, विश्वास, मूल्य, संस्कार, धारणा, कर्मकाण्ड, अनुष्ठान, परिपाटी, चाडपर्व आदिमा धर्मको प्रभावलाई सहजै अनुभव गर्न सकिन्छ । धर्मसँग एकीकृत हुनु र त्यसबाट निर्देशित रहनु सामन्तवादी संस्कृतिको एक मुख्य विशेषता हो ।

पूँजीवादी वा साम्राज्यवादी संस्कृतिको वर्चश्व पनि दिनानुदिन बढ्दै छ । पश्चिमीकरण, समरूपीकरण, उपभोक्तवाद, व्यक्तिवाद, अभेदीकरण र प्रभेदीकरण, जातिवाद, वर्णवाद, क्षेत्रवाद, सांस्कृतिक सापेक्षतावाद, वर्णशङ्करीकरण, रहस्यवाद, प्रविधिको देवत्वकरण, प्राविधिक निर्धारणवाद, प्रत्यक्षवाद, देहवाद, सुखवाद, यान्त्रिकतावाद आदि यसका सांस्कृतिक अभिलक्षण्हरू हुन् । यो पनि अन्धविश्वास, धर्म, पुनर्जन्म, स्वर्ग–नर्क, पराशक्तिमाथि विश्वास आदि जस्ता कुराहरूसँग जोडिएको छ । पूँजीवादी संस्कृतिसँग आज त्यो प्रगतिशील चरित्र छैन जो पुनर्जागरण र ज्ञानोदयको अवधिमा थियो । पूँजीवादी संस्कृति भूमण्डलीकरण र नवउदारवादका आर्थिक, राजनीतिक अभिष्ट र हितहरू अनरूप निर्मित र निर्देशित छ । जीवनका समग्र मूल्यहरूलाई बजारको मातहत राखिएको छ । सुन्दर र कुरूपको निर्धारण बजारका प्रतिमानहरूले गर्छन् । देह, उपभोग र सुख केन्द्रमा छन् । मनुष्यले निर्बन्ध उपयोगमा आफूलाई स्वतन्त्र र गौरवान्वित अनुभव गर्छ । विश्वव्यापार सङ्घठन, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व वैङ्क, बहुराष्ट्रिय कम्पनी, वैश्विकीकृत सुपरमार्केट, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू यस्तो संस्कृतिको संवाहक रहेका छन् । हामी कहाँ केही वर्ष यता उपभोक्तावाद हलक्क बढेको छ, कामनाको दर्शन हुर्किएको छ, देहवाद र सुखवाद जीवनको सर्वोपरी मूल्यका रूपमा विकसित भएका छन् । नेपाली संस्कृतिको पश्चिमीकरण, वर्णशङ्करीकरण र समरूपीकरण गरिदै छ । सांस्कृतिक सापेक्षतावादलाई मलजल गरिएको छ । सांस्कृतिक द्वन्द्वको आगो फुक्ने प्रयाससमेत भएका छन् । भाषिक आक्रमण तीब्र छ । यस सन्दर्भमा भारतीय सांस्कृतिक अतिक्रमणलाई गम्भीर रूपमा लिन आवश्यक छ ।

नेपालमा प्रकृतिपूजक जातीय समुदायहरू पनि छन् । तिनका आफ्ना संस्कृतिहरू छन् । एकातिर तिनका संस्कृतिमा कयौँ रूढी, अन्धविश्वास र पराशक्तिमाथि विश्वास पाइन्छ भने अर्कातिर ती सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिवाट दंशित पनि हुँदै छन् । तिनका संस्कृतिमा विद्यमान कयौँ उज्याला र उदात्त पक्षहरूलाई समाप्त गरिँदै छ । जातीय संस्कृतिको संरक्षणका निम्ति जातीय संस्कृतिको पुनरुत्थानको जुन प्रवृत्ति आज देखिन्छ, यसले सांस्कृतिक आक्रमण र त्यसको परिणामलाई रोक्न सक्ने देखिन्न । सांस्कृतिक आक्रमणको प्रतिवादको यो कुनै बलियो वैज्ञानिक आधार पनि होइन । आदिवासी, जनजाति सांस्कृतिक मान्यता र मूल्यहरूमाथि भएको आक्रमणले सामन्तवादी, साम्राज्यवादी संस्कृतिको प्रतिवाद र प्रगतिशील सांस्कृतिक रूपान्तरणको महत्व तथा आवश्यकतालाई अझ बढी ओल्याउँछन् ।

सामन्तवादी संस्कृति र साम्राज्यवादी संस्कृतिका बीच आज खासै अन्तरविरोध देखिन्न । बरू यी दुवैका बीचमा गहिरो सम्बन्ध छ र वर्णशङ्कर संस्कृतिको निर्माण हुँदै छ । संस्कृतिको यो ‘हाइब्रिडाइजेशन’ नेपालमा विद्यमान भिन्न भिन्न संस्कृतिको मिश्रणबाट होइन, यहाँको सामन्तवादी संस्कृति र साम्राज्यवादी संस्कृतिको मिश्रणबाट हुँदै छ । यो साम्राज्यवादको कुनै पनि मुलुकको मौलिक संस्कृतिलाई नष्ट गर्ने र त्यसलाई आफू अनुकूलको संस्कृतिमा रूपान्तरित गर्ने रणनीतिकै एक अङ्ग हो । संस्कृतिको वर्णशङ्करीकरण मौलिक स्व र त्यसको सकारात्मक परिवर्तनको अन्त्य हो । उपभोक्तावाद, व्यक्तिवाद, समरूपीकरण आदि सबैले साम्राज्यवादी संस्कृतिलाई हाम्रो देशमा बलियो बनाउँदै छन् । यसमा सबैभन्दा प्रभावकारी भूमिका सञ्चार माध्यमहरूले निभाएका छन् । यी सबैका विरूद्ध सामन्तवादी संस्कृतिले प्रतिरोध गरेको पाइन्न । कहीँ कतै त्यसको सामन्य प्रतिरोध गरिएको छ नै भने पनि त्यसको वैचारिक आधार उपयुक्त देखिँदैन । सामन्तवादी, साम्राज्यवादी संस्कृतिबीचको सम्बन्ध मूलतः सांस्कृतिक रूपान्तरण र उदात्त संस्कृतिको विकासमा गतिरोध उत्पन्न गर्ने दृष्टिले भएको देखिन्छ । सांस्कृतिक वर्चश्वले आर्थिक, राजनीतिक वर्चश्वलाई बलियो बनाउँछ । साम्राज्यवादी उत्पीडनको एक महŒवपूर्ण पक्ष सांस्कृतिक उत्पीडन पनि हो ।

साम्राज्यवादी संस्कृतिको विस्तारले साम्राज्यवादका आर्थिक, राजनीतिक उद्देश्यहरूलाई संघाउँछ । यो पूँजीवादका दीर्घकालीन उद्देश्यहरूबाट निर्धारित र निर्देशित छ । यसलाई अर्कोढङ्गले पश्चिमीकरण पनि भन्न सकिन्छ । आजको विश्वमा पश्चिमीकरणको तात्पर्य अमेरिकीकरण हो । अमेरिकीकरणको तात्पर्य मौलिक स्वको अमेरिकी रूपान्तरण त हुँदै हो , साम्राज्यवादी सांस्कृतिक मूल्यहरूको आत्मसात पनि हो । यसरी आजको अवस्थामा सामन्तवादी र पूँजीवादी संस्कृतिलाई एक अर्काबाट अलग गरेर हेर्ने दृष्टिकोण त्रुटिपूर्ण देखिन्छ । दुवै जनविरोधी संस्कृति हुन् र दुवै विरूद्ध सङ्घर्ष आवश्यक छ ।

सांस्कृतिक रूपान्तरणका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनका उज्याला अँध्यारा दुवै पक्षहरू छन् । यसले सांस्कृतिक रूपान्तरणलाई महŒव दिएर सास्कृतिक आन्दोलनलाई सङगठित रूपमा धेरै पहिलेदेखि सञ्चालन गर्दै आएको छ । यसले सांस्कृतिक रूपान्तरणमा कमवेसी योगदान पनि दिएको छ । यो नेपालको कम्युनिष्ट आन्दोलनले सञ्चालन गरेको सांस्कृतिक आन्दोलनको सकारात्मक पक्ष हो । सांस्कृतिक आन्दोलनलाई सङ्गठित रूपमा सञ्चालन गर्दा केही हात लागे पनि सोचे जति उपलब्धि प्राप्त हुन सकेको देखिन्न । सांस्कृतिक आन्दोलन र रूपान्तरणका सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलनमा गम्भीर कमजोरीहरू छन् । यी कमजोरीहरू दृष्टिकोण, नीति र कार्यक्रमकै तहमा छन् ।

अर्को गम्भीर कमजोरी स्वयं कम्युनिष्ट आन्दोलनको सांस्कृतिक रूपान्तरणमा रहेको छ । सबैभन्दा ठूलो समस्या नेतृत्व तहमै देखिन्छ । सांस्कृतिक रूपमा फेरिन नसकेको नेतृत्वको अनुहारमा माक्र्सवादका साथसाथै सामन्तवाद र पूँजीवादको छाँया पनि छ । माक्र्सवाद, सामन्तवाद र पूँजीवादलाई सांस्कृतिक रूपमा एकसाथ बोकेर हिँड्न नेपालको कम्युनिष्ट आन्दोलन अभिशप्त जस्तो देखिन्छ । सामन्तवाद र पूँजीवाद जीवनपद्दति, संस्कार र जीवन मूल्यहरूमै विद्यमान छन् । तिनले आन्दोलनका सांस्कृतिक नीतिहरूलाई मात्र प्रभावित गरेका छैनन्, अन्य दृष्टिकोण र नीतिहरूलाई पनि प्रभावित गरेका छन् । ‘हाइव्रिडाइजेसन’ स्वयं माथिल्लो नेतृत्वको हुँदै छ । कम्युनिष्ट आदर्श, नैतिकता र उदात्त मूल्यहरू विजातीय जस्ता अनुभूत हुँदै छन् । माथि समस्या भए तल समस्या हुने नै भयो । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक अनुहारमा छ्यापिएको यो हिलो देखेर स्वयं यसका आलोचकहरू पनि आश्चर्य चकित छन् । कम्युनिष्टहरूको धर्म प्रेम, पुराण प्रेम, परम्परा प्रेम, चाडवाड प्रेम, जातगोत्र प्रेम, रिसोर्ट र मार्ट प्रेम, डिजाइन र फेसन प्रेम, सौन्दर्यप्रसाधन र आभूषण प्रेम, घुमघाम र मस्ती प्रेम देख्दा आश्चर्य लाग्नु पनि स्वभाविक छ । उपभोक्तावादको जादूगरी बरू यसका बाहकमा त्यति छैन जति कयौँ कम्युनिष्टहरूमा पाइन्छ । वर्ग सङ्घर्षको सशक्त यात्रा झापावाट सुरू भएको होस् वा रोल्पाबाट सांस्कृतिक अनुहार त्यति धेरै बद्लिएको छैन ।

सांस्कृतिक आन्दोलनको दिशाले प्रहारको निशानालाई बुझाउँछ । आन्दोलनको दिशा आन्दोलनको लक्ष्यवाट निर्धारित हुन्छ । आजको प्रगतिवादी सांस्कृतिक आन्दोलनको लक्ष्य सामन्तवादी, साम्राज्यवादी संस्कृतिका विरूद्ध सङ्घर्ष र एक नवीन संस्कृतिको निर्माण हो । नवीनको संस्कृति अर्थ सामन्तवाद, साम्राज्यवाद विरोधी जनपक्षीय संस्कृति हो । यस्तो संस्कृति प्रगतिशील, वैज्ञानिक, जीवनमुखी उदात्त मूल्यहरूले सरोवर हुन्छ । स्वतन्त्रता, समानता, सामाजिक न्याय, सामूहिकता, राष्ट्रियता, ऊध्र्वगामीता लगायत सबैप्रकारका उत्पीडन विरोधी भाव यसप्रकारको संस्कृतिमा पाइन्छ । धर्मनिरपेक्षता पनि यसभित्रै पर्छ । यही संस्कृतिको डोबबाट समाजवादी संस्कृतिको निर्माणतर्फको यात्रा आरम्भ हुन्छ । कम्युनिष्ट आन्दोलनको सांस्कृतिक गन्तव्य समाजवादी संस्कृति हो । यसका निम्ति कम्युनिष्ट आन्दोलनसँग सही दृष्टिकोण, नीति र कार्यक्रम त आवश्यक छ नै साथसाथै आफैबाट सांस्कृतिक क्रान्तिको आरम्भ गर्न पनि जरूरी छ । यो आफू फेरिएर अरूलाई फेर्ने प्रक्रिया हो । यो आग्रहभन्दा आचरणको विषय हो । आम मानिसले व्यवहारमा अनुभूत गर्न पाउनुपर्ने कुरा हो । आफू नफेरिएर अरूलाई फेर्ने कुरा गर्नु पाखण्ड हो ।

सामन्तवादी, साम्राज्यवादी संस्कृति विरूद्ध सङ्घर्ष गर्नु भनेको तिनका सबै किसिमका अभिलक्षणहरू र आर्थिक, राजनीतिक आधारहरूका विरूद्ध सङ्घर्ष गर्नु हो । ग्राम्सीको भाषामा संस्कृतिले ‘हेजेमोनी’को तहमा कार्य गर्ने भएकोले यससँगको सङ्घर्ष जटिल हुन्छ । आम मानिसलाई उसैलाई बन्धनमा बाँध्ने र उत्पीडन गर्ने संस्कृति आफ्नो सर्वश्व हो जस्तो लाग्छ र ऊ त्यसको बचाउका निम्ति हतियार उठाउनसम्म तयार हुन्छ । सांस्कृतिक सापेक्षतावाद र बहुसंस्कृतिवादले यसलाई अझ बढी हावा दिने गरेका छन् । आफूले अपनाएको संस्कृतिको नाममा जतिसुकै जीवन विरोधी भए पनि त्यसलाई पछ्याइरहने, सामान्य सुधारसम्म गर्न नचाहने प्रवृत्ति वद्दो छ । उदाहरणका निम्ति तथ्य र तर्क विराधी निकै विश्वासहरू हाम्रो समाजमा छन्, जसलाई अन्धविश्वास भनिन्छ । त्यस्ता विश्वासहरू पनि संस्कृतिकै भित्रै पर्छन् तर मानिसहरू त्यसलाई हटाउन तयार छैनन् । बरू यो हाम्रो विश्वास हो भनेर त्यसको बचाउ गर्नका लागिपर्छन् । सामन्तवादी, पूँजीवादी संस्कृतिका सचेत बाहकहरूले यसप्रकारको दृष्टिकोणको सचेतन रूपमा बचाउ गर्न भूमिका निर्वाह गर्छन् ।

सांस्कृतिक रूपान्तरणको प्रक्रिया जटिल हुने भएकाले यसमा धैर्यता त चाहिन्छ नै साथसाथै यसमाथि हस्तक्षेपको उपयुक्त नीति पनि चाहिन्छ । यही विन्दुमा आइपुग्दा यो कार्य अझ जटिल हुन्छ । प्रायः दाहिने र देव्रे अतिहरू यही विन्दुबाट घट्न सुरू गर्छन । खास सन्दर्भ र विषयदेखि बाहेक सांस्कृतिक रूपान्तरणमा शक्तिको प्रयोग अनुचित मात्र हुन्न प्रत्युत्पादक पनि हुन्छ । सांस्कृतिक रूपान्तरण शक्तिको प्रयोगबाट सम्भव छैन । यो एकातिर व्यक्तिलाई, समाजलाई शिक्षित गर्ने कुरा हो भने अर्कातिर यसका आधारहरूसँग सङ्घर्ष गर्ने कुरा पनि हो । उत्पादन पद्दतिको परिवर्तनले यसप्रकारको रूपान्तरणमा अनुकूलतालाई जन्म दिन्छ । खास गरेर राज्यका निकायहरूलाई यस दिशातर्फ प्रभावकारी ढङ्गले अघि बढाउन सकिन्छ । शैक्षिक संस्था र सञ्चार माध्यमहरू यसका प्रभावकारी आधारहरू हुन् । नेपाल धर्मनिरपेक्ष राष्ट्र बनेको छ । धर्म निरपेक्षताको अर्थ सबै धर्मप्रति समान दृष्टि र व्यबहार, त्यसबाट राज्यको निरपेक्षता त हो नै त्यो भन्दा बढीे वैज्ञानिक दृष्टिकोणको निर्माण हो ।

धर्मनिरपेक्षताको अन्तर्यलाई राज्यले ठीकढङ्गले स्रम्प्रेषण गर्ने हो भने त्यसले आम मानिसलाई आफ्ना यससम्बन्धी कयौँ गलत धारणा एवं विश्वासहरूलाई सच्याउन प्रेरित गर्छ । सांस्कृतिक रूपान्तरणमा शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ । राज्यका शैक्षिक निकायहरूले यसका लागि भूमिका सम्पादन गर्छन् । सांस्कृतिक रूपान्तरणका निम्ति यससँग सम्बन्धित राज्यका निकायहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दा सांस्कृति रूपान्तरणमा ठोस योगदान पुग्न जान्छ ।

सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिको विरोध र जनवादी संस्कृतिको निर्माणका निम्ति अल्पकालीन र दीर्घकालीन नीति तथा कार्यक्रमहरू तयार गरेर संङ्घर्ष गर्नु अहिलेको आवश्यकता हो । कम्युनिष्ट आन्दोलनले मात्र होइन स्वयं राज्यले पनि प्रगतिशील संस्कृतिको निर्माणका निम्ति अल्पकालीन र दीर्घकालीन नीति तथा कार्यक्रमहरू बनाएर अघि बढ्नुपर्छ ।

सांस्कृतिक आन्दोलनलाई बलियो र परिणाममुखी बनाउन सांस्कृतिक संयुक्तमोर्चाको निर्माण गर्नुका साथसाथै त्यसलाई बलियो बनाउन आवश्यक छ । संयुक्तमोर्चाको आधार सामन्तवाद एवं साम्राज्यवाद विरोधी दृष्टिकोण र व्यवहार हुनुपर्छ । संयुक्तमोर्चालाई समुचित महत्व नदिने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा पाइन्छ । नेपालको कम्युनिष्ट आनदोलनमा व्याप्त सङ्कीर्णता यसको एउटा कारक देखिन्छ । संयुक्तमोर्चा नै सबै कुरा हो र संयुक्तमोर्चा केही पनि होइन भन्ने दुवै दृष्टिकोणहरू गलत छन् । यी दुवै दृष्टिकोण नेपालको क्म्युनिष्ट आन्दोलनमा पाइन्छन् । प्रगतिशील लेखक सङ्घ जस्तो साझा संस्थालाई कम्युनिष्टहरूले बलियो एवं प्रभावकारी बनाउन सकेका छैनन् । ६० वर्ष लामो इतिहास भएको यस संस्थालाई नेपालको सांस्कृतिक रूपान्तरणका निम्ति प्रभावकारी बनाउन सकिन्थ्यो तर संयुक्तमोर्चाको महत्वलाई बुझ्ने कुरामा रहेको समस्याकै कारण यसको भूमिकालाई भने जस्तो बनाउन सकिएको छैन । सामन्तवादी एवं साम्राज्यवादी संस्कृतिले आज जसरी कार्य गर्दै छन् यसलाई दृष्टिगत गर्दा नेपालको जनवादी सांस्कृतिक आन्दोलनले संयुक्त मोर्चालाई महत्व दिन आवश्यक छ ।

नेपालको कम्युनिष्ट आन्दोलनले आफ्नो सांस्कृतिक रूपान्तरणका निम्ति पनि आवश्यक नीति तथा कार्यक्रमहरू बनाएर लागू गर्न आवश्यक छ । दुनियाँ फेर्ने सङ्घर्षकै क्रममा मनुष्य आफू पनि रूपान्तरित हुन्छ र अरूलाई पनि रूपान्तरित गर्छ भन्ने भनाइ मात्र पर्याप्त छैन । सैद्धान्तिक रूपमा यो भनाइ ठीक भए पनि यसले रूपान्तरणको आवश्यक नीति, कार्यक्रम र त्यसको कार्यान्वयनको माग गर्छ । ६० वर्ष भन्दा लामो कम्युनिष्ट आन्दोलनको इतिहासमा आन्दोलनको सांस्कृतिक रूपान्तरणको प्रश्न झण्डै झण्डै जहाँको तहीँ छ । सांस्कृतिक आचरण र मूल्यका दृष्टिले कम्युनिष्ट आन्दोलन कम्युनिष्ट आन्दोलन जस्तो अनुभूत हुन्न । यो एक विडम्बनात्मक परिदृश्य हो र यसले कम्युनिष्ट आन्दोलनको सफलतामा व्यवधान उत्पन्न गर्छ । कम्युनिष्ट भनेपछि नयाँ मनुष्य हुनुपर्ने हो तर पुरानै मनुष्य अनुभव हुन्छ । कम्युनिष्ट आन्दोलनले प्राथमिकताका साथ आफैबाट रूपान्तरणको स्वाभाविक प्रक्रियालाई अघि बढाउनुपर्छ ।

निष्कर्ष

माथिको चर्चाले जनवादी सांस्कृतिक आन्दोलनको महत्वलाई मात्र स्पष्ट गर्दिन सुस्पष्ट नीति, कार्यक्रम र कार्यान्वयनको आवश्यकतालाई पनि औँल्याउँछ । सांस्कृतिक रूपान्तरण कम्युनिष्ट आन्दोलनको एक महत्वपूर्ण पक्ष हो । सिङ्गो राष्ट्र एवं कम्युनिष्ट आनदोलनमाथि सांस्कृतिक आक्रमण तीब्र भएको बेला यसको अझ बढी सशक्त प्रतिरोधको आवश्यकता छ । सांस्कृतिक आन्दोलनलाई बलियो र प्रभावकारी बनाउनु राजनीतिक आन्दोलनलाई पनि बलियो र प्रभावकारी बनाउनु हो । राजनीतिक आन्दोलनको सफलता र स्थायित्व सांस्कृतिक आन्दोलनको सफलतामा पनि भर पर्छ । सांस्कृतिक आन्दोलनको गूढार्थ मनुष्यलाई भित्रबाटै रूपान्तरित गर्नु हो । फेरिएको मानिसले राजनीतिक परिवर्तनलाई थेग्न सक्छ, त्यसको मर्मलाई आत्मसात् गर्न सक्छ । यसैकारण सांस्कृतिक क्रान्तिको निरन्तरतामा जोड दिइएको हो । सांस्कृतिक परिवर्तन परिवर्तनको प्रक्रियाबाट अघि बढ्दै गरेको नेपालको एउटा महत्वपूर्ण पक्ष हो । जनवादी सांस्कृतिक आन्दोलनले आफूलाई यससँग जोडेर अघि बढाउनुपर्छ । जनवादी सांस्कृतिक आन्दोलनको लक्ष्य मुलुकको सांस्कृतिक रूपान्तरणका साथसाथै कम्युनिष्ट आन्दोलनको रूपान्तरण पनि हुनुपर्छ ।

0 comments

Post a Comment
Powered by Blogger | Templates Modified by Smriti Templates