विप्लवले एक्लै जान चाहेर क्रान्ति हुँदैन, सबै माओवादी मिल्नुको विकल्प छैन - रामदीप आचार्य
तपाईं लामो समय नेत्रविक्रम चन्द ‘विप्लव’
को
नजिक बसेर काम गर्नुभयो, अन्तिम अवस्थामा आएर किन साथ छाड्नुभयो ?
म कुनै व्यक्तिको नजिक या टाढा भन्दा
माक्र्सवादी सिद्दान्तको नजिक रहेर पार्टीको काम गर्दै आएको छु । विचारमा आधारित
राजनीति गर्दा व्यक्तिको स्वभाव, चरित्र र संगठनात्मक आवश्यकताले पनि
नजिक र टाढा बनाउने गर्छ ।
नेपालको कम्युनिष्ट आन्दोलन (मुख्य गरी माओवादी
आन्दोलन) को विकास प्रक्रियामा ०५७ सालदेखि विप्लवको नेतृत्वको कमिटीमा रहेर काम
गरेका कारण भावनात्मक सम्बन्ध उहाँसँग राम्रो भएको सही हो । पछिल्लोपटक माओवादी
आन्दोलनमा जुन संकट देखा परेको छ, यसको मुख्य कारण विचलन र विभाजन हो
भन्ने मेरो ठम्याई हो । रुपान्तरण र एकताले मात्रै माओवादी आन्दोलनलाई पुनर्जीवन
दिन सक्छ भन्नेमा म अहिले पनि दृढ छु ।
फेरि अर्को विभाजनले होइन, यही
मुल मुद्दामा कमरेड विप्लवको सोच्ने तरिकासँग मेरो सहमति रहेन । मैले बारम्बार
उहाँलाई यो कुरा प्रष्ट रुपमा भनेको थिएँ । तर उहाँले मेरो कुरालाई कहिल्यै पनि
गम्भीरतापूर्वक लिनुभएन ।
पार्टी विभाजनअघि कपिलवस्तुमा भएको भेलामा
तपाईं नगएपछि उहाँले ‘धोकेबाज’ को आरोप लगाउनु
भएछ नि ?
म भेलामा नगएको कुरा साँचो हो । जबसम्म
राजनीतिक स्प्रिट मिल्छ तबसम्म संगत गर्ने हो । स्प्रिट नै नमिले आफूलाई सही
लागेको निर्णय गर्न हरेक कम्युनिष्ट सदस्य स्वतन्त्र रहन्छ । यसमा धोका र विश्वास
भन्ने कुरा नै आउँदैन । म कसैको गोठालो या चाकर होइन । तसर्थ धोकेबाजको आरोपको
कुनै तुक छैन ।
तर पहिला त तपाईंसहितका नेताहरुले मोहन वैद्यको
पाराले क्रान्ति हुँदैन भनेर विप्लवलाई उचालेको होइन र ?
क्रान्ति र कम्युनिष्ट आन्दोलनमा कसैले कसैलाई
उचाल्ने र पछार्ने भन्ने हुँदैन । सर्वाहारा/श्रमजिवी वर्गीय
राजनीति गर्ने हो । समग्र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र गतिशील बनाउन विप्लवको
भूमिका सकारात्मक रहोस् भनेर सहयोग गरेकै हो । जब त्यो भूमिकाको परिणाम सकारात्मक
आएन, हामी अलग भयौं ।
तपाईंमाथि क्षमता भएर पनि कहिल्यै एकै ठाउँमा
स्थिर भएर बस्न नसक्ने भन्ने आरोप छ, के भन्नुहुन्छ ?
यो आरोपमा कुनै सत्यता छैन । म स्कुलमा
पढ्दैदेखि लगातार माओवादी आन्दोलनमा छु । जनयुद्धको उत्कर्ष, शान्ति
सम्झौता र माओवादी आन्दोलनमा देखा परेका समस्याले सबै माओवादी नेता
कार्यकर्ताहरुको मथिंगलमा भूकम्प ल्याइदिएको छ । त्यसमध्येको एउटा पात्र म पनि हो
। सिंगै आन्दोलनमा आएको समस्यालाई व्यक्तिमा केन्द्रित गरेर विश्लेषण गर्नु सही
हुँदैन । म अविच्छिन्न रुपमा माओवादी आन्दोलनमा छु र यही आन्दोलनमा रहिरहनेछु ।
तपाईंको भनाइको सीधा अर्थ विप्लवले क्रान्तिको
नेतृत्व गर्न सक्दैनन् वा गर्न चाहेका छैनन्, हो ?
व्यक्तिगत रुपमा विप्लवप्रति मेरो टिप्पणी केही
छैन । क्रान्तिको अगुवाई कम्युनिष्ट पार्टीले गर्ने हो । कम्युनिष्ट पार्टी
नेताहरुको पार्टी भएकाले त्यसका सदस्यहरु भित्रैबाट मुख्य नेतृत्व छनौट गर्ने हो ।
यहाँ सवाल विप्लव एक्लैले नेतृत्व गर्ने या नगर्ने भन्ने होइन । मुख्य कुरा आफ्नो
वर्गलाई एकताबद्ध गर्ने, विभाजित र निराश भएको जनशक्तिलाई
केन्द्रित गर्ने र सामूहिक रुपमा नेतृत्व गर्ने हो । त्यसपछि मात्रै कसले गर्ने र
कसरी गर्ने भन्ने सवाल आउँछ ।
तर मानिसहरु त माओवादी भनेकै एउटा प्रचण्ड
नेतृत्वको पार्टी र अर्को धारको विप्लवको पार्टी भन्न थालेका छन् ?
सही अर्थमा माओवादीमा अहिले कुनै पनि धार छैन ।
प्रचण्ड, किरण वा विप्लव सबैले लेनिन र माओले नेतृत्व गर्नुभएको मोडेलहरुको
नेपालमा हुबहु नक्कल गरेर क्रान्ति सम्पन्न गर्न सकिंदैन भन्ने निष्कर्षमा
पुग्नुभएको छ । वैचारिक हिसाबले एमाओवादीले समाजवादी क्रान्तिको आधार तयार गर्दै
जनवादी क्रान्तिको बाँकी कार्यभार पुरा गर्ने भनेको छ । नेकपा–माओवादीले
जनयुद्धको जगमा जनविद्रोहको कुरा गरेको छ । विप्लवको नेकपा माओवादीले एकीकृत
क्रान्तिको सिद्दान्त भनेर अगाडि सारेको छ ।
आजको आवश्यकता सबैथरि माओवादीहरुले नेपाली
मौलिकताको कार्यदिशाको विकास गर्ने र एकीकृत ढंगले क्रान्ति सम्पन्न गर्ने
हुनुपर्दछ ।
तर, पार्टी विभाजनको दुई वर्षसम्म मोहन
वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीले
क्रान्तिको नाममा सिन्को भाँचेन, त्यसैले हामीले नयाँ कदम चालेका हौं,
भन्ने
विप्लवको भनाइ त सही हो नि होइन र ?
माओवादी जनयुद्धको सही धाराको विचार र
राजनीतिको रक्षा गर्ने काम मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादीले गरेको
मुख्य उपलब्धी हो । हामीले गर्नुपर्ने थुप्रै कामहरु बाँकी छन् । यसको अपजसको भारी
कसैलाई थोपरेर कोही उम्किन पाउँदैन । वर्ग संघर्षमा सबैले आफ्ना जिम्मेवारी पुरा
गर्नुपर्छ । विप्लवले पनि दुई वर्षमै आकाशरधर्ती हल्लाइहाल्ने त होइनन् होला ?
जनताको शक्ति एकताबद्ध भएर मात्रै क्रान्ति जितिन्छ । म दावाका साथ भन्न सक्छु
विप्लव वा अरु कसैले एक्लै लडेर क्रान्ति सम्पन्न गर्न सक्दैन । यो वीरले लड्ने
लडाईं होइन, जनताले लड्ने लडाईं हो ।
विप्लवको साथ छाडेपछि तपार्ईंको सांगठनिक
संलग्नता कुन माओवादीमा छ ?
यो त भन्नै परेन । म नेकपा–माओवादीको
केन्द्रीय सदस्य र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय
संयोजक छु । मेरो जिम्मेवारी यथावत छ ।
कहिले यता, कहिले उता लागेका
कारण पार्टी नेतृत्वले तपाईंमाथि विश्वास गर्ने छोडेको भनिन्छ, खास
के हो ?
नेतृत्वले अविश्वास गरेको भन्ने हावादारी
प्रचारमा कुनै सत्यता छैन । नेतालाई आधार मानेर राजनीति गर्ने संस्कार सामन्तवादी
संस्कार हो । कम्युनिष्ट संस्कारमा नेतालाई हेरेर धारणा बनाइँदैन । म हिजो पनि,
आज
पनि र भोलि पनि विचारलाई केन्द्रमा राखेर राजनीति गर्छु । म कसैको नजिक या टाढा
छैन । काम गर्ने दौरानमा भावनात्मक सम्बन्ध र स्प्रिटले कसैसँग नजिक या टाढाजस्तो
देखिए पनि त्यो रुप पक्ष मात्रै हो । हाम्रो विश्वासको आधार क्रान्तिप्रतिको निष्ठा
र क्रियाशिलता हो । नेतृत्वको ताबेदारी या विरोध होइन ।
तपाईं माओवादीधाराका पार्टीहरुबीच एकता
हुनुपर्छ भनेर लाग्नुभएको छ भन्ने सुनिन्छ, नेकपा–माओवादी
र एमाओवादीबीचको एकता प्रक्रिया कहाँ पुगेको छ ?
आजको एकता विचारका आधारमा हुनुपर्छ ।
माक्र्सवाद–लेनिनवाद–माओवाद मुख्य
गरी माअोवाद वा विचारलाई मार्गनिर्देशक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरुको
बीचमा एकता आजको जरुरी आवश्यकता हो । यो आवश्यकतालाई पुरा गर्न तीनवटा संश्लेषण
गर्नुपर्ने हुन्छ । पहिलो माओवादी आन्दोलनमा गम्भीर प्रकारका समस्याहरु देखा परेका
छन् । ति समस्याहरु वैचारिक, राजनीतिक, सांगठनिक र
सांस्कृतिक रुपमा अभिव्यक्त भएका छन् । दोश्रो जतिसुकै ठूल्ठूला समस्याहरु भएता
पनि आधारभूत रुपमा सबै माओवादीधाराहरु (एमाओवादी, नेकपा–माओवादी,
विप्लव,
मातृका
र मणि थापाले नेतृत्व गरेका माओवादी) क्रान्तिकारी धाराकै हुन् ।
एकता, संघर्ष र रुपान्तरणको विधि अख्तियार
गरेर सँगै रहेर मात्रै क्रान्तिलाई अगाडि बढाउन सकिन्छ ।
तेश्रो विचारधारात्मक हिसाबले नयाँ संश्लेषण
आजको जरुरी आवश्यकता बन्न गएको छ । माओवादी आन्दोलनको पुनर्गठनको प्स्थानबिन्दु
यही हो । ढिलो या छिटो सबै यसमा समाहित हुनैपर्छ । यो अभियान तीव्रतापूर्वक अगाडि
बढिरहेको छ । र, छिट्टै यसले नयाँ निष्कर्ष दिनेछ ।
प्रचण्डकै नेतृत्वमा माओवादी आन्दोलन पुनर्गठन
हुन्छ वा अरु कसैको ?
पहिलो आजको आवश्यकतालाई सम्बोधन गर्नुपर्छ ।
दोश्रो विचार र राजनीतिलाई शीर्ष स्थानमा राख्नुपर्छ । त्यसपछि मात्र नेतृत्वको
सवाल आउँछ । नेतृत्वको प्रश्नमा मात्रै बहस गर्ने हो भने समस्या जटिल बन्छ,
र
समाधान पनि हुँदैन ।
प्रचण्डले बाबुराम भट्टराईलाई एक वर्षपछि हुने
महाधिवेशनबाट नेतृत्व सुम्पने सहमति भइसकेको भनिन्छ, यस्तो अवस्थामा
मोहन वैद्य र रामबहादुर थापाले बाबुरामलाई स्वीकार गर्ने अवस्था छ ?
कम्युनिष्ट पार्टीमा
नेतृत्वको सवाल रणनीतिक महत्वको सवाल हो । कसैले दिने र कसैले लिने सवाल हुँदै
होइन । कार्ल माक्र्सले भनेजस्तै ‘आवश्यकता र आकस्मिकताको मेल’ नै कम्युनिष्ट पार्टीको नेतृत्व हो । आजको आवश्यकता
माओवादी आन्दोलनको पुनर्गठन हो । यो आवश्यकताको सम्बोधन गर्न संगठनात्मक विधि र
नेतृत्वको प्रश्नमा खुला छलफल गर्नुपर्छ । पहिल्यै ढोका
बन्द गरेर बहस गर्ने हो भने सही निष्कर्षमा पुग्न सकिँदैन ।
0 comments